Banijya News

असोजमा रास्वपाको पहिलो महाधिवेशन : यस्तो छ वडादेखि केन्द्रसम्मको कार्यतालिका

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो ऐतिहासिक महाधिवेशन आगामी असोजमा सम्पन्न गर्ने गरी आन्तरिक गृहकार्यलाई तीव्र पारेको छ। यसअघि फागुनमै गर्ने भनिएको महाधिवेशन उपनिर्वाचनका कारण रोकिएपछि अहिले नयाँ कार्यतालिका तय गरिएको हो।

संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार, वैशाख २ गतेदेखि नै तल्लो तहका संगठन निर्माण र तदर्थ समिति गठनको काम सुरु हुनेछ। पार्टीले वैशाख र जेठमा वडा, असार र साउनमा पालिका तथा जिल्ला, र भदौमा प्रदेश अधिवेशन सकेर असोजमा केन्द्रिय महाधिवेशन गर्ने लक्ष्य राखेको छ।

हालसम्म ६२ पालिका र ४५२ वडामा मात्र अधिवेशन सकिएकाले बाँकी रहेका स्थानमा संगठन विस्तार गर्नु रास्वपाका लागि मुख्य चुनौती देखिएको छ। पार्टीको सांगठनिक अवस्थालाई हेर्दा, हालसम्म करिब २ लाख ४१ हजार सदस्यहरूमध्ये १ लाख ७३ हजारको प्रमाणीकरण भइसकेको छ।

७७ जिल्लामध्ये डोल्पा र मनाङमा अझै जिल्ला समिति बन्न सकेको छैन भने मधेश र कर्णाली प्रदेशमा संगठन निर्माणको गति निकै सुस्त देखिएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीको प्रतिवेदन अनुसार, विधानले १२९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरे पनि हाल ९२ जना मात्र चयन भएका छन्। त्यस्तै, ३९ वटा विभाग र विभिन्न आयोगहरूले पनि अझै पूर्णता पाउन सकेका छैनन्।

नयाँ र क्षमतावान व्यक्तिहरूलाई नेतृत्वमा जोड्न नसक्नु र आन्तरिक रूपमा प्रतिस्पर्धाको डरले नयाँलाई छिर्न नदिने प्रवृत्ति देखिनुले पार्टी निर्माणमा केही ढिलाइ भएको प्रतिवेदनमा उल्लेख छ। अबको केही महिना रास्वपाले यिनै रिक्तताहरूलाई पूर्ति गर्दै महाधिवेशनको तयारीमा केन्द्रित हुने योजना बनाएको छ।

1

Scroll to Top