नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको दाबी गरिरहँदा उपभोक्ताले भने दुई सातादेखि ग्यास नपाएको गुनासो गरिरहेका छन् । विशेषगरी उपत्यकामा बजार हिस्सेदारी धेरै रहेको नेपाल ग्यासको चरम अभाव देखिँदा सर्वसाधारण उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।
दुई सातादेखि बजारमा नेपाल ग्यास नपाइएपछि उपभोक्ताले खाली सिलिण्डर बोकेर बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासको कार्यालय धाईरहेका बेला आयल निगमले भने बजारमा ग्याँस अभाव नभएको स्पष्टोक्ति दिएको छ । बिहानदेखि दिउँसो २ बजेसम्म मात्र ग्यास वितरण हुने नेपाल ग्यासको कार्यालयमा ग्यासको आशामा लामो लाइन लागे पनि अधिकांश उपभोक्ता निराश भएर फर्किन बाध्य छन्।
“खाली सिलिण्डर बोकेर तीन दिनदेखि लाइन बसिरहेकी छु, तर ग्यास हात परेको छैन,” बालाजुकि उपभोक्ता सुनिता तामाङ भन्छिन्, “सानो बच्चा छ, बिहान–बेलुकी पकाउनै पर्छ। हाम्रो घरको अवस्था झन् असामान्य बनेको छ।”
कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको कलंकिबाट खाली सिलिण्डर बोकेर गएकी रेनुका सापकोटाले बताईन। उनले ग्यास बजारमा चरम अभाव हुँदा घरमा परिवारको बिचल्लि हुने अवस्था आएको बताईन । घरमा एउटै सिलिण्डर भएकाले सकिसकेकाले घरमा बिचल्लि अवस्था आएको सापकोटाले बताईन ।
एउटै सिलिण्डरमा निर्भर परिवारको ग्यास सकिएपछि दैनिकी नै प्रभावित भएको छ । उपभोक्ताले बजारमा ग्यास नपाएको भन्दै आक्रोश पोखिरहँदा नेपाल आयल निगम भने ग्यासको अभाव नरहेको स्पष्टोक्ति दिइरहेको छ ।
निगमले प्रेस विज्ञप्ति जारी गर्दै इण्डियन आयलबाट सन् २०२६ जनवरी महिनामा ४७ हजार ३०४ मेट्रिक टन एलपी ग्यास आयात भएको दाबी गरेको छ । सो मात्राको ग्यास जाडोयामको माग धान्न पर्याप्त भएको निगमको भनाइ छ । तर कागजमा पर्याप्त देखिएको ग्यास बजारमा नदेखिँदा निगमको दाबीप्रित प्रश्न उठेको छ । निगमले ‘अभाव छैन’ भनिरहँदा उपभोक्ता भने कार्यालय धाएर पनि खाली सिलिण्डर बोकेर बस्न बाध्य छन् ।
नेपाल आयाल निगमले नेपाल ग्याससहित केही अन्य ग्यासको बजारमा चरम अभावबारे जानकार रहेको बताएको छ। निगमका प्रवक्ता मनोज ठाकुरले छिटो अभाव हटाउन उद्योगीलाई कडा निर्देशन दिइएको बताए।
यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले भने ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ। नेपाल ग्यास कार्यकारी सञ्चालक तथा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष समेत रहेका गोकुल भण्डारीले नेपाल ग्यासको माग दैनिक ८–१० बुलेट रहने गरेको बताए। उनकाअनुसार त्यो मात्रमा ढुवानीमा केही समस्या रहदा समस्या भएको हो। अहिले समस्या हल भएपनि बजारको चक्र केही गढबढ भएकाले त्यसले पुरानै अवस्थामा आउन केही दिन लाग्ने बताए।
सञ्चालक भण्डारीले नेपाल ग्यास दैनिक ८ हजार सिलिण्डर खपत हुने गरेको बताए। जाडो महिनामा यो संख्या अझ बढ्छ। पछिल्लो दिनमा जति डिमाण्ड हो त्यो भन्दा बढि नै ग्यास बजारमा उनको दाबी छ। बजारमा जुन अभाव देखिएको छ, यो कभर हुँदैछ। अहिले आत्तिनुपर्ने स्थीति छैन। ग्यास रेगुलर आउन थालिसकेको छ। अहिले आवश्यकता भन्दा बढी ग्यास भरेर राखिएका कारणले पनि अभाव देखिएको उनको दाबी छ।
नेपाल ग्यास कम्पनीले भने ढुवानीमा समस्या देखिएकाले अभाव भएको स्वीकार गरेको छ । निगमका अनुसार सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो। साथै फेब्रुअरी महिनाका लागि थप दुई हजार मेट्रिक टन ग्यास आयात गर्ने निर्णय पनि गरिएको छ।
तर यति धेरै आयातको तथ्य प्रस्तुत भइरहँदा पनि बजारमा दुई सातादेखि ग्यास नपाउनु, उपभोक्ता सडक र कार्यालय धाउन बाध्य हुनु र दैनिकी प्रभावित हुनु स्वयंमा आपूर्ति प्रणाली, अनुगमन र नियमनप्रित प्रश्न उठेको छ । अभाव छैन भन्ने दाबी र बजारको यथार्थले आयल निगम र ग्यास उद्योग दुवैको जिम्मेवारीमाथि प्रशन चिन्ह उठाएको छ ।


