जेनजी प्रदर्शन दबाएको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक हाजिर जमानीमा रिहा भएका छन्। प्रहरीले सर्वोच्च अदालतको आदेशअनुसार दुवैलाई परिवारको जिम्मामा छोडेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका क्रममा आवश्यक परेमा सहयोग गर्ने शर्तमा ओलीलाई परिवारको जिम्मामा छोडिएको हो। “अनुसन्धानका बखत खोजिएमा सहयोग गर्ने शर्तमा उहाँलाई परिवारको जिम्मा लगाएका हौं,” उनले भने।
ओलीलाई पक्राउ परेकै दिनदेखि स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। पारिवारिक स्रोतका अनुसार उनको शनिबार पित्तथैलीमा रहेको पत्थरीको अपरेसन हुने तयारी छ। अपरेसन सम्पन्न नभएसम्म उनी अस्पतालमै रहने बताइएको छ। उनलाई पत्नी राधिका शाक्यको जिम्मामा छोडिएको हो।
यसैबीच सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले आज बिहान हाजिर जमानीमा रिहा गरेको छ। लेखकलाई भक्तपुरस्थित आफ्नै निवासबाट चैत १३ गते पक्राउ गरी महाराजगञ्जस्थित २ नम्बर प्रहरी गणमा राखिएको थियो। उनीमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो।
लेखकलाई प्रहरी हिरासतबाट सरकारी वकिल कार्यालयमा लगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनकी पत्नी यशोदाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। उनी बा१९च ३९८१ नम्बरको गाडीमा सरकारी वकिल कार्यालय लगिएका थिए।
जेनजी प्रदर्शनसँग सम्बन्धित घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको अप्रकाशित प्रतिवेदनका आधारमा सरकारले ओली र लेखकविरुद्ध अनुसन्धान अघि बढाएको थियो। उक्त प्रतिवेदनमा प्रदर्शन दबाउने क्रममा भएको घटनालाई लिएर ज्यान मुद्दासम्बन्धी कसुरको अनुसन्धान गर्न सिफारिस गरिएको बताइएको छ।
यद्यपि उनीहरूलाई गैरन्यायिक हिरासतमा राखिएको भन्दै परिवारका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो। सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ गते दुई दिनभित्र मुद्दासम्बन्धी कागजात अदालतमा बुझाउन आदेश दिएको थियो।
अदालतको सोही आदेशपछि प्रहरीले अनुसन्धान प्रक्रियालाई निरन्तरता दिने शर्तसहित दुवैलाई हाजिर जमानीमा परिवारको जिम्मा लगाएको जनाएको छ।
यस प्रकरणले पछिल्ला दिनमा राजनीतिक र कानुनी बहससमेत चर्काएको छ। सरकारले आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाए पनि विपक्षी दल तथा केही कानुनविद्हरूले यसलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेका छन्। यद्यपि सरकार पक्षले भने घटनाबारे निष्पक्ष छानबिन गरी कानुनी प्रक्रिया अघि बढाइने बताउँदै आएको छ।


