२०६४ सालको मधेस आन्दोलनपछि राष्ट्रिय राजनीतिमा शक्तिशाली रूपमा उदाएका तराई–मधेसकेन्द्रित दलहरू यसपटकको प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित रूपमा कमजोर देखिएका छन् । एक समय सरकार बनाउने र ढाल्ने खेलमा निर्णायक भूमिका खेल्दै ‘किङ मेकर’ का रूपमा चिनिएका यी दलहरू अहिले आफ्नो राजनीतिक अस्तित्व जोगाउने संघर्षमा पुगेका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा मधेसकेन्द्रित दलका उम्मेदवारहरू कुनैपनि क्षेत्रमा जित नजिक देखिएका छैनन् । यस्तो अवस्था बनेसँगै उनीहरूले राष्ट्रिय दलको मान्यता समेत गुमाउने लगभग निश्चित भएको विश्लेषण गर्न थालिएको छ ।
नेपालको संघीय राजनीतिमा मधेस आन्दोलनपछि उदाएका दलहरूले करिब दुई दशकसम्म महत्वपूर्ण प्रभाव जमाएका थिए । तर अहिलेको निर्वाचनले ती शक्तिहरूको राजनीतिक यात्रामा ठूलो झट्का दिएको देखिन्छ । मधेस आन्दोलनको लहरमा उदाएका नेताहरूले लामो समयसम्म तराई–मधेसको प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा सन्तुलन कायम राख्ने भूमिका खेलेका थिए । तर अहिलेको निर्वाचन परिणामले उनीहरूको त्यो हैसियत कमजोर हुँदै गएको संकेत दिएको छ ।
यो समाचार तयार पार्दासम्मको मतगणना अवस्थाले मधेसकेन्द्रित कुनै पनि दलले प्रत्यक्षतर्फ एक सिट पनि जित्ने सम्भावना देखाएको छैन। निर्वाचन आयोगको प्रारम्भिक तथ्यांकअनुसार उनीहरू अधिकांश क्षेत्रमा तेस्रो वा चौथो स्थानमा झरेका छन्। यस्तो अवस्थाले उनीहरूको राष्ट्रिय दलको हैसियतसमेत समाप्त हुने अवस्था बनेको छ।
संविधानअनुसार कुनै पनि दलले राष्ट्रिय पार्टीको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने र समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड पार गर्नुपर्ने व्यवस्था छ। तर अहिलेको मतपरिणाम हेर्दा मधेसकेन्द्रित कुनै पनि दलले यी दुवै मापदण्ड पूरा गर्न सक्ने अवस्था देखिएको छैन। यदि यही परिणाम कायम रह्यो भने उनीहरूको राष्ट्रिय राजनीतिक हैसियत गुम्ने निश्चित प्रायः भएको छ।
यस निर्वाचनमा मधेसकेन्द्रित दलहरू विभाजित अवस्थामा चुनावी मैदानमा उत्रिएका थिए। उपेन्द्र यादव र महन्थ ठाकुर नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी लगायतका दलहरू प्रतिस्पर्धामा थिए। त्यसैगरी जनमत पार्टीबाट फुटेर बनेका स्वाभीमान पार्टी र जनअधिकार पार्टीले पनि प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका थिए। तर चुनावी प्रतिस्पर्धामा यी कुनै पनि दलले उल्लेखनीय प्रभाव देखाउन सकेनन्।
विशेषगरी उपेन्द्र यादव र महन्थ ठाकुर नेतृत्वको जसपा नेपाललाई मधेसमा बलियो शक्ति मानिँदै आएको थियो। तर यसपटक उनीहरूको संगठनात्मक शक्ति र जनाधार कमजोर भएको स्पष्ट देखिएको छ। त्यसैगरी सिके राउतको जनमत पार्टीले पनि अघिल्लो निर्वाचनमा पाएको समर्थनलाई यसपटक कायम राख्न सकेन।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले मधेसमा नयाँ शक्ति बन्ने प्रयास गरे पनि मतदाताबाट अपेक्षित समर्थन पाउन सकेन। त्यस्तै जनमत पार्टीबाट फुटेर बनेका स्वाभीमान पार्टी र जनअधिकार पार्टीले पनि चुनावमा प्रभाव जमाउन सकेनन्। परिणामस्वरूप मधेसमा विगतमा प्रभाव जमाएका दलहरू अहिले कमजोर अवस्थामा पुगेका छन्।
यसपटकको निर्वाचनअघि मधेसकेन्द्रित दलहरूबीच एकता गरेर बलियो शक्ति बनाउने प्रयास गरिएको थियो। पुस महिनाको अन्तिम साता जनता समाजवादी पार्टी नेपालसँग तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बीच पार्टी एकीकरण गरिएको थियो। उक्त एकतापछि मधेसमा ठूलो राजनीतिक शक्ति निर्माण हुने नेताहरूले दाबी गरेका थिए।
तर निर्वाचन परिणामले ती दाबीहरूलाई गलत साबित गरिदिएको छ। एकता गरेपछि मधेसमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिए पनि मतदाताले त्यसलाई स्वीकार नगरेको देखिएको छ। यसले मधेसकेन्द्रित दलहरूको संगठनात्मक कमजोरी र नेतृत्वप्रति जनताको असन्तुष्टि प्रकट गरेको विश्लेषकहरू बताउँछन्।
अघिल्लो प्रतिनिधिसभा निर्वाचन अर्थात् २०७९ सालको चुनावमा मधेसकेन्द्रित दलहरूको उपस्थिति अहिलेभन्दा निकै बलियो थियो। त्यसबेला जनता समाजवादी पार्टी नेपालले प्रत्यक्षतर्फ सात सिट र समानुपातिकतर्फ पाँच सिट गरी कुल १२ सिट जित्दै राष्ट्रिय दलको हैसियत कायम गरेको थियो। त्यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टीले पनि उल्लेखनीय सफलता हासिल गर्दै ६ सिट जितेको थियो।
त्यस समय मधेसमा नयाँ राजनीतिक शक्ति उदाएको भन्दै जनमत पार्टीलाई व्यापक चर्चा गरिएको थियो। तर अहिलेको निर्वाचनमा भने जनमत पार्टीको समर्थन घटेको देखिएको छ। मतगणनाको अवस्थाले जनमत पार्टीका उम्मेदवारहरू धेरै क्षेत्रमा पछि परेको देखाएको छ। अघिल्लो निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रत्यक्षतर्फ चार सिट जितेको थियो। तर समानुपातिकतर्फ आवश्यक तीन प्रतिशत मत नकटाउँदा राष्ट्रिय पार्टी बन्न सकेको थिएन। अहिले भने लोसपा अन्य दलसँग एकीकरण भए पनि अपेक्षित परिणाम ल्याउन नसकेको देखिएको छ।
नेपालको राजनीतिक इतिहासमा मधेस आन्दोलनपछि मधेसकेन्द्रित दलहरूको उदय निकै चमत्कारिक मानिन्छ। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमले ५२ सिट जित्दै चौथो शक्तिका रूपमा उदाएको थियो। त्यतिबेला यो परिणामले सम्पूर्ण राजनीतिक वृत्तलाई चकित पारेको थियो।
सोही निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले २१ सिट जितेको थियो। त्यसैगरी २०४६ सालको जनआन्दोलनपछि सक्रिय भएको सद्भावना पार्टीले पनि ९ सिट हासिल गरेको थियो। मधेस आन्दोलनको प्रभावले ती दलहरूलाई राष्ट्रिय राजनीतिमा बलियो स्थान दिलाएको थियो।
तर अहिले करिब १८ वर्षपछि ती शक्तिहरूको राजनीतिक प्रभाव घट्दै गएको देखिन्छ। मधेस आन्दोलनको रापतापमा उदाएका नेताहरूको राजनीतिक यात्रा अहिले ओरालो लागिरहेको विश्लेषण गरिन्छ। मतदाताले नयाँ राजनीतिक विकल्प खोज्न थालेपछि पुराना दलहरू कमजोर भएका हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि जनता समाजवादी पार्टीका नेता मनिष सुमनले अहिलेको अवस्थालाई अन्त्य नभई ‘मध्यान्तर’ का रूपमा व्याख्या गरेका छन्। उनका अनुसार मधेसकेन्द्रित दलहरूको राजनीति समाप्त भएको होइन, बरु केही समयका लागि कमजोर भएको मात्र हो।
सुमनले तराई–मधेसका शक्तिहरू पुनः उदाउने विश्वास व्यक्त गर्दै अहिलेको अवस्थालाई चलचित्रको मध्यान्तरसँग तुलना गरे। उनले भने, “अहिले फिल्म हेर्दाहेर्दै मध्यान्तर भएको जस्तो अवस्था हो। मध्यान्तर सकिएपछि फेरि फिल्म सुरु हुन्छ।”
उनका अनुसार मधेसको राजनीतिक मुद्दा अझै समाप्त भएको छैन। मधेसको पहिचान, अधिकार र प्रतिनिधित्वका सवालहरू अझै कायम रहेकाले मधेसकेन्द्रित दलहरू पुनः बलियो भएर आउने सम्भावना रहेको उनले बताए। मधेसकेन्द्रित दलहरू कमजोर हुनुका कारणबारे उनले नयाँ राजनीतिक लहरलाई जिम्मेवार ठहर गरेका छन्। विशेषगरी ‘बालेन फ्याक्टर’ का कारण मधेसमा मतदाताको झुकाव परिवर्तन भएको उनको भनाइ छ।
सुमनका अनुसार बालेन शाह मधेसी समुदायसँग सम्बन्धित व्यक्ति भएकाले मधेसका मतदातामा उनीप्रति आकर्षण बढेको थियो। त्यसमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि मधेसमा नयाँ उत्साह पैदा भएको उनले बताए।
उनले भने, “बालेन शाह मधेसी हुन् र रास्वपाले उनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा ग¥यो। मधेसको छोरो प्रधानमन्त्री बनोस् भन्ने चाहनाले मधेसमा बालेनको पक्षमा लहर आयो। त्यही लहरले हाम्रा दलहरू पछि परे।”
राजनीतिक विश्लेषक तुलानारायण साहले पनि यसपटकको निर्वाचनमा आएको नयाँ राजनीतिक लहरले मधेसका पुराना शक्तिहरूलाई कमजोर बनाएको टिप्पणी गरेका छन्। उनका अनुसार मतदाताले पुराना दलहरूभन्दा नयाँ विकल्प रोज्न थालेपछि यस्तो परिणाम आएको हो। साहले भने, “अहिले आएको लहरमा नेपाली कांग्रेस र एमाले जस्ता ठूला दलहरू समेत कमजोर देखिएका छन् भने मधेसकेन्द्रित दलहरू अझ बढी प्रभावित हुनु स्वाभाविक जस्तै देखियो।”
उनका अनुसार मधेसमा लामो समयदेखि एउटै नेतृत्व हावी रहँदा मतदातामा निराशा बढेको थियो। त्यसैले मतदाताले यसपटक परिवर्तनको पक्षमा मतदान गरेको हुन सक्छ। यस निर्वाचनको अर्को उल्लेखनीय पक्ष भनेको मधेसका ‘हेविवेट’ नेताहरू समेत पराजयको संघारमा पुग्नु हो। विगतमा लगातार चुनाव जित्दै आएका प्रभावशाली नेताहरू अहिले पछि परेका छन्।
२०३८ सालदेखि निरन्तर चुनाव लड्दै आएका शरत्सिंह भण्डारी यसपटक महोत्तरी–२ बाट उम्मेदवार बनेका थिए। तर मतगणनामा उनी पछि परेको देखिएको छ। त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सप्तरी–३ बाट पछि परेका छन्।
महन्थ ठाकुरकी छोरी मीनाक्षी ठाकुर महोत्तरी–३ बाट उम्मेदवार बनेकी थिइन्। तर उनी पनि मतगणनामा अग्रस्थानमा देखिएकी छैनन्। त्यस्तै राष्ट्रिय मुक्ति पार्टीका नेता राजेन्द्र महतो सर्लाही–२ बाट चुनावी मैदानमा थिए, तर उनी पनि पछि परेका छन्। त्यसैगरी जनमत पार्टीका अध्यक्ष सीके राउत पनि सप्तरी–२ बाट उम्मेदवार बनेका थिए। तर मतगणनाको अवस्थाले उनी पनि अग्रता लिन नसकेको देखाएको छ। यसरी मधेसका प्रभावशाली नेताहरू एकैपटक कमजोर देखिनु नेपालको राजनीतिक इतिहासमै उल्लेखनीय घटना मानिएको छ। यसले मधेसको राजनीतिमा नयाँ युग सुरु हुन सक्ने संकेत गरेको विश्लेषकहरू बताउँछन्।
राजनीतिक विश्लेषकहरूका अनुसार मधेसकेन्द्रित दलहरूको भविष्य अब उनीहरूले आफूलाई कसरी पुनर्गठन गर्छन् भन्नेमा निर्भर रहनेछ। यदि उनीहरूले संगठन बलियो बनाउन सकेनन् भने मधेसको राजनीति राष्ट्रिय दलहरूले नै नियन्त्रण गर्ने सम्भावना बढ्न सक्छ। तर केही विश्लेषकहरू भने मधेसको पहिचान र अधिकारको मुद्दा अझै जीवित रहेकाले मधेसकेन्द्रित दलहरूको राजनीति पूर्ण रूपमा समाप्त नहुने तर्क गर्छन्। उनीहरूका अनुसार मधेसको राजनीतिक चेतना अझै बलियो भएकाले भविष्यमा फेरि नयाँ रूप र नेतृत्वसहित मधेसकेन्द्रित राजनीति उदाउन सक्छ।
यसरी हेर्दा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनले मधेसकेन्द्रित दलहरूको राजनीतिक यात्रामा ठूलो मोड ल्याएको देखिन्छ। एक समय राष्ट्रिय राजनीतिमा निर्णायक बनेका यी शक्तिहरू अहिले अस्तित्व जोगाउने संघर्षमा पुगेका छन्। अब आगामी दिनमा उनीहरूले कसरी आफूलाई पुनर्गठन गर्छन् र जनताको विश्वास पुनः प्राप्त गर्छन् भन्ने कुरा नै मधेसको राजनीतिक भविष्य निर्धारण गर्ने प्रमुख आधार बन्ने देखिएको छ।


