अर्थमन्त्रालयले चालु वर्षको लागि अनुमान गरिएको पुँजीगत खर्च करिब २१ प्रतिशत न्युन हुुने अनुमान गरेको छ। बजेटको अर्धवार्षिक मूल्यांकन गर्दै पुुँजीगत खर्चको अनुमान ३ खर्ब १९ अर्ब मात्रै हुने अनुमान गरिएको हो। अर्थमन्त्री रामेश्वर खनाल नेतृत्व गरिएको मूल्यांकनमा सबै प्रकारका खर्च घट्ने अनुमान गरिएको छ।
चालु वर्षको लागि ४ खर्ब ७ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएको थियो। तर, अहिले भने ८८ अर्ब रुपयाँ कम खर्च हुने अनुमान गरिएको छ। त्यस्तै चालु खर्च ११ खर्ब ८० अर्ब विनियोजन गरिएकोमा १२ खर्ब २५ अर्ब खर्च हुने अनुमान गरिएको थियो। वित्तीय वणयवस्थाको लागि ३ खर्ब ७५ अर्ब विनियजन गरिएकोमा ३ खर्ब १८ अर्ब खर्च हुने अनुमान गरिएको थियो। सार्वजनिक विवरण अनुसार मुलुकको बाह्य क्षेत्र निकै बलियो देखिएको छ भने आन्तरिक अर्थतन्त्रमा पनि सुधारका संकेत देखिएका छन् ।
विशेषगरी विदेशबाट आउने रेमिट्यान्समा आएको उछाल र बैंकको ब्याजदर तथा महँगीमा आएको गिरावटले अर्थतन्त्रलाई राहत दिएको सरकारी तथ्यांकले देखाएको छ । मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा यो वर्ष चमत्कारिक सुधार देखिएको छ । समीक्षा अवधिमा विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स ३९.१ प्रतिशतको उच्च दरले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । रेमिट्यान्समा आएको यो बाढीले मुलुकको विदेशी विनिमय सञ्चिति र शोधनान्तर स्थितिमा पनि सकारात्मक प्रभाव पारेको छ ।
हाल मुलुकसँग २२ अर्ब ४७ करोड अमेरिकी डलर बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ । त्यस्तै, देशबाट बाहिरिने भन्दा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँले बचतमा छ । यसले मुलुकको बाह्य क्षेत्रको स्थायित्व निकै बलियो अवस्थामा रहेको पुष्टि गर्छ । विश्व अर्थतन्त्र ३.३ प्रतिशत र छिमेकी भारत ७.३ तथा चीन ५ प्रतिशतले बढ्ने प्रक्षेपण भइरहँदा नेपालको आर्थिक वृद्धिदर भने मध्यम रहने देखिएको छ । आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ३.० प्रतिशत रहने प्रारम्भिक अनुमान मन्त्रालयले गरेको छ ।
क्षेत्रगत रूपमा हेर्दा उद्योग क्षेत्रमा उत्साहजनक सुधार देखिएको छ । ऊर्जा र निर्माण क्षेत्रमा बढेको सक्रियताका कारण उद्योग क्षेत्र ५.४४ प्रतिशतले विस्तार हुने अनुमान छ । सेवा क्षेत्रमा पनि पर्यटन र व्यापारमा भएको सुधारले ३.०३ प्रतिशतको वृद्धि देखिएको छ । यद्यपि, धान उत्पादनमा आएको कमीले गर्दा कृषि क्षेत्रको विस्तार भने १.३६ प्रतिशतमा खुम्चिने देखिएको छ । मकै, कोदो र फापर जस्ता बालीको उत्पादन बढे पनि मुख्य बाली धानको उत्पादन घट्दा कृषि क्षेत्र प्रभावित भएको हो ।
सर्वसाधारण र उद्योगी व्यवसायीका लागि राहतको खबर के छ भने बजार महँगी र बैंकको ब्याजदर दुवैमा उल्लेख्य कमी आएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा औसत उपभोक्ता मुद्रास्फीति (महँगी) घटेर १.७ प्रतिशतमा सीमित भएको छ । ब्याजदरतर्फ हेर्दा वाणिज्य बैंकहरूले कर्जा प्रवाहमा लिने औसत ब्याजदर एकल अंकमा झर्दै ७.१२ प्रतिशत कायम भएको छ । केही समयअघिसम्म दोहोरो अंकमा रहेको ब्याजदर घट्नुले लगानीकर्तालाई राहत मिलेको छ । निक्षेपको औसत ब्याजदर पनि ३.५६ प्रतिशतमा झरेको छ भने अन्तर बैंक ब्याजदर २.७५ प्रतिशतमा सीमित छ । ९१ दिने ट्रेजरी बिलको ब्याजदर २.३५ प्रतिशतमा झर्नुले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको संकेत गर्छ । नेपाल राष्ट्र बैंकले बजारबाट २ खर्ब ८६ अर्ब रुपैयाँ भन्दा बढी तरलता प्रशोचन गरेको तथ्यांकले पनि बैंकहरूसँग लगानीयोग्य रकम थुप्रिएको देखाउँछ ।
वैदेशिक व्यापारतर्फ निर्यातमा उच्च वृद्धि देखिएको छ । कुल वस्तु निर्यात ४३.८ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ नाघेको छ । तर, सोही अनुपातमा आयात पनि १४.२ प्रतिशतले बढ्दा व्यापार घाटा भने फराकिलो बन्दै गएको छ । समीक्षा अवधिमा व्यापार घाटा १०.१ प्रतिशतले बढेर ७ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । पुँजी बजारमा पनि सुधारको संकेत देखिएको छ । नेप्से सूचकांक २६४१.४४ बिन्दुमा कायम भएको छ भने कुल बजार पुँजीकरण ४४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूको संख्या २८४ पुगेको छ ।
बैंकिङ क्षेत्रतर्फ निजी क्षेत्रमा जाने कर्जा ६.७ प्रतिशतले बढेर झन्डै ५७ खर्ब पुगेको छ भने निक्षेप संकलन ५.७ प्रतिशतले बढेर ७६ खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ । समग्रमा अर्थ मन्त्रालयको यो अर्धवार्षिक समीक्षाले बाह्य क्षेत्र र वित्तीय परिसूचकहरू बलियो देखिए पनि आन्तरिक उत्पादन र आर्थिक वृद्धिको गति भने अझै सुस्त नै रहेको देखाएको छ ।


