Banijya News

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा व्यवसायी सुवेदीको दाबेदारी

1
1.1K Shares

नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि पर्यटन तथा लजिस्टिक क्षेत्रका अनुभवी व्यवसायी दुर्गा प्रसाद सुवेदीले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। व्यवसायी नरेश लाल श्रेष्ठको नेतृत्वमा रहेको प्यानलबाट उनले चुनावी प्रतिस्पर्धामा होमिने निर्णय गरेका हुन्।

२१ वर्षभन्दा लामो समयदेखि कुरियर तथा लजिस्टिक सेवामा निरन्तर सक्रिय रहँदै आएका सुवेदी नेपाल कुरियर सेवा संघका निवर्तमान अध्यक्ष समेत हुन्। लामो समयको व्यावसायिक अनुभव र सांगठनिक पकड भएका कारण उनको उम्मेदवारीलाई निजी क्षेत्रमा अर्थपूर्ण रूपमा हेरिएको छ।

आफ्नो उम्मेदवारीका बारेमा स्पष्ट पार्दै सुवेदीले यो केवल पद प्राप्तिका लागि मात्र नभएर समग्र उद्योग वाणिज्य क्षेत्रको नीतिगत सुधार र व्यावसायिक मर्यादा अभिवृद्धिका लागि भएको बताएका छन्। उनले व्यावसायिक हकहितको सही प्रतिनिधित्व गर्दै उद्योगीहरूले भोग्नुपरेका व्यावहारिक समस्या समाधान गर्न आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

विशेषगरी साना तथा मझौला व्यवसायीका आवाजलाई महासंघको माथिल्लो तहसम्म पुर्याउन र व्यवसायमैत्री वातावरण निर्माणका लागि पैरवी गर्न आफू चुनावी मैदानमा उत्रिएको उनले उल्लेख गरे। सुवेदीको व्यावसायिक यात्रा केवल लजिस्टिकमा मात्र सीमित छैन। हाल डिवाइके ग्रुपका अध्यक्ष रहेका उनी पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्।

यस ग्रुपमार्फत उनले एपेक्स विजनेस होटेल सञ्चालन गरिरहेका छन् भने कुरियर, ऊर्जा, घरजग्गा र सैलुन लगायतका विविधीकृत क्षेत्रमा लगानी विस्तार गरेका छन्। नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो व्यावसायिक सञ्जाल फैलाएका सुवेदीले एपेक्स वल्र्डवाइड एक्सप्रेसमार्फत भारत र अमेरिकासम्म सेवा प्रदान गर्दै आएका छन् भने ‘एपेक्स ग्लोबल लजिस्टिक’ नामक अन्तर्राष्ट्रिय ब्रान्ड समेत स्थापित गरेका छन्।

यसका अतिरिक्त उनी ऊर्जा र पर्यटनका अन्य आयोजनाहरूमा पनि संलग्न छन्। बज्र इनर्जी भेन्चर्स, भिजन लुम्बिनी ऊर्जा कम्पनी र राजवाला ट्रेक्स एण्ड एक्सपिडिसन जस्ता कम्पनीहरू मार्फत उनले मुलुकको आर्थिक विकासमा योगदान दिँदै आएका छन्। व्यावसायिक सक्रियताका साथै सुवेदी सामाजिक सेवा र विभिन्न पेशागत संघसंस्थाहरूमा पनि उत्तिकै क्रियाशील छन्।

रोटरी इन्टरनेशनल, जेसिस नेपाल, पतञ्जली योगपीठ र एभरेष्ट चेम्बर अफ कमर्स (भारत) जस्ता संस्थाहरूमा उनको संलग्नताले उनको नेतृत्व क्षमता र सामाजिक छविलाई थप बलियो बनाएको छ।

1

Scroll to Top