अन्तरिम सरकारका तत्कालीन सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तोडेका ६७ वटा ठेक्काको टुङ्गो लाग्न अझै केहि समय लाग्ने दिएको छ । चालु आर्थिक वर्षको कात्तिकदेखि पुससम्म तोडिएका कम्तिमा ६७ वटा पूर्वाधार आयोजना ठेक्काको टुङ्ग्याउने प्रक्रियाले लामो समय लिने देखिएको हो । पछिल्ला दुई महिनादेखि निरन्तर रुपमा तोडिएका ठेक्काको मूल्यांकन गर्ने काम भइरहेकाले अझै लामो समय लाग्ने सरकारी अधिकारीहरुले बताएका छन् । यो अवधिमा सडक विभाग अन्तर्गत सडक र पुलका ३ अर्ब रुपैयाँ बराबरका ४१ वटा रुग्ण ठेक्का तोडिएका छन् ।
ठेक्का तोडेपछिको (पोस्ट–टर्मिनेसन) प्रक्रिया स्वाभाविक रुपमा कानुनी र प्राविधिक रूपमा जटिल मानिन्छ । ठेक्का तोड्ने बेलासम्म भएका कामको मूल्यांकन गर्नुपर्ने भएकाले मूलतः मूल्यांकन गर्ने काम भइरहेको छ । जटिल आयोजनालाई छोडेर केही आयोजनाको मूल्यांकन समेत सकिएको छसरकारी अधिकारीको भनाई छ । उनका अनुसार गरिसकेको कामको मूल्यांकन र आयोजना सम्पन्न गर्न गर्नुपर्ने आवश्यक कामको अध्ययनलाई समेत तिव्रता दिइएको छ ।
कतिपय ठेक्का तोडिएका आयोजनाको विषय अदालती प्रक्रियामा समेत जान्छ । जसकारण मूल्यांकनमा सजग र सचेत भएर काम गर्नुपर्ने हुन्छ । निर्माण व्यवसायीले अदालतमा मुद्दा दायर गरेर अदालती प्रक्रिया अघि बढाएका ठेक्काको हकमा अदालतले मागेको प्रमाण उपलब्ध गराउने काम भइरहेको छ । ठेक्का सम्झौताको समय ६० प्रतिशत बित्दा पनि १० प्रतिशतमात्र काम भएको राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देश्यीय आयोजनासहित जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतका १४ अर्ब २२ करोड रुपैयाँ ठेक्का रकम भएका २२ वटा रुग्ण ठेक्का तोडिएका छन् । त्यस्तै, शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत करिब १० करोड बराबरका ४ वटा ठेक्का तोडिएका छन् ।
सार्वजनिक निकायहरुले तोडिएका ठेक्काको मूल्यांकनसँगै नयाँ ठेक्का लगाउन अर्थ मन्त्रालयसँग स्रोत सहमति माग गर्ने कामलाई समानान्तर रुपमा अघि बढाएका छन् । काममा ढिलाइ नहोस् भन्ने उद्देश्यले विभागले ठेक्का मूल्यांकन र नयाँ ठेक्का प्रक्रियालाई स्रोत सुनिश्चितता गर्ने काम समानान्तर रूपमा अघि बढाएको छ । ठेक्का तोडिएका निर्माण व्यवसायीहरू अदालत गए पनि हालसम्म धेरैजसो मुद्दामा ‘स्टे अर्डर’ आएको छैन । यसले काम अगाडि बढाउन सहज बनाएको अधिकारीहरुले बताएका छन् । तोडिएको आयोजनाको ठेक्का लगाउन भने चुनौतीपूर्ण रहेको छ । नयाँ प्रक्रिया थाल्दा अधिकांश आयोजनामा नयाँ निर्माण कम्पनी इच्छुक नहुने प्रवृत्ति छ । यसले नयाँ ठेक्का लगाउन कठिन हुनेछ । यसका साथै पहिलेको निर्माण कम्पनीले कस्तो निर्माण सामग्री प्रयोग गरेको थियो, गुणस्तर कस्तो थियो जस्ता विषयमा विश्वस्त नहुँदा नयाँ कम्पनी आकर्षित नहुने प्रचलन रहेको छ । आफूले कमजोरी नगरे पनि पहिलेको कम्पनीको कमजोरीका कारण फसिने चिन्ता निर्माण व्यवसायीलाई छ ।
सिँचाइ र नदी नियन्त्रणसँग सम्बन्धित केहि आयोजनाको हकमा मूल्यांकन गरेर टुङगो लगाउने प्रक्रिया अगाडि बढेको अवस्था छ । त्यस्तै, केही आयोजनाको नयाँ ठेक्का लगाउन प्रक्रिया अगाडि बढाईउको छ । ‘साना प्रकृतिका दुई दर्जन आयोजनाको हकमा आवश्यक परेको अवस्थामा नयाँ ठेक्का लगाइने र आवश्यक नभएको स्थानको ठेक्का प्रकृया अघि नबढ्ने मन्त्रालय स्रोतको भनाई छ । विभागका अनुसार सिँचाइ अन्तर्गत तोडिएका अधिकांश साना आयोजनाहरु मूलतः नदी नियन्त्रणसँग सम्बन्धित छन् ।
ठेक्का विवाद समाधानमा अझै वर्षौँ लाग्न सक्ने
तोडिएका ठेक्काका अधिकांश निर्माण व्यवसायी अन्तरिम आदेशको माग गर्दै अदालत पुगेका छन्। नेपाल निर्माण व्यवसायी महासंघका अनुसार केही ठेक्का बाहेक प्रायः सबै ठेक्कामा संलग्न निर्माण व्यवसायी न्यायिक प्रक्रियामा प्रवेश गरिसकेका छन् । अदालतले केही आयोजनामा अन्तरिम आदेश जारी गरिसकेको छ भने अन्तरिम आदेश नपरेका ठेक्कामा खरिद सम्झौताअनुसार मध्यस्थता प्रक्रियामा जान निर्देशन दिएको छ । त्यसअनुसार हाल निर्माण व्यवसायीहरू अदालत र मध्यस्थता दुवै प्रक्रियामा संलग्न छन्। मध्यस्थताबाट कुनै एक पक्ष असन्तुष्ट भएमा पुनः अदालत जान सक्ने व्यवस्था रहेको छ । अदालतको अन्तिम फैसला आएपछि मात्रै ठेक्काको पूर्ण फरफारक हुने महासंघको भनाइ छ ।
महासंघका अनुसार यो सम्पूर्ण प्रक्रिया पूरा हुन न्यूनतम २ देखि ५ वर्षसम्म लाग्न सक्ने अनुमान गरिएको छ । अन्तरिम आदेश नदिएका ठेक्काका हकमा भने सार्वजनिक निकायहरूले मूल्यांकन गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाउन सक्नेछन्। सोही आधारमा केही आयोजनामा सार्वजनिक निकायले प्रक्रिया अघि बढाइसकेको छ । निर्माण व्यवसायीहरूका अनुसार तोडिएका ठेक्काहरू पुनः निरन्तरता पाउने सम्भावना करिब ९० प्रतिशत समाप्त भइसकेको छ । निर्माण ब्यवसायीका अनुसार हालको कानुनी व्यवस्थाअनुसार तोडिएका ठेक्का पुनः नजोडिए पनि, विगतमा ठेक्का किन तोडिए भन्ने कारण पहिचान गरी समग्र नीति बनाएर अघि बढ्नुपर्ने छ ।
कतिपय ठेक्का निर्माण व्यवसायीको कमजोरीका कारण तोडिएका छन् भने कतिपय स्थानीय अवरोध र सरकारी नीतिगत उल्झनका कारण प्रभावित भएका हुन् । निर्माण व्यवसायीहरूले सरकारका जिम्मेवार व्यक्तिहरूले व्यक्तिगत लोकप्रियता वा सनकका आधारमा ठेक्का तोड्दा निर्माण उद्योग मात्र नभई बैंकिङ क्षेत्रसमेत धराशायी हुन सक्ने चेतावनी दिएका छन्। धेरै वर्ष पुराना ठेक्का पुरानै दररेटमा काम गर्न तयार हुँदाहुँदै पनि तोडिनु न्यायोचित नभएको उनीहरूको गुनासो छ। सरकारलाई ठेक्का तोडिनुको वास्तविक कारण पहिचान गरी निर्माण कम्पनीको गल्ती भएमा मात्र कारबाही गर्न र अन्यथा सहज वातावरण सिर्जना गर्न सुझाव दिएका छन्।
सरकारले वर्षौँदेखि अलपत्र परेका २९८ वटा ठेक्का सूचीकृत गरेको थियो। तीमध्ये ६७ वटा ठेक्का औपचारिक रूपमा तोडिएका छन् भने १५० वटा ठेक्कामा सम्झौता अन्त्यको सूचना जारी गरिएको थियो। हालसम्म तोडिएका ठेक्काको कुल लागत १७ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । प्रक्रियामा रहेका ठेक्कासमेत जोड्दा यो रकम झण्डै साढे ३४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
पछिल्लो समय ठेक्का तोड्ने क्रम भने केही घटेको देखिएको छ । यद्यपि तोडिएका ठेक्कामा नियोक्ता र निर्माण व्यवसायीबीच फरफारक गरी टुंग्याउने काम अझै बाँकी रहेको छ । सडक विभागका महानिर्देशक जैसीले काम नगर्ने निर्माण व्यवसायीहरूको ठेक्का तोड्ने प्रक्रिया भने निरन्तर जारी रहेको दाबी गरे। उनका अनुसार ठेक्का तोडिने डरले कतिपय ठेकेदार पुनः काममा फर्किन थालेका छन् भने संयुक्त उपक्रम (जेभी) गर्ने प्रवृत्ति पनि घट्दै गएको छ। विकासे निकायहरूले यसलाई सकारात्मक संकेतका रूपमा लिएका छन् ।


