बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप तान्ने तयारी गरेको छ। केन्द्रीय बैंकले ५६ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो। यसका लागि बोलकबोल प्रक्रिया बुधबार नै सञ्चालन हुने छ, जसमा बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म अनलाइनमार्फत प्रस्ताव पेश गर्नुपर्नेछ।
राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन्। बजारमा देखिएको अधिक तरलता सन्तुलनमा ल्याउन केन्द्रीय बैंकले यस्ता उपकरण नियमित प्रयोग गर्दै आएको छ।
यस योजनाअन्तर्गत उठाइने रकमको साँवा र ब्याज आगामी जेठ २० गते भुक्तानी गरिनेछ भने ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट तय हुनेछ। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन्, जसको सीमा निष्कासित रकमसँग मेल खाने गरी निर्धारण गरिएको छ।
बोलकबोल मूल्याङ्कन गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ। उक्त निक्षेप रकम सम्बन्धित संस्थाको लगानीका रूपमा गणना हुने भएकाले अनिवार्य नगद मौज्दात (ऋच्च्) मा समावेश हुने छैन। तर, नियामकीय मापदण्डअनुसार कायम गर्नुपर्ने एसएलआर तथा लिक्विडिटी रेसियोमा भने गणना गर्न मिल्नेछ।


