Banijya News

निर्वाचन प्रहरीलाई फागुन २८ मा सम्मान सहित बिदाइ गरिने

1
1.2K Shares

प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाको लागी भर्ना गरिएका निर्वाचन प्रहरीहरूले आफ्नो कार्यअवधि पूरा गरेका छन् । ४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गर्नेगरी नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो । फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतगणना पनि सार्वजनिक भैसकेको अवस्थामा निर्वाचन प्रहरीलाई बिदाइ गर्ने तयारी गरिएको छ ।

सशस्त्र प्रहरी बलले पनि फागुन २८ मा निर्वाचन प्रहरीलाई बिदाइ गर्ने भएको छ । सशस्त्रले निर्वाचन सुरक्षामा १५ हजार ११० जना निर्वाचन प्रहरीलाई परिचालन गरेको थियो । निर्वाचन प्रहरीलाई ४० दिन निर्वाचन सुरक्षामा खटिएबापत सरकारले ३४ हजार ७७६ रुपैयाँ तलब प्रदान गरेको छ । त्यसबाहेक उनीहरूले रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च पाएका छन् । निर्वाचन प्रहरीले ४ दिनको लागी दैनिक ३ सयको दरले खाजा खर्च पाउनेछन् । पोसाक बापत छुट्टै रकम उपलब्ध गराइएको प्रहरी प्रवक्ता (डीआईजी) काफ्ले बताए ।

निर्वाचनमा दुई वटा सङ्गठनले कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरेका छन् । उनीहरूको लागि सेवा सुविधामा करिब ७ अर्ब ८३ करोड खर्च भएको सुरक्षा अधिकृतहरु बताउँछन् । नेपाल प्रहरीले मात्रै निर्वाचन प्रहरीको लागी ७ अर्ब १३ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ । सशस्त्रले करिब ७० करोड खर्च गरेको छ ।

1

Scroll to Top