Banijya News

वैदेशिक रोजगारीमा सरकारी निकायबीच समन्वयको अभाव : नीतिगत अस्पष्टताले श्रमिकलाई सास्ती

1
1.1K Shares

नेपालको वैदेशिक रोजगारी क्षेत्रमा नीतिगत निर्णय र कार्यान्वयनलाई लिएर सरकारी निकायहरूबीच समन्वयको ठूलो खाडल पुनः एकपटक सार्वजनिक भएको छ। विशेषगरी वैदेशिक रोजगार विभाग र अध्यागमन विभागबीच क्षेत्राधिकारको विषयलाई लिएर उत्पन्न विवादले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई गम्भीर अन्योलमा पारेको छ।

वैदेशिक रोजगार विभागले २०८२ चैत २३ गते एक सूचना जारी गर्दै चैत २९ देखि लागू हुने गरी विमानस्थलमा श्रमिकले अनिवार्य रूपमा हवाई टिकटको बिल र म्यानपावर कम्पनीलाई बुझाएको १० हजार रुपैयाँ सेवा शुल्कको आधिकारिक रसिद देखाउनुपर्ने व्यवस्था गरेको थियो। यो निर्णयले वैदेशिक रोजगारीको प्रक्रियालाई पारदर्शी बनाउने तर्क विभागले गरे तापनि, यसले व्यवहारमा भने श्रमिकहरूलाई थप प्रशासनिक झन्झट र मानसिक तनाव मात्र सिर्जना गरेको छ। जबकि सामान्यतया राहदानी, श्रम स्वीकृति र हवाई टिकटका आधारमा श्रमिकहरू निर्वाध रूपमा उड्न पाउने अन्तर्राष्ट्रिय अभ्यास र नेपालकै प्रचलित नियम रहेको छ।

यो विवाद तब उत्कर्षमा पुग्यो जब अध्यागमन विभागले वैदेशिक रोजगार विभागको सूचनाको प्रतिकार गर्दै अर्को सूचना जारी गर्‍यो। अध्यागमनले राहदानी र श्रम स्वीकृति बाहेक अन्य कुनै पनि अतिरिक्त बिल वा रसिद जाँच गर्नु आफ्नो कार्यक्षेत्रमा नपर्ने र श्रमिकले त्यस्ता कागजात पेश गर्नुनपर्ने प्रष्ट पारेको छ। एउटै सरकारका दुई निकायले एकापसमा परामर्श नै नगरी फरक-फरक र बाझिने खालका सूचना निकालेपछि राज्य संयन्त्रको अपरिपक्वता छताछुल्ल भएको छ।

यसअघि २०८० साल असारमा पनि श्रम स्वीकृति लिएर कुवेत र जोर्डन जान लागेका १३८ जना श्रमिकलाई अध्यागमनले विमानस्थलबाटै फर्काइदिएपछि दुई विभागबीच लामो समयसम्म विज्ञप्तिबाजी र सार्वजनिक जुहारी चलेको थियो। त्यसबेला पनि दुवै निकायले नेपाल सरकारको कार्य विभाजन नियमावलीलाई आ–आफ्नै ढङ्गले व्याख्या गर्दै एक–अर्काको कमजोरी औँल्याएका थिए, जसको प्रत्यक्ष मार भने निर्दोष श्रमिकहरूले खेप्नुपरेको थियो।

विज्ञहरूका अनुसार वैदेशिक रोजगार विभागको यो पछिल्लो सर्कुलर अव्यावहारिक हुनुको पछाडि मुख्य गरी ‘शून्य लागत’ को नीति बाधक देखिएको छ। साउदी अरब, मलेसिया र कतार जस्ता प्रमुख गन्तव्य मुलुकमा श्रमिकले टिकटको पैसा तिर्नु पर्दैन र रोजगारदाताले नै सिधै टिकट पठाउने गर्छन्। यस्तो अवस्थामा श्रमिकसँग टिकटको बिल हुनु असम्भव प्रायः छ। श्रम विज्ञ रामेश्वर नेपालले यसलाई ‘अपरिपक्व’ निर्णयको संज्ञा दिँदै सबै १७८ देशका लागि एउटै नियम लागू गर्न खोज्नु असावधानी भएको टिप्पणी गरेका छन ।

यता नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि नीतिगत सुधार र व्यावहारिक पक्षको ख्याल नगरी यस्तो झन्झटिलो व्यवस्था लागू गर्दा श्रमिकहरू विमानस्थलमा रोकिन सक्ने भन्दै आपत्ति जनाएको छ। मन्त्रालयका उच्च अधिकारीहरूसमेत अनविज्ञ रहेको यस्तो गम्भीर निर्णयले राज्यका अङ्गहरूबीचको संवादहीनतालाई उजागर गरेको छ, जसले गर्दा वैदेशिक रोजगारीको क्षेत्र थप विवादित र अन्योलग्रस्त बन्न पुगेको छ।

1

Scroll to Top