Banijya News

दुई दिने साप्ताहिक बिदाले शैक्षिक क्यालेण्डर प्रभावित हुनसक्ने चिन्ता

1
1.1K Shares

पेट्रोलियम पदार्थको खपत घटाउने र वैदेशिक मुद्रा सञ्चिति जोगाउने उद्देश्यसहित सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसको प्रभाव शिक्षाक्षेत्रमा पर्न सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) का उपाध्यक्ष विष्णु पराजुलीले दुई दिने साप्ताहिक बिदाले शैक्षिक क्यालेण्डर अव्यवस्थित हुने सम्भावना रहेको बताएका छन्।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष पराजुलीले शनिबार र आइतबार बिदा दिँदा वर्षभरि कुल १०४ दिन बिदा हुने र त्यसमा धार्मिक तथा सांस्कृतिक पर्वका अतिरिक्त बिदा थपिँदा पढाइका लागि उपलब्ध कार्यदिन निकै घट्ने बताए। उनका अनुसार कार्यदिन कम हुँदा नेपाल सरकारले निर्धारण गरेको विस्तृत पाठ्यक्रम निर्धारित समयमा पूरा गर्न कठिन हुने देखिन्छ।

पराजुलीका अनुसार नेपालको विद्यालयस्तरीय पाठ्यक्रम अन्तर्राष्ट्रिय स्तरको र तुलनात्मक रूपमा विस्तृत छ। यस्तो अवस्थामा पठन–पाठनका दिन घटाउनु र शैक्षिक सत्र पनि ढिलो सुरु गर्नु शिक्षा प्रणालीका लागि चुनौतीपूर्ण हुन सक्ने उनको भनाइ छ। “एकातिर कार्यदिन घटाउने र अर्कोतिर शैक्षिक सत्र ढिलो सुरु गर्ने हो भने शिक्षामा राखिएको लक्ष्य हासिल गर्न गाह्रो पर्छ,” उनले भने।

उनले हालको युवा नेतृत्वको सरकारले पेट्रोलियम आपूर्ति सहज हुनेबित्तिकै उक्त निर्णयमा पुनर्विचार गर्नुपर्ने सुझाव पनि दिएका छन्। पराजुलीका अनुसार दीर्घकालीन रूपमा शिक्षाको गुणस्तर र शैक्षिक उपलब्धिलाई ध्यानमा राख्दै हप्तामा एक दिन मात्र साप्ताहिक बिदाको व्यवस्था गर्नु उपयुक्त हुने देखिन्छ।

यसैबीच सरकारले शैक्षिक सत्र सुरु हुने मिति पनि १५ दिन पर सार्ने निर्णय गरेको छ। यस निर्णयले पनि शैक्षिक क्यालेण्डरमा थप दबाब पर्ने पराजुलीको भनाइ छ। उनका अनुसार शैक्षिक सत्र वैशाख १ गतेबाट सुरु हुने प्रचलनलाई वैशाख १५ गतेसम्म धकेल्दा पठन–पाठनको समय अझै कम हुने र विद्यालय व्यवस्थापनमा थप आर्थिक बोझ पनि पर्न सक्छ।

“शैक्षिक सत्र सुरु हुने मिति पर सार्दा थप १५ दिन जति समय खाली जस्तो हुन्छ, जसले विद्यालयको व्यवस्थापन खर्च बढाउँछ,” उनले भने। संकट समाधानका लागि अस्थायी उपायको रूपमा बिदा बढाउनेभन्दा पनि दीर्घकालीन समाधान खोजिनुपर्नेमा उनले जोड दिएका छन्।

पराजुलीले सार्वजनिक सेवा प्रवाहका लागि निर्धारण गरिएको कार्यालय समय पनि व्यवहारिक नभएको टिप्पणी गरेका छन्। सरकारले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय निर्धारण गरेको छ। तर बिहानको समयमा घरायसी जिम्मेवारी र बालबालिकाको व्यवस्थापन गर्नुपर्ने भएकाले कर्मचारी तथा सेवाग्राही दुवैका लागि ९ बजे कार्यालय पुग्न चुनौतीपूर्ण हुन सक्ने उनले बताए।

उनका अनुसार दुई दिने साप्ताहिक बिदाको सामाजिक र आर्थिक प्रभाव पनि देखिन थालेको छ। विशेषगरी दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा कामकाजी अभिभावकका लागि यो व्यवस्था थप बोझ बन्न सक्ने उनको भनाइ छ।

“हप्तामा दुई दिन विद्यालय बन्द हुँदा बालबालिकामा मोबाइल प्रयोगको लत बढ्ने, अभिभावकको निगरानी कम हुँदा कुलतमा लाग्ने जोखिम बढ्ने र सुरक्षासम्बन्धी चुनौती समेत देखिन सक्छ,” उनले भने। साथै बालबालिकाको हेरचाहका लागि अभिभावकमध्ये एकजनाले घरमै बस्नुपर्ने अवस्था आएमा त्यसले परिवारको दैनिक आम्दानीमा पनि प्रत्यक्ष असर पर्ने उनको तर्क छ।

शिक्षा क्षेत्रका सरोकारवालाहरूले ऊर्जा संकट समाधानका लागि गरिएको यस्तो निर्णयले दीर्घकालीन रूपमा शिक्षा प्रणालीमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सरकारले समयमै समीक्षा गर्नुपर्ने सुझाव दिएका छन्।

1

Scroll to Top