नेपालको धितोपत्र बजारलाई थप आधुनिक र लगानीमैत्री बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डले दुईवटा महत्वपूर्ण सुधारका योजनाहरू अघि बढाएको छ। धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बजारको नियमित कारोबार समयभन्दा बाहिर पनि सेयर खरिद–बिक्री आदेश दिन सकिने ‘अफ आवरु ट्रेडिङ र सूचकको उतारचढाव नियन्त्रण गर्ने ‘सर्किट ब्रेकरुको सीमा वृद्धि गर्ने तयारी अन्तिम चरणमा पुर्याएका हुन् ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठका अनुसार अब लगानीकर्ताले नियमित कारोबार समय बाहेक पनि सेयर खरिद–बिक्रीका लागि अर्डर प्रविष्ट गर्न पाउनेछन्। विशेष गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र कार्यालय समयका कारण दोस्रो बजारमा सहभागी हुन नपाउने लगानीकर्तालाई लक्षित गरी यो व्यवस्था ल्याउन लागिएको हो। नेप्सेले बोर्डमा पठाएको प्रस्ताव अनुसार साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म खरिद–बिक्री आदेश प्रविष्ट गर्न सकिनेछ।
यसरी दिइने आदेशमा सोही दिनको अन्तिम मूल्यको तुलनामा २ प्रतिशत बढी वा घटी गरी मूल्य तोक्न पाइनेछ। यो व्यवस्थाले बजारमा तरलता बढाउनुका साथै गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा लगानी गर्न थप सहज बनाउने विश्वास गरिएको छ।
यसैगरी, बजारमा हुने तीव्र उतारचढावलाई व्यवस्थित गर्न प्रयोग गरिने सर्किट ब्रेकरको व्यवस्थालाई पनि खुकलो बनाइँदैछ। नयाँ व्यवस्थाअनुसार सर्किट ब्रेकरको माथिल्लो सीमालाई हालको ६ प्रतिशतबाट बढाएर ८ प्रतिशत पुर्याइने भएको छ। अर्थमन्त्री रामेश्वर खनालको पहलमा गठित कार्यदलको सुझावका आधारमा बोर्डले यो विनियमावली संशोधनको प्रक्रिया अघि बढाएको हो।
प्रस्तावित नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि अब बजारमा ४ प्रतिशतको उतारचढावमा पहिलो, ६ प्रतिशतमा दोस्रो र ८ प्रतिशत पुगेपछि मात्र दिनभरका लागि कारोबार बन्द हुनेछ। यी सुधारका प्रस्तावहरू स्वीकृत गर्न धितोपत्र बोर्डले सोमबार सञ्चालक समितिको बैठक समेत आह्वान गरिसकेको छ।
बोर्डले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस अनुसार गैरआवासीय नेपालीहरूलाई व्यक्तिगत रूपमै नागरिकता परिचयपत्रको आधारमा कारोबार गर्न दिने गरी नीतिगत परिमार्जनका लागि समेत समन्वय गरिरहेको छ। अर्थमन्त्रीको निर्देशन अनुरूप बजारलाई थप चलायमान र प्रविधिमैत्री बनाउन बोर्डले यी नवीनतम अभ्यासहरूलाई प्राथमिकताका साथ अघि बढाएको हो ।


