Banijya News

निर्माण उद्योगका समस्या समाधान गरिने मन्त्री लम्सालको प्रतिबद्धता

1
1.1K Shares

भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री सुनिल लम्सालले निर्माण उद्योगमा देखिएका विद्यमान समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटवार्ताका क्रममा उनले निर्माण क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने योजनाबारे जानकारी दिएका हुन्।

मन्त्री लम्सालले निर्माण उद्योगमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै भ्रष्टाचारमुक्त प्रणाली निर्माण गर्ने लक्ष्य सरकारको रहेको बताए। उनका अनुसार आगामी दिनमा निर्माणसम्बन्धी सम्पूर्ण प्रक्रियालाई प्रविधिमार्फत पारदर्शी बनाइनेछ, जसले अनियमितता र ढिलासुस्तीलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

पश्चिम एसियामा जारी युद्धका कारण इन्धन तथा निर्माण सामग्रीको मूल्यमा भएको अत्यधिक वृद्धि निर्माण क्षेत्रका लागि ठूलो चुनौती बनेको उनले उल्लेख गरे। यस्तो अवस्थामा व्यवसायीहरूलाई परेको असर सम्बोधन गर्न सरकार तयारी अवस्थामा रहेको भन्दै उनले दुई हप्ताभित्रै मूल्यवृद्धि समायोजनसम्बन्धी निर्देशिका जारी गरिने जानकारी दिए। साथै, एक वर्ष अवधिका ठेक्काहरूमा पनि मूल्यवृद्धिको समायोजन गर्न सकिने व्यवस्था गरिने उनले बताए।

निर्माण व्यवसायीहरूले बारम्बार उठाउँदै आएको भुक्तानी समस्याबारे पनि मन्त्री लम्सालले ध्यानाकर्षण भएको बताएका छन्। उनले अब उप्रान्त भुक्तानीमा ढिलाइ नहोस् भनेर आवश्यक रकमान्तर गर्ने निर्णय भइसकेको जानकारी दिए। यसले निर्माण कम्पनीहरूले लामो समयदेखि भोग्दै आएको आर्थिक दबाब कम हुने अपेक्षा गरिएको छ।

मोबिलाइजेसन पेस्कीको सदुपयोग भए वा नभएको अनुगमन गर्न विशेष प्रणाली स्थापना गरिएको मन्त्री लम्सालले बताए। उनका अनुसार आगामी दिनमा भुक्तानी तथा भेरिएसन अर्डर (भिओ) मा अनावश्यक ढिलाइ गर्ने आयोजना प्रमुखहरूलाई नै जिम्मेवार बनाइनेछ। यसले निर्माण परियोजनाको गति बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

यसैबीच सार्वजनिक खरिद ऐनलाई पनि निर्माण उद्योगमैत्री बनाउने तयारी भइरहेको मन्त्री लम्सालले बताए। उनले ऐन संशोधन प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै सो प्रक्रियामा नेपाल निर्माण व्यवसायी महासंघलाई पनि सहभागी गराइने बताए। यसबाट नीति निर्माणमा सरोकारवालाहरूको सुझाव समेटिने अपेक्षा गरिएको छ।

छलफलका क्रममा महासंघका अध्यक्ष निकोलस पाण्डेले देशभर रहेका रुग्ण ठेक्काहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै मन्त्री लम्सालले सकेसम्म ठेक्काहरू रुग्ण हुनै नदिने नीति अपनाइने बताए। साथै, पहिलेदेखि रुग्ण अवस्थामा रहेका ठेक्काहरूलाई वर्गीकरण गरेर अधिकतम लचकता अपनाउँदै समाधान खोजिने उनले स्पष्ट पारे।

निर्माण क्षेत्रमा तेस्रो पक्षबाट हुने अनावश्यक हस्तक्षेपलाई पनि सरकारले कडाइका साथ रोक्ने मन्त्री लम्सालको भनाइ थियो। उनले निर्माण परियोजनामा कुनै पनि ‘थर्ड पार्टी’ ले अवरोध सिर्जना गर्न नपाउने र यदि कसैले त्यसो गरेमा कानुनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिए।

सरकारी निकाय र निर्माण व्यवसायी दुवैले जिम्मेवार भएर काम गरेमा निर्माण क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुन सक्ने उनको विश्वास छ। निश्चित मूल्य मान्यता र पारदर्शी प्रक्रियामा आधारित भएर काम गरेमा विकास निर्माणका काम प्रभावकारी रूपमा अघि बढ्ने उनले बताए।

सो अवसरमा महासंघका अध्यक्ष पाण्डेले मन्त्री लम्साललाई सफल कार्यकालको शुभकामना दिँदै निर्माण क्षेत्रका समस्या समाधानमा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

1

Scroll to Top