Banijya News

महँगो तेलका कारण ११ अर्ब घाटामा आयल निगम

1
1.2K Shares

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अप्रत्याशित रूपमा बढेपछि नेपाल आयल निगमको वित्तीय अवस्था निकै जोखिमपूर्ण बनेको छ। निगमको पछिल्लो तथ्यांक अनुसार विगत एक महिना ८ दिनको छोटो अवधिमा मात्रै करिब ११ अर्ब रूपैयाँ नोक्सानी भएको छ।

निगमका निर्देशक मनोज ठाकुरका अनुसार अन्तर्राष्ट्रिय बजारबाट महँगोमा इन्धन खरिद गरी राजस्व, ढुवानी र अन्य प्रशासनिक खर्च जोड्दा हुने लागत मूल्यभन्दा निकै कममा उपभोक्तालाई बिक्री गर्नुपरेकाले यो घाटा चुलिएको हो। नेपालले आफ्नो सम्पूर्ण आवश्यकताका प्रशोधित पेट्रोलियम पदार्थ भारतीय आयल कर्पोरेसन (आइओसी) बाट खरिद गर्दै आएको छ, जसले कच्चा तेलको मूल्य र आफ्नो प्रशोधन शुल्क जोडेर मूल्य निर्धारण गर्दछ ।

विशेषगरी डिजेलको मूल्यमा भएको भारी वृद्धिले निगमलाई सबैभन्दा बढी मार पारेको छ। गत फेब्रुअरी मध्यतिर प्रतिलिटर करिब ९२ रूपैयाँ रहेको डिजेलको खरिद मूल्य अप्रिल १ सम्म आइपुग्दा २४२ रूपैयाँ पुगेको छ। यसमा सरकारलाई तिर्नुपर्ने कर, ढुवानी लागत र निगमको सञ्चालन खर्च जोड्दा एक लिटर डिजेलको लागत मूल्य २८५ रूपैयाँ पर्न जान्छ। तर, निगमले काठमाडौं उपत्यकामा हाल १८२ रूपैयाँमा नै डिजेल बिक्री गरिरहेको छ।

यसरी प्रतिलिटर १२० रूपैयाँ घाटा खाएर इन्धन बेच्दा डिजेलमा मात्रै १० अर्ब रूपैयाँभन्दा बढीको नोक्सानी भएको छ। यस्तै अवस्था पेट्रोल र खाना पकाउने एलपी ग्यासमा पनि देखिएको छ, जहाँ पेट्रोलमा प्रतिलिटर ३४ रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ४१६ रूपैयाँ घाटा रहेको छ।

विश्व बजारमा कच्चा तेलको मूल्य पछिल्लो समय करिब ३८ प्रतिशतले बढेर प्रतिब्यारेल १०९ डलर पुगेको छ। यसको मुख्य कारण खाडी क्षेत्रमा बढेको भू-राजनीतिक तनाव, विशेषगरी इरान र अमेरिकाबीचको सम्बन्धमा आएको खटास र ‘स्ट्रेट अफ हर्मुज’ जस्तो रणनीतिक आपूर्ति मार्गमा हुनसक्ने अवरोधको त्रास हो।

विश्वको तेल आपूर्तिको ठूलो हिस्सा यही बाटो भएर आउने भएकाले त्यहाँको सानो अवरोधले पनि विश्वभरकै मूल्य प्रणालीमा असर पार्ने गर्दछ। यसबाहेक तेल उत्पादक राष्ट्रहरूले उत्पादनमा गरेको कटौती र ढुवानीमा देखिएको जोखिमले पनि मूल्य वृद्धिलाई थप बल पुर्याएको छ।

यस संकटले नेपालको समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पार्ने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन्। अर्थशास्त्री गुणाकर भट्टका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धन महँगिदा त्यसको प्रत्यक्ष असर नेपालको आन्तरिक बजार मूल्य र आर्थिक वृद्धिमा पर्दछ।

महँगो तेल आयात गर्न बढी विदेशी मुद्रा (डलर) खर्च गर्नुपर्दा मुलुकको विदेशी विनिमय सञ्चितिमा दबाब पर्ने र यसले शोधनान्तर स्थिति समेत बिगार्न सक्ने जोखिम रहन्छ। निगमले हालसम्म केही घाटा ‘मूल्य स्थिरीकरण कोष’ मा जम्मा भएको रकमबाट पूर्ति गर्ने प्रयास गरे पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम नरोकिने हो भने आगामी दिनमा स्थिति अझ भयावह हुनसक्ने देखिन्छ।

सरकारले हाल इन्धनमा कर घटाएर तेलको मूल्य कम गर्ने विषयमा छलफल गरिरहेको छ। अर्थ मन्त्रालयका अधिकारीहरूले मूल्यवृद्धि नियन्त्रण गर्न करमा छुट दिने विकल्प अध्ययन गरिरहेका छन्। यसबारे उद्योग र उपभोक्ता समूहबीच पनि बहस भइरहेको छ। यस कदमले आम जनताको दैनिक खर्चमा केही राहत पुर्‍याउने अपेक्षा गरिएको छ।

1

Scroll to Top