आगामी आर्थिक वर्षमा पुँजीगत खर्च ४.६४ प्रतिशतले घट्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष अर्थ मन्त्रालयका अधिकारीहरूले आगामी आर्थिक वर्ष ०८३/८४ मा चालू आर्थिक वर्षको भन्दा ४.६४ प्रतिशत कम पुँजीगत खर्च हुने अनुमान पेस गरेका छन् । राष्ट्रिय स्रोत अनुमान समितिबाट प्राप्त बजेटको सीमा उल्लेख गर्दै आगामी आवको पुँजीगत खर्च घट्ने अनुमान प्रस्तुत गरेका हुन् । संघीय सरकारको खर्च र आम्दानीबीच सन्तुलन बिग्रँदै जाँदा सार्वजनिक वित्त (सञ्चित कोष) मा एक खर्ब २७ अर्ब रुपैयाँ घाटा पुगेको छ । ३० फागुनसम्मको तथ्यांकअनुसार सञ्चित कोषमा उच्च घाटा देखिएको छ।
यद्यपि, चालू आर्थिक वर्षको पहिलो आठ महिनाको तथ्यांक हेर्दा सञ्चित कोष ७३ अर्ब रुपैयाँले धनात्मक रहेको देखिन्छ। यस अवधिमा कुल प्राप्ति १० खर्ब रुपैयाँ पुगेको छ भने खर्च नौ खर्ब २७ अर्ब रुपैयाँ कायम भएको छ । तर अघिल्लो आर्थिक वर्ष ०८१/८२ सम्मको दुई खर्ब रुपैयाँ घाटाको दबाब अझै कायम रहेकाले समग्र वित्तीय अवस्था चुनौतीपूर्ण रहेको मन्त्रालयले जनाएको छ। चालू आवको आठ महिनामा कुल प्राप्ति १० खर्ब भएकोमा खर्च नौ खर्ब २७ अर्ब कायम रहेकाले सञ्चित कोष धनात्मक देखिएको हो । तर, आव ०८१/८२ सम्मको घाटा दुई खर्ब कायम रहेकाले त्यसको दबाब अझै रहेको छ ।
मन्त्रालयमा कर्मचारीहरूले पुँजीगत खर्च वृद्धि हुन नसक्नु, सार्वजनिक लगानी व्यवस्थापन नहुनु र चालू खर्च नियन्त्रण गर्न नसक्नुलाई विद्यमान चुनौतीका रूपमा पेस गरेका थिए । राजस्व संकलनमा दिगोपन कायम राख्न नसकिएको, निजी क्षेत्रको मनोबल र लगानीको वातावरण चुनौतीपूर्ण देखिएको उनीहरूले बताएका छन् । साथै, सुस्त आर्थिक वृद्धिदरलाई पनि अर्थ मन्त्रालयका अधिकारीहरूले प्रमुख चुनौतीका रूपमा अथ्र्याएका छन् । राजस्व प्रशासनलाई सदाचारयुक्त, व्यावसायिक र प्रविधिमैत्री बनाउनु आवश्यकता रहेको उनीहरूले प्रस्तुतीकरणमा औँल्याएका थिए ।
चालू आव ०८२/८३ को पुँजीगत बजेट तीन खर्ब ८४ अर्ब ९७ करोड रुपैयाँ छ । आगामी आर्थिक वर्षका लागि भने तीन खर्ब ६७ अर्ब १० करोड मात्रै पुँजीगत बजेट खर्च हुने अनुमान समितिले गरेको छ । अर्थात् चालू आवको विनियोजनको तुलनामा १७ अर्ब ८७ करोड कमको सीमा समितिले अर्थ मन्त्रालयलाई दिएको हो । त्यसो त मध्यावधि समीक्षामार्फत अर्थ मन्त्रालयले यो वर्ष दुई खर्ब ४३ करोड ३० लाख मात्रै पुँजीगत खर्च गर्ने संशोधित अनुमान सार्वजनिक गरिसकेको छ ।
चालू खर्चको सीमा भने चालू आवको विनियोजनभन्दा २.९४ प्रतिशतले बढाएको छ । चालू आवमा सात खर्ब ३३ अर्ब ६९ करोडको चालू बजेट रहेकोमा आगामी आवमा सात खर्ब ५५ अर्ब २४ करोडसम्मको सीमा दिइएको छ । ऋणको साँवा–ब्याज भुक्तानी (वित्तीय व्यवस्था)तर्फ तीन खर्ब ४८ अर्ब मात्रै सीमा कायम छ । यो चालू आवको तीन खर्ब ६८ अर्बभन्दा ५.३३ प्रतिशतले कम हो । प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने बजेटको सीमा भने चालू आवको तुलनामा १.३९ प्रतिशतले बढाइएको छ । चार खर्ब १३ अर्ब ३९ करोड वित्तीय हस्तान्तरण हुने चालू आवको अनुमान छ । आगामी आवमा यो चार खर्ब १९ अर्ब १५ करोडसम्म पु¥याउन सकिने समितिले उपलब्ध गराएको सीमामा उल्लेख छ ।
समग्रमा अर्थमन्त्री वाग्लेलाई स्रोत समितिले १८ खर्ब ९० अर्ब ४४ करोडबराबरको बजेटको सीमा निर्धारण गरिदिएको छ । यो चालू आवको विनियोजनभन्दा ०.५४ प्रतिशत कम हो । १५ फागुनमा अर्थ मन्त्रालयले प्राप्त बजेट सीमालाई मन्त्रालय तथा निकायगत विभाजन गरी मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गरिसकेको छ ।


