डिशहोम गोले आफ्ना दर्शकहरूका लागि दुई सफल तथा दर्शकप्रिय नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ स्ट्रिमिङका लागि उपलब्ध गराएको छ । दर्शकको सकारात्मक प्रतिक्रिया र राम्रो व्यापारिक सफलता हासिल गरेका यी दुवै चलचित्र अब घरमै बसेर सहज रूपमा हेर्न सकिने डिशहोम गोले जनाएको छ ।
नेपालभित्र दर्शकहरूले यी चलचित्र २२५ रुपैयाँमै हेर्न सक्नेछन् । नेपालबाहिर रहेका दर्शकहरूले भने १.९९ डलरमा डिशहोम गोमार्फत चलचित्रको मनोरञ्जन लिन सक्ने बताइएको छ । ‘ह्यारी कि प्यारी’का निर्देशक डा. कपिल रिजाल तथा निर्माता डा. भोला रिजालको प्रस्तुति हो । यसमा जितु नेपाल, सम्राज्ञी आर.एल. शाह, विजय बराल र लक्ष्मी गिरीको अभिनय रहेको छ ।
त्यसैगरी, ‘प्रेम गीत ३’ निर्देशक छेतन गुरुङ र सन्तोष सेन तथा निर्माता सन्तोष सेनको ऐतिहासिक प्रेमकथा हो । प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिकासहित शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन र माओत्से गुरुङले अभियन गरेका छन् ।


