Banijya News

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, को हुन् शाह ?

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालय प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

शाहले आजै शुभ साइत पारेर प्रधानमन्त्रीको शपथ लिँदै छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी छ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।

शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर शाह फागुन २१ गते भएको प्रतिनीधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट भारी मतले विजयी भएका हुन्। प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुभन्दा केही दिनअघि मेयरबाट राजीनामा दिएका उनी रास्वपामा वरिष्ठ नेताको पदसहित प्रवेश गरेका हुन्। रास्वपा शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा गएको थियो। रास्वपाले पूर्वघोषणाअनुरुप शाहलाई प्रधानमन्त्री बनाउन संसदीय दलको नेता चयन गरेको छ। शाहले शुक्रबार कार्यकारी प्रधानमन्त्री पदको शपथसँगै मुलुकको बागडोर सम्हाल्ने छन्।

शाहको जन्म १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा भएको हो। उनी हाल गैरिगाउँ, तिनकुनेका बासिन्दा हुन्। आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धुव्रादेवी साह उनका मातापिता हुन्। उनको पुख्र्यौली थलो मधेस प्रदेशको महोत्तरी जिल्ला हो।

काठमाडौं नरदेवीस्थित जल्जला स्कुलबाट प्रारम्भिक शिक्षा लिएका उनले उच्च माध्यमिक तहको शिक्षा भिएस निकेतनबाट पास गरेका हुन्। उनले स्नातक तहको अध्ययन काठमाडौंमै रहेको हिमालयन ह्वाइट हाउस कलेजबाट पूरा गरेका हुन्। त्यहाँ उनले सिभिल इन्जिनियरिङ अध्ययन गरेका थिए। उनले स्नातकोत्तर तहको अध्ययन भारतमा गरेका हुन्। भारतको कर्नाटकबाट स्ट्रकचरल इन्जिनिरिरिङ अध्ययन पूरा गरेका शाहलाई निर्माणसम्बन्धी कार्यको अनुभव पनि छ।

२०७२ सालको भूकम्पपछि देशका विभिन्न स्थानमा पुगेर उनी पुनःनिर्माणको काममा संलग्न भएका थिए। भूकम्प र कोभिड महामारीका बेला विभिन्न तरिकाले सामाजिक र पेसागत कार्यमा सक्रिय रहेका उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट निर्वाचित भए। बालेन कन्सल्टिङ र कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत भएर काम गरेका उनी ¥याप ब्याटल गायक पनि हुन्।

उनी नेपाली ¥याप ब्याटल दोस्रो लिगका विजेता पनि हुन्। उनी लामो समयदेखि संगीतको यो विधामा संलग्न छन्। ¥याप गायक उनका देश विदेशमा थुप्रै प्रशंसक छन्। सानैदेखिे संगीत र कवितामा पनि रुचि राख्ने उनले आफ्नो पहिलो गीत ‘सडक बालक’ सन् २०१२ मा गाएका थिए। यो गीत उनले कक्षा ९ मा पढ्दा लेखेको बताइन्छ।

1

Scroll to Top