Banijya News

संवादबाटै राजस्व वृद्धि गर्न वीरगञ्ज भन्सारलाई अर्थमन्त्री वाग्लेको निर्देशन

1
1.1K Shares

अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीहरूलाई लक्ष्यभन्दा बढी राजस्व उठाउनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले उद्योगी–व्यवसायीलाई डर देखाएर वा अनावश्यक दबाब सिर्जना गरेर होइन, संवाद र सहकार्यको माध्यमबाट राजस्व वृद्धि गर्न आग्रह गरेका छन्।

आज वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा मन्त्री वाग्लेले राजस्व लक्ष्य पूरा गर्न कर्मचारीहरूलाई प्रोत्साहित गर्दै उद्योगी–व्यवसायीमैत्री वातावरण कायम राख्दै राजस्व सङ्कलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले लक्ष्यअनुसार राजस्व उठाउने क्रममा उद्योगी–व्यवसायीमाथि अनावश्यक धरपकड वा छापा मार्ने प्रवृत्ति बढ्न सक्ने उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सुझाव दिएका हुन्।

“राजस्व लक्ष्य पूरा गर्नुपर्ने दबाब हुन्छ, तर त्यसका कारण उद्योगी–व्यवसायीलाई मारमा पार्ने काम हुनु हुँदैन,” उनले भने, “उद्योगी–व्यवसायीलाई तर्साएर होइन, फकाएर र संवादमार्फत राजस्व उठाउने वातावरण बनाउनुपर्छ।”

मन्त्री वाग्लेले भन्सार क्षेत्रमा घुस लेनदेनका गुनासाहरू आउने गरेको भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न कर्मचारीहरूलाई सचेत गराए। उनले भ्रष्टाचारलाई शून्य सहनशीलताको नीति अन्तर्गत नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए। “भ्रष्टाचारलाई मलजल गर्ने व्यक्ति वा समूहविरुद्ध राज्य निर्मम भएर अघि बढ्नेछ। मौजुदा कानुन कार्यान्वयन गरेर दोषीलाई कारबाही गरिनेछ,” उनले स्पष्ट पारे।

उनले सरकारको नीति सदाचार र पारदर्शितामा आधारित रहेको भन्दै माथिल्लो तहबाटै सुशासनको अभ्यास अघि बढाइएको बताए। त्यसको प्रभाव तल्लो तहसम्म देखिनुपर्ने उल्लेख गर्दै उनले भन्सार प्रशासनलाई पनि सोही अनुसार काम गर्न आग्रह गरे।

अर्थमन्त्री वाग्लेले राम्रो काम गर्ने कर्मचारीलाई सम्मान र प्रोत्साहन गर्ने तथा खराब काम गर्नेहरूलाई हतोत्साहित गर्ने नीति सरकारले लिएको बताए। “राम्रो काम गर्ने कर्मचारीहरूलाई पुरस्कृत गरिनेछ भने खराब काम गर्नेलाई कारबाहीको दायरामा ल्याइनेछ,” उनले भने।

बजार अनुगमनका क्रममा हुने सम्भावित दुरुपयोगप्रति पनि सचेत रहन उनले सम्बन्धित निकायलाई आग्रह गरे। उनले बजार अनुगमन आवश्यक भए पनि त्यसलाई व्यक्तिगत स्वार्थ वा अनावश्यक दबाब सिर्जना गर्ने माध्यम बन्न नदिन निर्देशन दिए।

मन्त्री वाग्लेले कडाइ गरेर छोटो समयका लागि मात्रै राजस्व बढाउन सकिने भए पनि दीर्घकालीन रूपमा उद्योगी–व्यवसायीलाई निरुत्साहित गर्ने अवस्था आउन नदिनुपर्ने बताए। “एक वर्ष कडाइ गरेर राजस्व बढाउन सकिएला, तर त्यसले व्यवसाय गर्ने वातावरण बिगार्न सक्छ,” उनले भने, “त्यसैले व्यवसायमैत्री वातावरण कायम गर्दै दीर्घकालीन रूपमा राजस्व बढाउने रणनीति आवश्यक छ।”

उनले सरकारले लिएको महत्वाकांक्षी राजस्व लक्ष्य पूरा गर्न सबै निकायले इमानदार प्रयास गर्नुपर्ने पनि बताए। लक्ष्य पूरा भएमा त्यसको मूल्यांकन हुने र कर्मचारीहरू सरकारको ध्यानमा आउने उनले बताए।

मन्त्री वाग्लेले अहिलेको समय विगतभन्दा फरक रहेको उल्लेख गर्दै सेवा प्रवाहमा नयाँ सोच, नयाँ कार्यशैली र पारदर्शिता आवश्यक भएको बताए। “समयले काँचुली फेरेको छ। अब नयाँ चाल र लयलाई समात्नुपर्छ,” उनले भने, “जनताले सरकारी सेवा प्रवाहमा नयाँ अनुभव गर्न पाउनुपर्छ।”

1

Scroll to Top