Banijya News

भृकुटी स्टक निलम्बनपछि समस्यामा लगानीकर्ता

1
1.1K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भृकुटी स्टक ब्रोकिङ कम्पनी को धितोपत्र दलाल सेवासम्बन्धी अनुमतिपत्र निलम्बन गरेपछि हजारौं लगानीकर्ता झन्झटमा परेका छन्। बोर्डले कम्पनीले गम्भीर कानुनी उल्लंघन गरेको ठहर गर्दै चैत २३ गतेको निर्णयअनुसार तत्कालका लागि लाइसेन्स निलम्बन गरेको हो। अनुसन्धानका क्रममा कम्पनीले ग्राहकको रकम दुरुपयोग गर्दै एक ग्राहकको पैसा अर्कोको कारोबार मिलाउन प्रयोग गरेको पाइएको छ, जुन नियमविपरीत हो।

साथै, कम्पनीले खरिद–बिक्री रकम भुक्तानीमा ढिलाइ गर्नुका साथै आवश्यक अग्रिम रकम नलिई सेयर खरिद सुविधा दिएको समेत खुलासा भएको छ। यस्तो कार्यले समग्र सेयर बजारमै नकारात्मक प्रभाव पार्ने जोखिम देखिएको सेबोनले जनाएको छ। कम्पनीले लगानीकर्तालाई तिर्नुपर्ने दायित्व ५ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रहेको छ । यति ठूलो रकम जोखिममा परेपछि बोर्डले थप नोक्सानी रोक्न निलम्बनको कदम चालेको बताइएको छ।

यद्यपि, बोर्डले लगानीकर्तालाई अन्य ब्रोकरमार्फत कारोबार गर्ने वैकल्पिक व्यवस्था मिलाउने निर्देशन दिएको छ। तर सरोकारवालाहरूका अनुसार यो प्रक्रिया झन्झटिलो र समय लाग्ने खालको छ। स्टक ब्रोकर तथा लगानीकर्ताहरूले कम्पनीलाई निलम्बन गर्नुको सट्टा आर्थिक जरिवाना वा धरौटी लिएर अनुसन्धान अगाडि बढाउनु उपयुक्त हुने सुझाव दिएका छन्। उनीहरूका अनुसार निलम्बनका कारण लगानीकर्ताले सेयर बेच्न वा रकम निकाल्न नपाउने अवस्था सिर्जना भएको छ।

विशेषगरी बजारमा उतारचढाव भइरहेका बेला यस्तो निर्णयले जोखिम व्यवस्थापन गर्न चाहने लगानीकर्तालाई थप समस्या भएको बताइएको छ। साथै, नयाँ ब्रोकरमा खाता खोल्नुपर्ने, सम्बन्ध निर्माण गर्नुपर्ने जस्ता प्रक्रियाले पनि लगानीकर्तालाई थप तनाव दिएको छ। देशभरका विभिन्न सहरबाट सेवा दिँदै आएको भृकुटी स्टकको निलम्बनले ठूलो संख्यामा लगानीकर्ता प्रत्यक्ष प्रभावित भएका छन्। अर्को आदेश नभएसम्म कम्पनीले कुनै पनि सेयर कारोबार गर्न पाउने छैन।

1

Scroll to Top