Banijya News

पूर्व गृहमन्त्री रमेश लेखक हिरासतमा, गोली हान्न आदेश नदिएको दाबी

1
1.1K Shares

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको बयान सकिएको छ । अनुसन्धान अधिकृत र सरकारी वकिलले बुधबार साँझ उनको बयान लिएका हुन् । अनुसन्धानका क्रममा अधिकृतहरूले लेखकलाई भदौ २३ मा काठमाडौंको बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्नेबारे सोधपुछ गरेका थिए । 

अनुसन्धान अधिकृतहरूसँगको बयानमा लेखकले किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आफूले आदेश दिएको आरोप अस्वीकार गरेका छन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लेखक र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्यान सम्बन्धी कसुरमा समेत मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीले लेखकलाई चैत १४ गते पक्राउ गरेको हो ।    

लेखकले भिड नियन्त्रण आफ्नो कार्यक्षेत्रमा नपर्ने दाबी गरेका छन् । उनले बयानमा भनेका छन्, भिड नियन्त्रण मेरो कार्यक्षेत्रमा पर्दैन । जिल्ला सुरक्षा समितिले निर्णय गरेर भिड नियन्त्रण गरिने उल्लेख गर्दै लेखकले भनेका छन्, ‘कसैले सोधे कानुन बमोजिम गर्नु भनेको हुँला’ ।  हुलदंगा हुँदा बल प्रयोग स्थलगत परिस्थितिको आधारमा खटिएका अधिकारीले निर्णय गर्ने विषय भएको लेखकले बताएका छन् । उनले बयानमा भनेका छन्, ‘यस्ता विषयमा गृहमन्त्रीले प्रत्यक्ष आदेश दिने अभ्यास पनि छैन । आईजीपीले गृहमन्त्रीसँग अन्तिम बल प्रयोगका लागि लिखित वा मौखिक आदेश लिने कानुनी व्यवस्था र व्यवहारिक अभ्यास छैन’ । 

लेखकले आईजीपीले आदेश मागेको र आफूले गोली प्रहार गर्न आदेश दिएको कुरा अस्वीकार गरेका छन् । गृहमन्त्रीले फिल्डमा प्रत्यक्ष आदेश नदिने उल्लेख गर्दै उनले भनेका छन्, तर, नीतिगत निर्देशन, समन्वय र राजनीतिक तहबाट आवश्यक सहजीकरण गर्ने जिम्मेवारी निर्वाह गरेको स्पष्ट पार्छु । शान्ति सुरक्षाको कार्यसम्पादन गर्ने जिम्मेवारी कानुन अनुसार गृह मन्त्रालय मातहतका निकायमार्फत हुँदै आएको लेखकको भनाइ छ । उनले गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूलाई बल प्रयोग गर्दा हताहती नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् र समन्वयात्मक रूपमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन आफूले निर्देशन दिएको बयानमा उल्लेख गरेका छन् ।

एकजना अनुसन्धान अधिकृतले लेखकको बयान उद्धृत गर्दै भने, घुसपैठप्रति सतर्क रहन निर्देशन दिएको थिएँ, संसद भवन जोगाउनुपर्छ भन्ने मेरो धारणा थियो । तर, अन्तिम बल प्रयोग अर्थात् गोली प्रहार गर्न भनी मैले कुनै आदेश दिएको थिइनँ ।

1

Scroll to Top