Banijya News

महानगरद्धारा १४ हजार बालबालिकाको मुटुको निःशुल्क परीक्षण गरिँदै

1
1.0K Shares

काठमाडौं महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । महानगरपालिकाकाे स्वास्थ्य विभागका अनुसार नसर्ने रोगबाट जनस्वास्थ्यमा पर्ने क्षति कम गराउनका लागि महानगरपालिकाले जन्मजात मुटु रोग परीक्षण गर्ने तयारी गरेको हो ।

विभागका प्रमुख दीपक केसीका अनुसार विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोगको परीक्षण गराउने भएको छ । ४१ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुने प्रमुख केसीले जानकारी दिए । यससँगै ३२ वडाका १५ ठाउँमा महिला मुटुरोग सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।

महानगरपालिकाकाे स्वास्थ्य विभागले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्न लागेको पनि जानकारी दिएको छ । बालबालिकामा हुने यो समस्या समयमा पत्ता लगाउन सकियो भने सरल उपचार विधिबाट स्वस्थ्य जीवन बनाउन सकिने केसीकाे भनाइ छ । ‘समय बितेपछि समस्या पत्ता लाग्यो भने महँगाे उपचारले पारिवारिक अवस्थालाई खराब बनाउँछ । यसकारण हामीले बालबालिकाको मुटु बाथको परीक्षण कार्यक्रम गरेका हौँ,’ स्वास्थ्य विभागका प्रमुख केसीले भने, ‘यो परीक्षणबाट प्राप्त हुने तथ्यांकका आधारमा थप कार्यक्रम तर्जुमा गर्नेछौँ ।’

महानगरपालिकाले थालेको यो कामले धेरै परिवारमा प्रत्यक्ष लाभ हुनेछ । भविष्यका कर्णधारहरूको जीवन बचाउन महानगरपालिकाले पुण्यको काम गरेको प्रतिष्ठानका सभापति महेनमोहन श्रेष्ठको प्रतिक्रिया छ ।

1

Scroll to Top