गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका कारण भएको क्षतिको बिमा दाबीमा कम्पनीहरूले सात अर्ब एक करोड ५५ लाख रुपैयाँ भुक्तानी दिएका छन् । नेपाल बिमा प्राधिकरणबाट प्राप्त फागुन मसान्तसम्मको तथ्यांकअनुसार आन्दोलनका कारण बिमा कम्पनीहरूमा २३ अर्ब ३८ करोड ८१ लाख रुपैयाँबराबरका तीन हजार तीन सय ५५ वटा दाबी परेका छन् ।
त्यसमा हालसम्म सोबराबरको भुक्तानी भएको हो । नेपाल बिमक संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सिइओ चंकी क्षेत्रीले दाबी भुक्तानी नियमित रूपमा भइरहेको बताए । ‘सर्भे गर्नुपर्ने र आवश्यक कागजात मिलाउनुपर्दा दाबी प्रक्रिया लामो हुन्छ । यद्यपि, यो परिस्थितिलाई दृष्टिगत गर्दै कम्पनीहरूले आंशिक रूपमा अग्रिम भुक्तानी पनि दिएका थिए । हालसम्म अधिकांश दाबीको सर्भे सकिएको छ । आवश्यक कागजात मिलाउने काम भइरहेको छ,’ उनले भने, ‘प्रक्रिया पूरा भएपछि पूर्ण दाबी भुक्तानी हुन्छ ।’सरकारले पनि प्रारम्भिक प्रतिवेदनका आधारमा ५० प्रतिशत अग्रिम भुक्तानी गर्न ५ असोजमै निर्देशन दिएको थियो । तर, त्योअनुसार अझै ५० प्रतिशत भुक्तानी भएको देखिन्न ।
प्राधिकरणको तथ्यांकअनुसार अब कम्पनीहरूले १६ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । आवश्यक पक्रिया पूरा भएपछि बाँकी दाबी पनि भुक्तानी हुने कम्पनीहरू बताउँछन् । यद्यपि, सर्भेयरको अन्तिम प्रतिवेदन तयार हुँदा यो रकम थपघट हुन सक्नेछ । बिमा कम्पनीहरूले नियमित रूपमा दाबी भुक्तानी दिए पनि उनीहरूले पुनर्बिमा कम्पनीबाट पाउनुपर्ने भुक्तानीमा भने ढिलाइ भएको गुनासो गरेका छन् । यो हुलदंगा तथा आतंकवाद जोखिमअन्तर्गतको दाबी हो ।
नेपालमा यो जोखिमको पुनर्बिमा नेपाल रि इन्स्योरेन्स कम्पनीले गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार बिमा कम्पनीहरूले यसअघि नै नेपाल रिमा यसको पुनर्बिमा गरेका थिए । तर, कम्पनीहरूले नेपाल रिमा दाबी पेस गरे पनि भुक्तानी भने छिटो–छरितो पाउन नसकेको गुनासो गरेका छन् । कम्पनीहरूले नेपाल रिमा झन्डै १६ अर्बबराबरको पुनर्बिमा पेस गरेका छन् । त्यसमा करिब तीन अर्बबराबरको भुक्तानी नेपाल रिले गरेको छ, बाँकी प्रक्रियामा छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा धेरै दुई अर्ब १४ करोड ७९ लाख रुपैयाँ भुक्तानी दिएको छ । धेरै दाबी भुक्तानी दिने दोस्रो नम्बरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स छ । उक्त कम्पनीले एक अर्ब १३ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले ९३ करोड ९४ लाख रुपैयाँ भुक्तानी गरेको छ । यस्तै, दी ओरियन्टलले ३१ करोड १९ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले ४५ करोड ७८ लाख रुपैयाँ, नेकोले ३४ करोड ७२ लाख रुपैयाँ, हिमालयन एभरेस्टले ४७ करोड ७३ लाख रुपैयाँ र सानिमा जिआइसीले २८ करोड ८६ लाख रुपैयाँ भुक्तानी दिएका छन् । यस्तै, एनएलजीले २८ करोड ८६ लाख रुपैयाँ, युनाइटेड अजोडले १३ करोड ७४ लाख रुपैयाँ, राष्ट्रिय बिमा कम्पनीले एक करोड ५० लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले ३२ करोड २० लाख रुपैयाँ भुक्तानी दिएका छन् । यस्तै, प्रभुले दुई करोड ५७ लाख रुपैयाँ र नेसनलले ६४ लाख रुपैयाँ भुक्तानी दिएको तथ्यांकमा उल्लेख छ । लघुबिमातर्फ प्रोटेक्टिभ माइक्रोले ७७ लाख ६३ हजार रुपैयाँ, स्टार माइक्रोले ५१ लाख १६ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ३६ लाख ९६ हजार रुपैयाँ र नेपाल माइक्रोले ३२ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरेको प्राधिकरणको तथ्यांक छ ।
तथ्यांकअनुसार सम्पत्ति बिमातर्फ १८ अर्ब ९९ करोड १४ बराबरका सात सय २० वटा दाबी परेका छन्, त्यसमा चार अर्ब ९१ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।यस्तै, मोटर बिमामा तीन अर्ब ४१ करोड ५४ लाख रुपैयाँबराबरका दुई हजार तीन सय ३८ वटा दाबी परेका छन् । त्यसमा हालसम्म एक अर्ब ८६ करोड ८७ लाख भुक्तानी गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमामा ५६ करोड १९ लाखबराबरका दुई सय २९ वटा दाबी परेका थिए, त्यसमा ५६ करोड १९ लाख भुक्तानी गरेको देखिन्छ ।
परिवहन बिमातर्फ एक करोड ६१ लाखबराबरका १२ वटा दाबी परेका थिए, त्यसमा एक करोड ६४ लाख रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । अन्य बिमामा ३९ करोड ६१ लाखबराबरका ५६ वटा दाबी परेका थिए, त्यसमा हालसम्म आठ करोड ७८ लाख अग्रिम भुक्तानी गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।


