Banijya News

वैदेशिक रोजगारीको बढ्दो लहर : चार लाख ७२ हजार युवा बाहिरिए

1
1.2K Shares

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । साउनदेखि माघसम्मको अवधिमा मात्रै कुल ४ लाख ७२ हजार छ सय ७२ युवाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा पाइला चालेका छन् ।

यो संख्यालाई दैनिक औसतमा हेर्दा हरेक दिन करिब २ हजार दुई सय ५१ जना नेपाली कामको खोजीमा विदेशिएका देखिन्छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष १० हजार चार सय २२ जना बढीले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकले स्पष्ट पारेको छ ।

विभागका अनुसार यस वर्षको माघ महिनामा मात्रै ७० हजार पाँच सय ३ जनाले वैदेशिक रोजगारीका लागि अनुमति पाएका छन् । महिनागत रूपमा हेर्दा साउनमा ६८ हजार एक सय १०, भदौमा ६७ हजार नौ सय ७२ र असोजमा ६४ हजार छ सय ३४ जना विदेशिएका थिए । चाडपर्वको समय भएकाले असोजमा केही कमी आए पनि कात्तिकमा यो संख्या पुनः बढेर ७३ हजार ९४ पुगेको थियो। मंसिर र पुसमा भने संख्यामा सामान्य गिरावट आउँदै क्रमशः ६५ हजार ७०५ र ६२ हजार ५५३ जनाले श्रम स्वीकृति लिएका थिए। तर माघमा पुग्दा विदेश जानेको संख्या फेरि उकालो लागेको देखिन्छ ।

विगतको तुलनामा वैदेशिक रोजगारीको यो तथ्यांक निकै उच्च भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कुल ७ लाख ३२ हजार नेपाली रोजगारीका लागि बाहिरिएका थिए भने आर्थिक वर्ष २०७९/८० मा यो संख्या ६ लाख ३० हजार ९० थियो । वैदेशिक रोजगारीको इतिहासमा गत वर्षको मंसिर महिनामा ८४ हजार दुई सय २६ जनाले श्रम स्वीकृति लिएको तथ्यांक हालसम्मकै सबैभन्दा ठूलो मासिक रेकर्ड हो । विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीका अनुसार अहिलेकै चापलाई आधार मान्ने हो भने यो वर्षभरि करिब ८ लाख २० हजार नेपाली श्रम बजारको खोजीमा विदेश पुग्ने अनुमान गरिएको छ ।

1

Scroll to Top