Banijya News

सहरी विकास मन्त्रालयलेको बजेट खर्च ६.१५ प्रतिशत मात्र

1
1.1K Shares

काठमाडौं । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो अर्धवार्षिक समीक्षा अवधि (साउनदेखि पुससम्म) मा कुल बजेटको ६.१५ प्रतिशतमात्र खर्च गरेको छ । मन्त्रालयले यस वर्ष ९१ अर्ब ३५ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको भए पनि पुस मसान्तसम्म ५ अर्ब ६१ करोड रुपैयाँमात्र खर्च भएको देखिएको छ ।

मन्त्रालय पूँजीगत बजेट बढी विनियोजन गर्ने मन्त्रालयमध्ये परे पनि पूँजीगत खर्च कमजोर हुँदा समग्र बजेट खर्च न्यून भएको हो । चालु आवका लागि मन्त्रालयलाई २ अर्ब ८५ करोड रुपैयाँ चालु र ८८ अर्ब ४९ करोड रुपैयाँ पूँजीगत बजेट विनियोजन गरिएको थियो । छ महिनामा चालु बजेटतर्फ ६८ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ, जुन लक्ष्यको २४.०८ प्रतिशत हो । पूँजीगत बजेटतर्फ भने ४ अर्ब ९३ करोड रुपैयाँमात्र खर्च भएको छ, जुन लक्ष्यको ५.५७ प्रतिशत हो ।

पहिलो छ महिनामा नेपाल सरकारको समग्र पूँजीगत खर्चसमेत गत आर्थिक वर्षको तुलनामा घटेको छ । ठूलो बजेट प्राप्त गर्ने विकासे मन्त्रालयहरूले अपेक्षित रूपमा खर्च गर्न नसक्दा समग्र पूँजीगत खर्च प्रभावित भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाउँछ । सहरी विकास मन्त्रालयले स्वयं र मातहतका करिब तीन दर्जन निकायमार्फत कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । मन्त्रालय मातहतका विभिन्न निकायहरूको बजेट खर्च पनि कमजोर देखिएको छ । बागमती सुधार आयोजनाको खर्च ५.४४ प्रतिशतमा सीमित रहँदा सहरी विकास तथा भवन निर्माण विभागको ८.४ प्रतिशत खर्च भएको छ । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले लक्ष्यको १५.८७ प्रतिशत बजेट खर्च गरेको छ ।

यसैगरी सघन सहरी विकास कार्यक्रमले १६.६९ प्रतिशत, नेपाल–भारत सीमा एकीकृत जाँच चौकी विकास आयोजनाले १.३४ प्रतिशत, स्थानीय पूर्वाधार विकास विभागले १०.८८ प्रतिशत र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमले ११.९२ प्रतिशत बजेट खर्च गरेका छन् । मन्त्रालयका अनुसार नयाँ सरकार गठनपछि अर्थ मन्त्रालयले ठूलो रकम बजेट रोक्का राखेकाले खर्च प्रभावित भएको हो । सुरुमा विनियोजित ९१ अर्ब ३४ करोडमध्ये २ हजार १ सय ९० आयोजनाका लागि छुट्याइएको ६१ अर्ब ७६ करोड रुपैयाँ बजेट रोक्का गरिएको थियो ।

रोक्का फुकुवाका लागि विभिन्न तहमा छलफल, निर्णय र पत्राचार गरी प्रक्रिया अघि बढाइएको मन्त्रालयले अर्धवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख गरेको छ । हालसम्म पनि मन्त्रालय मातहतका ४१ करोड ७७ लाख रुपैयाँ बराबरका कार्यक्रम अझै रोक्कामै रहेका छन् । यस अवधिमा मन्त्रालय तथा मातहतका निकायको नियमित कार्य सञ्चालनलाई कागजरहित तथा पूर्ण डिजिटल प्रणालीमा रूपान्तरण गर्दै एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ । साथै लामो समयदेखि रुग्ण अवस्थामा रहेका सार्वजनिक निर्माण कार्यका ठेक्कालाई सम्झौताअनुसार व्यवस्थित गर्ने, निर्माण अघि बढ्न सक्ने आयोजनालाई सहजीकरण गर्ने र लापरवाहीका कारण ढिलाइ भएका आयोजनाको ठेक्का सम्झौता अन्त्य गरी कारबाही प्रक्रिया अघि बढाइएको पनि मन्त्रालयले जनाएको छ ।

1

Scroll to Top