लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा–१७ दोबिल्ला, कास्कीमा सञ्चालित सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग दुई लाख ५० हजार हस्तान्तरण गरेको छ । बैंक सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, पोखरास्थित शाखाका प्रबन्धकहरू, सहारा क्लबका निवर्तमान अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङलगायत सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले सहारा फुटबल एकेडेमीमा आश्रित बालबालिकालाई निरन्तर सहयोग गर्न पाउँदा बैंकलाई खुशी लागेको बताए। उनले विपन्न तथा कठिन परिस्थितिमा रहेका बालबालिकाको शिक्षा र खेलकुद विकासमा सहारा क्लबले गर्दै आएको कार्य प्रशंसनीय रहेको उल्लेख गरे।
लुम्बिनी विकास बैंकबाट प्राप्त आर्थिक सहयोगका लागि सहारा क्लब पोखराका अध्यक्ष थापाले आभार व्यक्त गर्दै उक्त रकम एकेडेमीमा आश्रित बालबालिकाको खानपान र व्यवस्थापनमा खर्च गरिने जानकारी दिए। हाल एकेडेमीमा १५ जिल्लाका कठिन तथा विपन्न परिस्थितिका बालबालिका आश्रित छन्। सहारा क्लब पोखराले उनीहरूको लालन–पालन, शिक्षासँगै फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ। क्लबले सन् २००१ देखि फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ।
देशका सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गर्दै कारोबार गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडका विभिन्न स्थानमा ४४ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा सञ्चालनमा छन्। ‘निरन्तर सहयात्रा’ नाराका साथ बैंकले आधुनिक प्रविधियुक्त सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै, ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बचत तथा निक्षेप खातामा आकर्षक ब्याजदर उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ।


