मधेसको चुनावी यात्रामा रहेका बालेन बुधबार सर्लाहीसहित पश्चिम मधेसका जिल्लाको भ्रमणमा छन् । बालेनको सचिवालयले सर्लाही ४ लाई आजको सेड्युलमा राखेको थिएन । उनको सचिवालयले सार्वजनिक गरेको सेड्युलअनुसार बुधबार बिहान साढे आठबजेतिर बालेन लालबन्दी आइपुगेका थिए । त्यसपछि उनी नवलपुर, हरिवन, नयाँरोड, बरहथावा हुँदै रौतहट जाने तालिका थियो । तर, बालेन सेड्युल विपरित नवलपुरबाट मलंगवातर्फ लागेका हुन् ।
बालेन कांग्रेस सभापति गगनकुमार थापा उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर ४ मा नजाने पक्का थियो । मंगलबार सप्तरीबाट मधेस प्रदेशका जिल्लामा चुनावी अभियान सुरु गरेका बालेन गएराति बर्दिबासमा आएर बास बसेका थिए । उनी हिजो सप्तरी, सिराहा, धनुषा र महोत्तरीका विभिन्न ठाउँमा पुगेर रास्वपाको पक्षमा मत मागेका बालेन बुधबार बिहानदेखि सर्लाहीसहित बाँकी मधेसका जिल्लाको यात्रामा निस्केका थिए ।
सर्लाही ४ मा रास्वपाले पूर्वकांग्रेस नेता डा.अमरेश सिंहलाई उम्मेदवार बनाएको छ । सर्लाही ४ बाट तीनपटक लगातार चुनाव जितेका सिंह गगनको उम्मेदवारीले दबाबमा छन् । सिंहले आफ्नो क्षेत्रमा बालेनलाई ल्याएर रास्वपाको पक्षमा माहोल बनाउने प्रयास गरिरहेका थिए । सिंहले गएराति सामाजिक सञ्जालमा बालेन बुधबार आफू उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर ४ का विभिन्न ठाउँमा आउने भन्दै कार्यक्रम तालिका नै सार्वजनिक गरेका थिए तर बालेन एकाएक अर्कोतर्फ मोडिन थालेपछि अमरेशले आफ्नो क्षेत्रमा नआई काठमाडौ गए पाटी नै छोडने बताएपछि बालेन सो क्षेत्रमा हानिएका हुन् ।
अमरेशको दबाबपछि रास्वपाका वरिष्ठ नेता शाह बालेन सर्लाही सदरमुकाम मलंगवा हुँदै सर्लाही क्षेत्र नम्बर ४ मा पुगेका छन् । बालेन सर्लाही ४ लागेपछि भने हरिवन, नयाँरोड र बरहथवामा भेला भएका उनका समर्थकहरू निराश भएका छन् ।
बालेनको स्वागत गर्न हरिवन बजारस्थित महेन्द्र राजमार्ग दायाँबायाँ बुधबार बिहानदेखि ठूलो संख्यामा रास्वपाका नेता कार्यकर्तासहित सर्वसाधारण बसेका थिए । ‘नवलपुरबाट हाम्रो गाडी हरिवनतर्फ अघि बढ्यो, उहाँ (बालेन)को गाडि पछिपछि थियो,’ रास्वपा सर्लाहीका सभापति सरोज बानियाँले भने, ‘तर नवलपुरबाट हरिवनतर्फ आइसकेको उहाँहरूको गाडि तीनघरेतिरबाट फर्किएर फेरि मलंगवातर्फ लागेछ । यो जानकारी हामीलाई भएन ।’
बालेनले लालबन्दीमा जीपबाट टाउको निकालेर घण्टी बजाएका थिए । तर उनी नवलपुरमा भने सार्वजनिक नै भएनन् । अमरेश सिंहले बालेनको कार्यक्रममा केही संशोधन भएको जानकारी दिएका छन् । उनले अब बालेन कौडेना हुँदै गोडैटा बजारबाट बरहथवा जाने कार्यक्रम तय भएको बताए ।


