Banijya News

दैलेखमा ८० अर्ब ७० करोड घनमिटर ग्यास रहेको पुष्टि, यसरी जानेछ उत्पादनको चरणमा !

1
1.2K Shares

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि भएको छ । चीनको चाइना जिओलोजिकल सर्भर्ले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास देखिएको हो । यसको व्यावसायिक उत्पादनका लागि भने ‘वेल टेस्टिङ’ गर्नुपर्ने खानी तथा भूगर्भ विभागले जनाएको छ । यसअघि ११२ अर्ब घनमिटरसम्म ग्यासको भण्डारण हुन सक्ने प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको थियो ।

उत्पादन परीक्षणमा यसअघि ड्रिल गरिएका ठाउँमा अन्य उपकरण प्रयोग गर्नुपर्ने हो कि त्यहाँ भएको प्राकृतिक ग्यासलाई केही वस्तुले विस्थापित गर्नुपर्ने हो भन्नेलगायत भण्डारणको वास्तविक विशेषता परीक्षण हुनेछ । ग्यासमा भएका तत्त्वको परीक्षण गरेर मात्र व्यावसायिक उत्पादनको चरणमा जानेछ । चिनियाँ टोलीको प्रतिवेदन आएपछि सरकारले ‘वेल टेस्टिङ’ लगायत दोस्रो चरणको काम गरिदिन चिनियाँ सरकारलाई अनुरोध गरेको छ । दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका लागि चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेले विभिन्न चरणमा सर्भे गरेको थियो भने चीनकै सीएनपीसी सिबु इन्जिनियरिङ कम्पनीले २८ वैशाख २०८० देखि करिब डेढ वर्ष ड्रिलिङ गरेर अध्ययन गरेको थियो ।

पेट्रोलियम पदार्थको उत्खननका लागि चैत २०७२ मा चीन र नेपालका प्रधानमन्त्रीबीच द्विपक्षीय समझदारी भएको थियो । त्यस आधारमा असोज २०७६ बाट झन्डै ६ महिना खानी विभाग र चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । फागुन २०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच अन्वेषण तथा उत्खनन गर्न २ अर्ब ४० करोड रुपैयाँमा सम्झौता भएको थियो । तर कोरोना महामारी, उत्खनन र अन्वेषणका ठूला उपकरण ल्याउन ढिलाइ, सडक समस्या, जग्गा प्राप्तिका प्रक्रियालगायतले काम धकेलिएको प्रवक्ता खड्काले बताए । उनका अनुसार फेब्रुअरी २०१९ मा ३ वर्षका लागि गरिएको सम्झौताको म्याद सकिएपछि फेरि २०२२ मा आयोजनाले म्याद थपेको थियो ।

विभागका अनुसार २८ वैशाख २०८० देखि पुस २०८१ सम्म ड्रिलिङसहित दोस्रो चरणको अन्वेषण सकेपछि चिनियाँ प्राविधिक टोली नमुना लिएर फर्किएको थियो । पहिलो चरणमा सस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार प्रकारका सर्भेको काम गरिएको थियो भने दोस्रो चरणमा जमिन खनेर नमुना निकाल्ने (ड्रिलिङ) को काम भएको हो । ड्रिलिङका लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । जसमा झन्डै ७० जना प्राविधिकले १९ महिना काम गरेका थिए । करिब एक सय स्थानीय मजदुरले पनि रोजगारी पाएका थिए । विभागका अनुसार अहिलेसम्म दैलेखको शिरस्थान, नाभीस्थान र पादुकाका करिब ३ किलोमिटर आसपासका क्षेत्रमा मात्र ड्रिलिङ गरिएको छ । अहिले दुई जना चिनियाँ प्राविधिक जलजले क्षेत्रमै छन् भने सशस्त्र प्रहरीले अन्वेषण स्थलको सुरक्षा गरिरहेको छ ।

‘वेल टेस्टिङ’ कसरी गरिन्छ

पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी भूगर्भविद् प्रकाश लुइँटेलका अनुसार ‘वेल टेस्टिङ’ वा ‘परीक्षण उत्पादन’बाट मात्रै त्यहाँको भण्डारणबाट निकाल्न सकिने ग्यासको मात्राबारे आकलन गर्न सकिन्छ। “उत्पादन परीक्षणमा यसअघि ‘ड्रिल’ गरिएका ठाउँमा अन्य उपकरण छिराएर चट्टानलाई फुटाउनुपर्ने हो कि अथवा त्यहाँ भएको प्राकृतिक ग्यासलाई केही चिजले विस्थापित गर्नुपर्ने हो भन्ने लगायतका भण्डारको वास्तविक विशेषता कस्तो छ भनेर परीक्षण गरिन्छ,” उनी भन्छन्।

त्यहाँबाट निस्किने ग्यासमा भएका तत्त्वहरूको परीक्षण गरेर मात्रै व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरिने लुइँटेलले बताए। “त्यति गर्दा पनि वास्तविक भण्डारबाट निकाल्न सकिने मात्रा त निर्क्योल गर्न सकिँदैन।” उत्पादन परीक्षणका क्रममा केही अवधिसम्म भण्डारमा रहेको ग्यास निकालेर हेरिन्छ। “नेपाली भूमिमा प्राकृतिक ग्यास छ भन्नेसम्म अनुमान मात्रै हामीसँग थियो। यो अध्ययनले यसको स्रोत र भण्डारबारे पनि जानकारी दियो,” उनले भने।

“अब हामीले उत्पादन परीक्षणबाट भण्डारको विशेषता कस्तो छ, उत्पादन योग्य छ छैन र कति परिमाणमा निकाल्न सकिएला वा कुन प्रविधि चाहिन्छ भन्ने कुराबारे हामीलाई अनुमान हुन्छ।” स्थानीयवासीहरूले दैलेखका ज्वालामाई तथा अन्य स्थानमा प्राकृतिक ग्यास निस्किने र ज्वाला बल्ने गरेको दशकौँदेखि देख्दै आएका छन्। बेलाबेलामा भूकम्पपछि केही स्थानमा ज्वाला ठूलो हुने गरेको स्थानीयवासीहरूले बताउने गरेका छन्।

‘कति ग्यास निकाल्न सकिएला ?

चट्टानयुक्त भूगर्भमा रहेका कारण उक्त स्थानमा रहेको भण्डारणमध्ये १५ देखि २० प्रतिशतसम्म मात्रै ग्यास व्यावसायिक प्रयोजनका लागि उत्खनन गरेर प्रशोधन गर्न सकिने विभागका विज्ञहरूले बताएका छन्। “विदेशी अभ्यासहरू हेर्दा २०-२२ प्रतिशतसम्म निकालिएको छ। कडा चट्टानभित्र भएको फरक खालको ग्यास भएका कारण सबै निकाल्न सकिँदैन,” विभागका खड्का भन्छन्।

“भण्डारबाट (चट्टान) फुटाएर निकाल्नुपर्ने भएकोले एउटै प्रविधिले काम गर्दैन। विभिन्न प्रविधि प्रयोग गर्नुपर्छ।” अधिकारीहरूका अनुसार नेपालमा भेटिएको ग्यास साउदी अरबजस्ता देशमा उत्पादन हुने प्रशोधित ग्यास नभई फरक किसिमको ग्यास हो। यो अमेरिकामा उत्खनन हुने “शेल वा टाइट ग्यास” जस्तो रहेको विभागले जनाएको छ। चट्टानका तहहरूमा “च्यापिएर बसेको” त्यस्तो ग्यास निकाल्न चट्टान छेड्नुपर्ने वा फुटाउनुपर्ने भएकाले भण्डारमा भएको सबै ग्यास निकाल्न नसकिने अधिकारीहरू बताउँछन्।

त्यस्तो ग्यासलाई ‘कम्प्रेसड् न्याचरल ग्यास’ (सीएनजी) वा ‘पाइपलाइन न्याचरल ग्यास’ (पीएनजी)मा रूपान्तरण गर्न सकिन्छ। “सीएनजी, पीएनजी बनाउन वा त्यसबाट विद्युत् उत्पादन गर्न र कृषि मल बनाउने काममा पनि प्रयोग गर्न सकिन्छ,” खड्का भन्छन्। तर उक्त ग्यासको व्यावसायिक उत्पादनको सम्भावनाबारे अध्ययन बाँकी नै रहेका कारण त्यस स्थानमा ग्यास उत्पादनका लागि लाग्ने खर्चअनुसार ठूलो परिमाणमा ग्यास निकाल्न सकिनेबारे अहिले नै भन्न नसकिने अधिकारीहरू बताउँछन्।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जलजलेमा ‘ड्रिलिङ’सहितका अन्वेषण कार्य सञ्चालन गरिएको थियो। नेपालको खानी विभाग र ‘चिनियाँ जिअलजिकल सर्भे, छेन्दु केन्द्र’बीच भएको सहमतिका आधारमा अन्वेषणका निम्ति ‘सिबु ड्रिलिङ इन्जिनियरिङ’ नामक चिनियाँ कम्पनीलाई खटाइएको थियो।

1

Scroll to Top