Banijya News

बैंकहरूको औसत आधार दरमा २०.६३ प्रतिशतको गिरावट

1
1.2K Shares

पछिल्लो एक वर्षको अवधिमा बैंकिङ प्रणालीमा कर्जाको ब्याजदर उल्लेखनीय रूपमा घटेको छ । बैंकहरूको औसत आधार दर २०.६३ प्रतिशत घटेपछि कर्जाको ब्याजदर पनि सोही अनुपातमा कम भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनामा बैंकहरूको औसत आधार दर ५.३३ प्रतिशत बिन्दुमा झरेको छ । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूको औसत आधार दर ६.७१ प्रतिशत बिन्दुमा रहेको थियो । निक्षेपतर्फको ब्याजदर निरन्तर घट्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव आधार दरमा परेका देखिन्छ ।

समीक्षा अवधिमा सबैभन्दा धेरै आधार दर घटाउने बैंकको रूपमा ग्लोबल आइएमई बैंक देखिएको छ । बैंकको आधार दर २५.७५ प्रतिशत घटेर ५.१६ प्रतिशत बिन्दुमा कायम भएको छ । अघिल्लो वर्ष पुस मसान्तसम्म बैंकको आधार दर ६.९५ प्रतिशत बिन्दुमा थियो । आधार दर घटेसँगै बैंकको कर्जाको ब्याजदर पनि स्वतः कम भएको छ ।

यसैगरी, पुस मसान्तसम्म सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । बैंकको आधार दर १९.८५ प्रतिशत घटेर ४.३६ प्रतिशत बिन्दुमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५.४४ प्रतिशत बिन्दुमा थियो । आधार दर कम भएकाले यस बैंकको कर्जाको ब्याजदर पनि तुलनात्मक रूपमा सस्तो रहेको छ ।

अन्य बैंकहरूको आधार दरमा पनि उल्लेखनीय गिरावट देखिएको छ । प्रभु बैंकको आधार दर २४.०७ प्रतिशत घटेर ५.३६ प्रतिशत, कृषि विकास बैंकको २३.९३ प्रतिशत घटेर ५.०२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २३.७० प्रतिशत घटेर ५.४७ प्रतिशत, माछापुच्छ्रे बैंकको २३.२४ प्रतिशत घटेर ५.४८ प्रतिशत र सिटिजन्स बैंकको २३.०१ प्रतिशत घटेर ५.६२ प्रतिशत बिन्दुमा कायम रहेको छ । यस्तै, सानिमा बैंकको आधार दर २२.६८ प्रतिशत घटेर ५.२५ प्रतिशत, हिमालयन बैंकको २२.४६ प्रतिशत घटेर ५.६६ प्रतिशत, कुमारी बैंकको २१.५६ प्रतिशत घटेर ५.६० प्रतिशत, एनएमबि बैंकको २०.८० प्रतिशत घटेर ५.४८ प्रतिशत, नेपाल एसबीआई बैंकको २०.४४ प्रतिशत घटेर ५.६८ प्रतिशत र नबिल बैंकको २०.१२ प्रतिशत घटेर ५.०४ प्रतिशत बिन्दुमा रहेको छ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को आधार दर १९.७५ प्रतिशत घटेर ५.१६ प्रतिशत, प्राइम बैंकको १९.६६ प्रतिशत घटेर ५.७२ प्रतिशत, नेपाल बैंकको १९.४८ प्रतिशत घटेर ४.९६ प्रतिशत, सिद्धार्थ बैंकको १९.१९ प्रतिशत घटेर ५.६० प्रतिशत र एभरेष्ट बैंकको १६.४३ प्रतिशत घटेर ४.७३ प्रतिशत बिन्दुमा झरेको छ । एनआईसी एशिया बैंकको आधार दर १४.७६ प्रतिशत घटेर ६.४१ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७.२१ प्रतिशत घटेर ४.७६ प्रतिशत बिन्दुमा कायम रहेको छ ।

बैंकहरूको आधार दर घट्दै जाँदा कर्जाको ब्याजदर पनि थप सस्तो बनेको भए पनि कर्जाको माग भने अपेक्षाअनुसार बढ्न नसकेको बैंकरहरु बताउँछन् । बैंकरहरूका अनुसार बजारमा लगानीयोग्य परियोजना, उपभोग माग र निजी क्षेत्रको आत्मविश्वास कमजोर रहँदा सस्तो ब्याजको पूर्ण लाभ अर्थतन्त्रले लिन सकिरहेका छैनन् ।

आधार दरले कसरी पार्छ उपभोक्ताको गोजीमा असर ?

बैंकिङ क्षेत्रमा ‘आधार दर’ (Base Rate) लाई कर्जाको ब्याजदर निर्धारण गर्ने मुख्य आधार मानिन्छ। सरल भाषामा भन्नुपर्दा, बैंकहरूले आफ्ना ग्राहकलाई कर्जा प्रवाह गर्दा लिन पाउने न्यूनतम ब्याजदर नै आधार दर हो। बैंक सञ्चालन गर्दा लाग्ने खर्च, निक्षेपकर्तालाई दिनुपर्ने ब्याज र वैधानिक तरलता अनुपातको लागतलाई जोडेर राष्ट्र बैंकको निर्देशन अनुसार यसको गणना गरिन्छ। बैंकहरूले आफ्नो आधार दरमा निश्चित प्रतिशत ‘प्रिमियम’ थप गरेर मात्र ग्राहकलाई दिने कर्जाको अन्तिम ब्याजदर तय गर्छन्।

आधार दरमा आउने उतारचढावले सिधै आम उपभोक्ता र व्यवसायीको आर्थिक भारमा असर पार्दछ। जब बैंकहरूको आधार दर घट्छ, यसले बैंकबाट ऋण लिएका पुराना ऋणीहरूको ब्याजदर स्वतः कम गराउँछ भने नयाँ ऋण लिनेहरूका लागि पनि सस्तो ब्याजदरको ढोका खोल्छ। यसले उत्पादन लागत घटाउन र बजारमा आर्थिक गतिविधि चलायमान बनाउन मद्दत पुर्‍याउँछ। तर, आधार दर घट्दा निक्षेपकर्ताले पाउने प्रतिफल (बचतको ब्याज) मा पनि कमी आउने भएकाले बचतकर्ताको आम्दानीमा भने केही संकुचन आउन सक्छ।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) थुप्रिँदै जाँदा निक्षेपको ब्याजदर घटेको छ, जसको प्रत्यक्ष सकारात्मक प्रभाव आधार दरमा देखिएको छ। आधार दर ऐतिहासिक रूपमा न्यून विन्दुमा झर्नु भनेको सस्तो ब्याजमा घर, गाडी वा व्यवसायका लागि ऋण लिने उपयुक्त अवसर हो। यद्यपि, ब्याजदर घटे पनि बजारमा उपभोग्य माग र लगानीकर्ताको आत्मविश्वास बढ्न नसक्दा सस्तो कर्जाको लाभ अर्थतन्त्रले सोचेअनुरूप लिन नसकेको बैंकरहरूको विश्लेषण छ।

1

Scroll to Top