Banijya News

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री कार्की

1
1.1K Shares

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज बस्ने बैठकमा विभिन्न महत्त्वपूर्ण प्रतिवेदन र प्रस्तावहरू प्रस्तुत हुने कार्यसूची तय गरिएको छ। संसद् सचिवालयका अनुसार दिउँसो १२ः१५ बजे प्रारम्भ हुने बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभामा पेस गर्ने कार्यक्रम रहेको छ।

बैठकको कार्यसूचीअनुसार विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दहालले दुईवटा अध्ययन प्रतिवेदन प्रस्तुत गर्नेछिन्। तीमध्ये ‘सङ्घीय एकाइहरूबीच विधायिकी अन्तर–सम्बन्ध अध्ययन प्रतिवेदन, २०८२’ र ‘बालबालिकासम्बन्धी ऐन, २०७५ मा रहेका बाल सहभागितासम्बन्धी प्रावधानहरूको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ रहेका छन्। यी प्रतिवेदनमार्फत संघीय संरचनाअन्तर्गत कानुनी समन्वय र बाल अधिकारसम्बन्धी व्यवस्थाको कार्यान्वयन अवस्थाबारे जानकारी गराइने अपेक्षा गरिएको छ।

त्यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ तथा त्यसअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूबारे गरिएको अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी छ। यस प्रस्तावमाथि बैठकमा छलफल हुने कार्यसूची रहेको जनाइएको छ। बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने कार्यक्रम रहेको छ।

त्यसैगरी अध्यक्ष दाहालले रामचन्द्र पौडेल बाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पनि सभामा प्रस्तुत गर्नेछन्। राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (३) अनुसार मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसका आधारमा आज राति १२ बजेदेखि लागू हुनेगरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेकी छन्। सोसम्बन्धी औपचारिक जानकारी आजको बैठकमार्फत सदनमा गराइनेछ।

आजको बैठकलाई अधिवेशन अन्त्यपूर्वको अन्तिम बैठकका रूपमा हेरिएको छ, जसमा विभिन्न प्रतिवेदनहरू टेबल हुने र केही प्रस्तावमाथि छलफल प्रारम्भ हुने कार्यतालिका तय गरिएको संसद् सचिवालयले जनाएको छ।

1

Scroll to Top