Banijya News

पूर्वाधारमा निजी लगानी भित्र्याउन लगानी बोर्डको नयाँ रणनीति

1
1.2K Shares

नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको लगानीलाई थप प्रभावकारी र व्यवस्थित बनाउन लगानी बोर्ड नेपालले विशेष सक्रियता देखाएको छ । मुलुकको आर्थिक समृद्धिका लागि ठूला परियोजनामा निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको निष्कर्ष निकाल्दै बोर्डले अब स्विस च्यालेन्ज र हाइब्रिड एन्युइटी जस्ता आधुनिक लगानी मोडेलहरू कार्यान्वयनमा ल्याउने अन्तिम तयारी गरेको हो ।

मंगलबार राजधानीमा ग्रिन ग्रोथ नेपालसँगको सहकार्यमा आयोजित एक विशेष कार्यक्रममा बोर्डले यी नयाँ कार्यविधिहरूको मस्यौदामाथि सरोकारवालासँग गहन छलफल समेत गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीका अनुसार अब बोर्डले सरकारले आह्वान नगरेका तर निजी क्षेत्रबाट स्वतःस्फूर्त रूपमा आएका सिर्जनशील प्रस्तावहरूलाई पनि अगाडि बढाउनेछ । यसका लागि बोर्डले स्विस च्यालेन्जु विधिलाई मुख्य आधार बनाउँदै प्रस्ताव मूल्याङ्कन कार्यविधिको मस्यौदा तयार पारिसकेको छ ।

यो विधि लागू भएपछि जुनसुकै क्षेत्रका नवप्रवर्तनात्मक परियोजनाहरूलाई निजी क्षेत्रले प्रस्तावको रूपमा पेस गर्न सक्नेछन् र बोर्डले तिनीहरूलाई पारदर्शी प्रतिस्पर्धाका आधारमा छनोट गरी कार्यान्वयनमा लैजानेछ । यसले लगानीका नयाँ क्षेत्रहरू पहिचान गर्न र सरकारी संयन्त्रभन्दा बाहिर रहेका नवीन सोचलाई पूर्वाधार निर्माणमा उपयोग गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

पूर्वाधार विकासमा अर्को महत्वपूर्ण फड्को मार्न बोर्डले हाइब्रिड एन्युइटी मोडेल लाई पनि अघि सार्ने भएको छ । यो मोडेल विशेषगरी सडक, पुल, जलविद्युत्, प्रसारण लाइन र फोहोर व्यवस्थापन जस्ता ठूला परियोजनाहरूका लागि अत्यन्तै प्रभावकारी मानिन्छ । यस मोडेलको विशेषता भनेको सरकार र निजी क्षेत्रबीच लागत र जोखिमको सन्तुलित बाँडफाँड हुनु हो । यसले परियोजनाहरूलाई समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न निजी क्षेत्रलाई थप जिम्मेवार बनाउनेछ भने अर्कोतर्फ सरकारको वित्तीय भारलाई पनि व्यवस्थापन गर्न सहज पुर्‍याउनेछ । बोर्डले यससम्बन्धी कार्यविधिको मस्यौदा समेत तयार पारिसकेको छ, जसले ठूला आयोजनाहरूको कार्यान्वयनमा देखिएका प्राविधिक र आर्थिक जटिलताहरूलाई न्यून गर्ने अपेक्षा गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन हुने ६ अर्ब रुपैयाँ वा सोभन्दा बढी लागतका सबै परियोजनाहरूको स्वीकृत गर्ने अधिकार लगानी बोर्डमा रहेको स्पष्ट पारे । यद्यपि, बोर्डले स्वीकृत गरेका परियोजनाहरूलाई तिनीहरूको प्रकृति, विषयगत विज्ञता र कार्यान्वयन क्षमताका आधारमा अन्य सम्बन्धित निकायहरूलाई कार्यान्वयनको जिम्मेवारी सुम्पन सकिने लचिलो नीति समेत लिएको छ । ६ अर्ब रुपैयाँभन्दा कम लागतका आयोजनाहरूलाई सम्बन्धित निकायहरूले नै अघि बढाउन सक्ने र त्यस्ता परियोजनाका लागि आवश्यक पर्ने प्राविधिक सहयोग र विज्ञता लगानी बोर्डले उपलब्ध गराउने उनको भनाइ छ ।

सरकारले लिएको सोह्रौँ पञ्चवर्षीय योजनाका लक्ष्यहरू पूरा गर्न लगानी बोर्डको भूमिका निकै चुनौतीपूर्ण र महत्वपूर्ण देखिएको छ । पञ्चवर्षीय योजनाले निर्धारण गरेका राष्ट्रिय उद्देश्यहरू प्राप्तिका लागि कुल एक सय १२ खर्ब रुपैयाँ लगानीको आवश्यकता छ, जसमा निजी क्षेत्रबाट मात्रै ७४ खर्ब रुपैयाँ परिचालन गर्नुपर्ने लक्ष्य राखिएको छ । यो विशाल लक्ष्य हासिल गर्न निजी क्षेत्रलाई विश्वासमा लिनु र लगानीमैत्री वातावरण बनाउनु बोर्डको प्राथमिकता रहेको ज्ञवालीले बताए । लगानी बोर्डले आफ्नो स्थापनाको १४ वर्षमा हालसम्म १७ खर्ब १६ अर्ब रुपैयाँ बराबरका विभिन्न परियोजनाहरू स्वीकृत गरिसकेको छ, तर आगामी लक्ष्य भेट्टाउन अझै ठूलो मेहनत र नीतिगत सुधारको खाँचो रहेको छ ।

त्यसैगरी, लगानी बोर्डले केवल केन्द्रमा मात्र सीमित नभई स्थानीय र प्रदेश सरकारहरूलाई पनि सार्वजनिक निजी साझेदारीका परियोजनाहरू अघि बढाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। संघ, प्रदेश र स्थानीय तीनै तहमा लगानीको वातावरण सिर्जना गरी उत्पादनशील क्षेत्रमा पुँजी परिचालन गर्नु नै अहिलेको मुख्य आवश्यकता हो । परियोजनाहरू जुन तहबाट कार्यान्वयन भए पनि अन्ततः त्यसले राष्ट्रिय अर्थतन्त्रमा नै योगदान पुर्‍याउने भएकाले कार्यान्वयन प्रक्रियालाई सरल र परिणाममुखी बनाउन बोर्डले जोड दिएको छ ।

कार्यक्रममा लगानी बोर्डका सहसचिव सुनिता नेपालले स्विस च्यालेन्ज विधिले निजी क्षेत्रको लगानीलाई विविधीकरण गर्न र लगानीकर्ताहरूलाई नयाँ अवसरहरू प्रदान गर्न कोसेढुङ्गा साबित हुने बताए । त्यस्तै, बेलायती दूतावासका प्रतिनिधि साम फेलले नेपालको आर्थिक क्षेत्रमा रहेको वित्तीय खाडल कम गर्न पीपीपी मोडेलको विकल्प नरहेको उल्लेख गर्दै आयोजनाहरूको प्रभावकारी परिणामका लागि अन्तर्राष्ट्रिय अभ्यासहरूलाई अनुसरण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न मन्त्रालयका अधिकारीहरू र विज्ञहरूबीच स्विस च्यालेन्ज र हाइब्रिड एन्युइटी मोडेलका कार्यपत्रमाथि विस्तृत छलफल भएको थियो, जसले आगामी दिनमा लगानी बोर्डको कार्यदिशालाई थप स्पष्ट पारेको छ ।

1

Scroll to Top