Banijya News

टाइम फर्मास्युटिकल्स र नेप्सेबीच बुक बिल्डिङ सम्झौता: १० लाख कित्ता बढी सेयर निष्कासन हुँदै

1
1.1K Shares

नवलपरासीको गैंडाकोटमा अवस्थित टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर (आइपीओ) निष्कासन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग औपचारिक सम्झौता गरेको छ।

नेप्सेको कार्यालयमा आयोजित कार्यक्रममा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि पुडासैनी र टाइम फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक सुदर्शनलाल श्रेष्ठले सिलबन्दी बोलपत्र कार्य सञ्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे। उक्त अवसरमा कम्पनी सचिव सुदीप घिमिरे र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्टका मनोहर कडेलको समेत उपस्थिति रहेको थियो। यस सम्झौताले योग्य संस्थागत लगानीकर्ताहरूका लागि सेयर निष्कासन प्रक्रियालाई व्यवस्थित बनाउने बाटो खोलेको छ।

कम्पनीले बुक बिल्डिङ विधिमार्फत प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका कुल १० लाख ८६ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ, जसको कुल मूल्य १० करोड ८६ लाख ५० हजार रुपैयाँ रहेको छ। निष्कासन गरिने सेयरमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्ताका लागि र बाँकी ६० प्रतिशत सर्वसाधारणका लागि छुट्याइनेछ। यो सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी ५३ करोड रुपैयाँ पुग्नेछ। यस विधिबाट तय हुने मूल्यले कम्पनीको वास्तविक बजार क्षमता झल्काउने अपेक्षा गरिएको छ।

विगत ३० वर्षदेखि औषधि उत्पादनमा सक्रिय टाइम फर्मास्युटिकल्स एक प्रमाणित कम्पनी हो । यसको उत्पादन प्लान्ट गैंडाकोटमा र मार्केटिङ कार्यालय ललितपुरको सातदोबाटोमा रहेको छ।

हाल दुई सय भन्दा बढी गुणस्तरीय औषधिहरू उत्पादन गर्दै आएको यस कम्पनीले करिब ३ सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ। पुँजी बजारमा प्रवेश गरेपछि प्राप्त हुने रकमलाई कम्पनीले आफ्नो उत्पादन क्षमता विस्तार र व्यवसाय विविधीकरणमा खर्च गर्ने योजना बनाएको छ।

1

Scroll to Top