उद्योगमैत्री नीति, स्थिर कर प्रणाली र सहज प्रशासनिक संरचनाको अभावमा नेपाली औषधी उद्योग संकटतर्फ धकेलिँदै गएको छ । उत्पादन लागत उच्च, बहु–कर संरचना लगायत कारणले नेपाली औषधी उद्योग संकटमा परेका हुन् । जटिल लाइसेन्स प्रक्रिया, ढिलो प्रशासनिक निर्णय र निर्यातमैत्री वातावरण नहुनुले स्वदेशी औषधी उद्योगले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न समेत नसकेको अवस्था छ ।
नेपालमा औषधी उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण हुन नसक्दा उद्योगहरू टिकाइराख्नै कठिन बन्दै गएको अवस्था छ । देशभित्र उत्पादन हुने औषधीको खपत मुख्यतः आन्तरिक बजारमै सीमित छ भने निर्यातको हिस्सा नगण्य रहेको छ । औषधी उद्योगहरूका अनुसार नेपालमा उत्पादन लागत भारतको तुलनामा करिब ४० प्रतिशत र चीनको तुलनामा अझ बढी महँगो पर्छ, जसका कारण नेपाली औषधी अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिस्पर्धामा कमजोर देखिन्छ ।
उच्च कर र लागतले लगानी निरुत्साहित
औषधी उद्योग सञ्चालन गर्दा लाग्ने कर तथा शुल्क संरचना नै लगानीकर्ताका लागि सबैभन्दा ठुलो चुनौती बनेको छ । उद्योग स्थापना गर्दा भन्सार, मूल्य अभिवृद्धि कर, आयकर, स्थानीय तहका विभिन्न शुल्कलगायत शीर्षकमा ठुलो रकम तिर्नुपर्ने अवस्था छ । उद्योगीहरूका अनुसार कुल लगानीको करिब आधा हिस्सा करमै खर्च हुने स्थिति छ, जसले उद्योग सञ्चालनअघि नै आर्थिक दबाब सिर्जना गरिरहेको छ । नेपालमै उद्योग खोल्दा कर र शुल्कका कारण लागत अत्यधिक बढ्ने भएकाले दीर्घकालीन लगानी जोखिमपूर्ण बन्दै गएको उद्योगीहरूको भनाइ छ।
औषधी उद्योग सञ्चालनका लागि आवश्यक नक्सा पास, वातावरणीय स्वीकृति, लाइसेन्स र अनुमति प्रक्रियामा देखिने ढिलाइले पनि उद्योगीहरूलाई लगानिकालागी निरुत्साहित गरेको छ । उद्योगको डिजाइन विश्व स्तरीय इन्जिनियरिङ कम्पनीबाट तयार गरे पनि स्थानीय तहमा नक्सा पास गर्न वर्षौँ लाग्ने उद्योगीहरूको गुनासो छ । नगरपालिका र स्थानीय तहमा नक्सा पासका क्रममा स्पष्ट मापदण्ड नहुँदा अनावश्यक प्रश्न, पटक–पटक संशोधन र ढिलाइ हुने गरेको उद्योगीहरूको भनाइ छ। यसका साथै प्रति स्क्वायर फिट शुल्कका आधारमा स्थानीय तहलाई ठुलो रकम तिर्नुपर्ने बाध्यताले उद्योग स्थापना खर्च अझ बढाएको छ ।
लाइसेन्स प्रणाली निर्यातमैत्री नहुनु
औषधी निर्यातमा सबैभन्दा ठुलो अवरोधका रूपमा उत्पादन लाइसेन्स प्रणाली देखिएको छ । विश्वका धेरै देशमा कम्पनीलाई एक पटक उत्पादन लाइसेन्स दिएपछि त्यसैका आधारमा औषधी उत्पादन र निर्यात गर्न सकिने व्यवस्था छ। तर नेपालमा भने हरेक औषधीका लागि छुट्टाछुट्टै लाइसेन्स लिनुपर्ने बाध्यता छ । त्यसमाथि लाइसेन्स नेपाली भाषामा मात्र जारी हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा प्रयोग गर्दा अनुवादको समस्या आउने गरेको छ । अनुवाद गर्दा शब्दार्थ नमिल्ने, प्राविधिक विवरण फरक देखिने जस्ता समस्याले विदेशी नियामक निकायमा औषधी दर्ता गर्न कठिन हुने गरेको उद्योगीहरू बताउँछन् । यस विषयमा लामो समयदेखि सुधारको माग गरिँदै आए पनि ठोस परिवर्तन हुन सकेको छैन ।
संविधान जारी भएपछि नयाँ औद्योगिक नीति आउने आशामा उद्योगीहरूले लामो समय प्रतीक्षा गरे । त्यसपछि निर्वाचनपछि सुधार आउला भन्ने अपेक्षा पनि गरियो । तर पटक–पटक आश्वासन बाहेक व्यवहारिक नीति नआएकाले उद्योगीहरू अब नीति पर्खिनुभन्दा आफ्नै जोखिममा लगानी गर्दै अघि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन् । उद्योगीहरूका अनुसार नीति नबन्दा एक दशकभन्दा बढी समय बितिसकेको छ । यस अवधिमा धेरै सम्भावित लगानी रोकिए भने केही उद्योग बन्द हुने अवस्थामा पुगे । नीति स्पष्ट नहुँदा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन समेत कठिनाइ हुने गरेको छ ।
चुनौतीका बाबजुद गुणस्तर कायम
चुनौतीका बाबजुद नेपाली औषधी उद्योगहरूले गुणस्तरमा सम्झौता नगरेको दाबी गरेका छन् । उद्योगीहरूका अनुसार नेपालमा बनेका सबै औषधी खराब छन् भन्ने धारणा आउने गरेका कारण यस्तो धारण गलत भएको उद्योगीहरूको तर्क छ ।
। स्वदेशी औषधी उद्योगहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गर्दै आएका छन् र अनुभवी चिकित्सकहरूले समेत नेपाली औषधि प्रयोग गर्ने गरेका छन् ।
औषधी उद्योगहरूले गुणस्तरीय उत्पादनमार्फत जनस्वास्थ्यमा योगदान पु¥याइरहेको र निःशुल्क स्वास्थ्य शिविरमार्फत औषधी वितरण गर्दै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्दै आएको छ । नेपालको औषधी बजार अझै आयातमुखी छ । ठुलो मात्रामा औषधी भारतलगायत देशबाट आयात हुने गरेको छ । स्वदेशी उद्योगलाई संरक्षण र प्रवर्द्धन गर्ने स्पष्ट नीति नहुँदा आयातित औषधीसँग प्रतिस्पर्धा गर्न समस्या भइरहेको छ । उद्योगीहरूका अनुसार सरकारले उत्पादन लागत घटाउने, कर छुट दिने, निर्यात प्रोत्साहन गर्ने र प्रशासनिक प्रक्रिया सरल बनाउने हो भने नेपाल पनि औषधी निर्यात गर्ने मुलुक बन्न सक्छ ।
सरकारसँग सुधारको अपेक्षामा उद्योगीहरू
औषधी उद्योगीहरूले सरकारसँग उद्योगमैत्री नीति निर्माण, कर संरचना पुनरावलोकन, अनावश्यक भन्सार हटाउने, एकीकृत लाइसेन्स प्रणाली लागू गर्ने र स्थानीय तहको शुल्कमा एकरूपता ल्याउन माग गरेका छन्। साथै, औषधी निर्यातका लागि स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग, उद्योग विभाग र परराष्ट्र मन्त्रालयबिच समन्वय आवश्यक रहेको उनीहरूको जोड छ ।
नेपालमा औषधी उद्योगले ठुलो सम्भावना बोकेको भए पनि उद्योगमैत्री नीति, स्पष्ट नियम र सहज वातावरणको अभावमा यो क्षेत्र संकटमा परेको छ । समयमै नीतिगत सुधार, कर सहजीकरण र प्रशासनिक सरलता लागू गरिएन भने स्वदेशी औषधी उद्योग थप कमजोर हुँदै जाने जोखिमे छ । तर चुनौतीकै बिच पनि केही उद्योगहरूले लगानी र उत्पादनलाई निरन्तरता दिँदै देशभित्र रोजगारी सिर्जना र गुणस्तरीय औषधी उत्पादनमार्फत अर्थतन्त्रमा योगदान पु¥याइरहेका छन्।


