नेपाली काग्रेशलाई चुनाबमा अर्को आपत आइलागेको छ । निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनावी गतिविधिबाट टाढै रहने भएपछि नयाँ संकट आइलागेको हो । कांग्रेसको नेतृत्व विशेष महाधिवेशनमार्फत परिवर्तन भएपछि देउवा पार्टीको औपचारिक गतिविधिबाट लगभग अलग देखिएका छन् । पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनपछि उनी न त सार्वजनिक कार्यक्रममा देखिएका छन्, न त पार्टीका आन्तरिक निर्णय प्रक्रियामा नै सक्रिय भूमिका खेलेका छन् ।
पछिल्ला दिनमा देउवा चुनावी अभियानमा सक्रिय हुने चर्चा चले पनि उनको सचिवालयले त्यस्तो कुनै कार्यक्रम नरहेको स्पष्ट पारेको छ । देउवाको सचिवालयका अनुसार उनी कुनै पनि चुनावी सभा, आमसभा वा चुनावसँग सम्बन्धित सार्वजनिक कार्यक्रममा सहभागी हुने छैनन् । केही सञ्चारमाध्यममा देउवा चुनावी प्रचारमा निस्कने समाचार आएपछि त्यसको खण्डन गर्दै सचिवालयले “चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन” भन्ने स्पष्ट सन्देश दिएको हो ।
राजनीतिक वृत्तमा यसलाई नेतृत्व हस्तान्तरणपछि देउवाले स्वेच्छिक ‘राजनीतिक विश्राम’ रोजेको रूपमा विश्लेषण गरिएको छ । लामो समयसम्म पार्टी र सरकारको नेतृत्व सम्हालेका देउवाको यो मौनताले कांग्रेसको चुनावी रणनीतिमा प्रत्यक्ष प्रभाव नपारे पनि उनको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । देउवाको सचिवालयको पछिल्लो प्रष्टोक्तिले अबको चुनावी अभियानमा उनी देखिने सम्भावनालाई पूर्णतः अस्वीकार गरेको संकेत गरेको छ । चुनाबमा देउवा प्रत्यक्ष सहभागी नभए धेरै क्षेत्रमा काग्रेश प्रभावित हुने देखाएको छ ।
उता नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने पक्षबिचको तुष बाँकी रहेको बताएका छन् । बुधबार काठमाडौँको अनामनगरमा भएको अन्तरक्रियामा प्रवक्ता चालिसेलाई पत्रकारहरूले पुराना र नयाँ पदाधिकारी एउटै मञ्चमा बस्ने अवस्था किन निर्माण भएन ? भन्ने प्रश्न गरेका थिए ।
त्यो प्रश्नको जवाफ दिँदै प्रवक्ता चालिसेले विशेष महाधिवेशन भएपछि पार्टीभित्र देखिएको तुष मेटाउने प्रयास भइरहेको जानकारी दिएका हुन् । ‘पार्टीभित्र नियमित र विशेष महाधिवेशनबिचको तुष बाँकी नै छ । त्यो तुस मेटाउने भरमग्दुर प्रयास हामीले गरिरहेका छौँ,’ प्रवक्ता चालिसेले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै भने– ‘कुराकानी गर्ने कुरामा सबै जना सहमत छन् । दुईचार दिनदेखि मेहनत भइरहेको छ । अरू केही नभएपछि तत्काललाई स्टेटमेन्ट(वक्तव्य) निकालौँ, भावनात्मक अपिल गरौँ भन्ने छ ।’
प्रवक्ता चालिसेले जेनजी आन्दोलनपछि बसेको केन्द्रीय कार्यसमिति बैठकमा जस्तै देउवाले केही लिखित मन्तव्य भए पनि बाहिर ल्याइदिए निर्वाचनमा कांग्रेसका पक्षमा ठुलो वेभ सिर्जना हुने सम्भावना रहेको बताए । देउवालगायत निवर्तमान केन्द्रीय कार्यसमितिमा रहेका र अहिले चुनावी प्रचार प्रसारमा नआएका नेताहरूलाई प्रचार प्रसारमा ल्याउने विषय आफूहरूको प्राथमिकतामा रहेको जानकारी दिए ।
‘पहिले पार्टीको केन्द्रीय समितिको बैठकमा उहाँ (देउवा) ले बोलेको राम्रो थियो नि त, त्यही प्रकारको एउटा कपी बनाउने र बोल्न लगाउने । अर्को काठमाडौँमा जोडिएका चार पाँच वटा क्षेत्रमा उभिए झ्याप्पै वेभ सिर्जना हुन्छ,’ चालिसेले भने, ‘त्यो विषयलाई प्राथमिकतामा राखेर हामीले प्रयास गरिरहेका छौँ ।’


