Banijya News

‘बजारमा ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगरौं’ : आयल निगम

1
1.2K Shares

नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर सञ्चय (स्टक) नगर्न आग्रह गरेको छ । पछिल्लो समय बजारमा ग्यास अभाव हुन सक्ने हल्ला फैलिएपछि उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सिलिन्डर भर्न थालेकाले कृत्रिम समस्या देखिन सक्ने भन्दै निगमले सचेत गराएको हो । निगमका प्रवन्ध निर्देशक चण्डिका भट्टले भारतबाट मागभन्दा धेरै ग्यास आयात भइरहेको बताए । आगामी चुनावको अवधिभर पनि ग्यासको आपूर्ति निरन्तर हुने व्यवस्था कायम रहेको उनले जानकारी दिए ।

भट्टका अनुसार पछिल्लो तीन दिनमा आयल निगममार्फत आयात गरिएको एलपीजी ग्यासको लोडिङ शनिबार ११८ वुलेट (१४९,५०० सिलिण्डर), सोमवार ११५ वुलेट (१४५,७०० सिलिण्डर) र मंगलवार १३२ वुलेट (१६७,३०० सिलिण्डर) रहेको छ। यीमध्ये केही वुलेटहरू अझै बाटोमा रहेको र चाँडै नेपाल प्रवेश गर्ने उनले बताए ।

आगामी निर्वाचनको समयमा ढुवानीमा समस्या आउन सक्ने आशङ्कालाई चिर्दै प्रवन्ध निर्देशक भट्टले भने, “चुनावको अवधिभर पनि ग्यासको आपूर्ति प्रणालीलाई निरन्तर र सहज बनाउन आवश्यक सम्पूर्ण व्यवस्था मिलाइसकिएको छ ।“ उनले आपूर्ति शृङ्खलामा कुनै अवरोध नहुने भएकाले ढुक्क हुन सर्वसाधारणलाई आग्रह गरे ।

बजारमा ’ग्यास अभाव हुँदैछ’ भन्ने गलत हल्लाका कारण उपभोक्ताले एकैपटक धेरै सिलिन्डर जोहो गर्दा वास्तविक आवश्यकता भएका प्रयोगकर्ता मर्कामा पर्नसक्ने निगमको बुझाइ छ । हाल नेपाल भित्रिरहेको ग्यासको परिमाण हेर्दा बजारको नियमित मागलाई सहजै धान्न सक्ने अवस्था छ । त्यसैले, उपभोक्ताले प्यानिक बािइङ (आतङ्कित भएर सामान किन्ने प्रक्रिया) नगरेमा बजारमा कुनै समस्या नदेखिने निगमको दाबी छ ।

पछिल्लो तीन दिनको आपूर्ति व्यवस्था :

मितिलोड भएका बुलेट सङ्ख्यासिलिन्डर क्षमता (अनुमानित)
शनिबार११८ बुलेट१,४९,५०० सिलिन्डर
सोमबार११५ बुलेट१,४५,७०० सिलिन्डर
मंगलबार१३२ बुलेट१,६७,३०० सिलिन्डर
1

Scroll to Top