Banijya News

आठ अर्ब १७ करोड प्रत्यक्ष वैदेशिक लगानी, कुन क्षेत्रमा कति ?

1
1.2K Shares

चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा सवा आठ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको पुससम्म आठ अर्ब १७ करोड रुपैयाँ भित्रिएको हो । गत वर्ष सोही अवधिमा छ अर्ब ४८ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो ।

छ महिनामा ४७५ परियोजनामार्फत ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस्तै छ महिनामा खुद पुँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड रहेको छ । अघिल्लो वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर चार अर्ब २९ करोड रहेको थियो । गत आवको छ महिनाको तुलनामा दुई अर्ब बढी वैदेशिक लगानी वृद्धि भएको हो ।

अब नेपालमा आउने सबै प्रकारका वैदेशिक लगानी स्वचालित मार्गबाट स्वीकृत हुने भएको छ । हालै सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने अधिकतम सीमा हटाएसँगै अटोमेटिक रुटबाट जति पनि लगानी स्वीकृत हुने भएको हो । यससँगै थप लगानी बढ्ने अनुमान गरिएको छ । यसअघि स्वचालित मार्गबाट ५० करोड रुपैयाँ लगानी स्वीकृत गर्ने व्यवस्था थियो । अब भने जति पनि विदेशी लगानी स्वचालित मार्गबाट लगानी स्वीकृत हुनेछ ।

साना उद्योगमा आकर्षण

चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालमा ३९ अर्ब २३ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । यस अवधिमा वैदेशिक लगानीको मुख्य आकर्षण साना उद्योगतर्फ केन्द्रित देखिएको उद्योग विभागले जनाएको छ । उद्योग विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ । स्वीकृत उद्योगमध्ये ४६० वटा साना, ८ वटा मध्यम र ७ वटा ठूला उद्योग रहेका छन् । यस अवधिमा मात्रै यी उद्योगमार्फत २० हजार १२२ रोजगारी सिर्जना हुने अनुमान छ ।

विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ३१४ उद्योगका लागि २ अर्ब ८० करोड ९९ लाख रुपैयाँ तथा स्वीकृति मार्ग (अप्रुभल रुट) बाट १६१ उद्योगमा ३६ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । रकमका आधारमा अप्रुभल रुटमार्फत आएको लगानी अत्यधिक देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने ३५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । त्यसको तुलनामा चालु आवको अर्धवार्षिक अवधिमा उद्योग संख्या र लगानी रकम दुवै बढेका छन् ।

चालु आवको पहिलो छ महिनामा शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि ३ अर्ब ९८ करोड ६६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै, ३१ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) पनि स्वीकृत भएको विभागले जनाएको छ । क्षेत्रगत रूपमा हेर्दा उद्योग संख्या अनुसार सूचना प्रविधिमूलक क्षेत्र अगाडि देखिएको छ । यस क्षेत्रमा २५७ उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको छ । रकमका आधारमा भने कृषिमूलक क्षेत्र शीर्ष स्थानमा रहेको छ । कृषिमूलक १३ उद्योगमा २१ अर्ब ८८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।

यसैगरी उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा २ अर्ब ३ करोड, पर्यटनमूलक क्षेत्रका १४५ उद्योगमा १० अर्ब ५४ करोड र सेवामूलक क्षेत्रका ३१ उद्योगमा ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार पुस महिनामा मात्रै ३६ वटा साना उद्योगमा ५९ करोड ९५ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । हालसम्म उद्योग विभागले ७ हजार ७१३ वटा उद्योगमा ६ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरिसकेको जनाएको छ ।

प्रत्यक्ष वैदेशिक लगानी सञ्चित तीन खर्ब ३२ अर्ब नाघ्यो

नेपालले प्राप्त गर्ने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सञ्चित लगातार वृद्धि भई आर्थिक वर्ष २०८०/८१ मा तीन खर्ब ३२ अर्ब ७० करोड रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आव २०७९/८० मा यो रकम दुई खर्ब ९५ अर्ब ४९ करोड रुपैयाँ थियो । यसरी हेर्दा पछिल्लो आवमा एफडीआई सञ्चित १२.७ प्रतिशतले बढेको देखिन्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आव २०७८/७९ मा प्रत्यक्ष वैदेशिक लगानी सञ्चित दुई खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँ, आव २०७७/७८ मा दुई खर्ब २७ अर्ब ९४ करोड रुपैयाँ र आव २०७६/७७ मा एक खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो ।

पछिल्लो आवमा चुक्ता पूँजी ८.२ प्रतिशतले बढेर एक खर्ब ६८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । आव २०७९/८० मा यो एक खर्ब ५५ अर्ब ९० करोड रुपैयाँ थियो । जगेडा कोष २२.७ प्रतिशतले बढ्दै एक खर्ब २२ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने कर्जा ५ प्रतिशतले मात्र बढेर ४१ अर्ब ९३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । सञ्चित वैदेशिक लगानीमा सबैभन्दा बढी हिस्सा चुक्ता पूँजीकै रहेको छ । आव २०८०/८१ मा कुल एफडीआई सञ्चितमध्ये ५०.७ प्रतिशत हिस्सा चुक्ता पूँजी, ३६.७ प्रतिशत जगेडा कोष र १२.६ प्रतिशत कर्जाले ओगटेको छ ।

क्षेत्रगत हिसाबले हेर्दा विद्युत, ग्यास, स्टिम, एयरकण्डिसन र उत्पादन क्षेत्रमा सबैभन्दा धेरै लगानी सञ्चित भएको पाइएको छ । विद्युत र ग्यासमा मात्रै ९८ अर्ब ३३ करोड रुपैयाँ, उत्पादन क्षेत्रमा ८६ अर्ब ७७ करोड रुपैयाँ सञ्चित लगानी रहेको छ । यी दुवै क्षेत्रमा कुल सञ्चित एफडीआईको करिब ६० प्रतिशत हिस्सा पुगेको छ । त्यस्तै, आवास तथा खाना क्षेत्रमा २६ अर्ब ९० करोड, सूचना तथा सञ्चार क्षेत्रमा २१ अर्ब ७२ करोड, र वित्तीय क्षेत्रमा ८१ अर्ब ३९ करोड रुपैयाँको सञ्चित लगानी रहेको तथ्यांकमा उल्लेख छ । वित्तीय क्षेत्रमा मात्रै कुल एफडीआईको २४ प्रतिशत हिस्सा पुगेको छ ।

राष्ट्र बैंकका अनुसार पछिल्ला वर्षमा नेपालमा विदेशी लगानीको दायरा विस्तार हुँदै गएको छ । विशेषगरी ऊर्जा, उत्पादन र सेवा क्षेत्रमा लगानी बढ्न थालेसँगै एफडीआई सञ्चितले नयाँ उचाइ हासिल गरेको प्रतिवेदनले देखाएको छ ।

1

Scroll to Top