बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्र, बाचापत्र र प्रतिवद्धतालाई समेटेर साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक गरेको छ।
गत भदौको ‘जेन–जी’ आन्दोलनको परिवेश र फागुन २१ को निर्वाचनपछि गठित सरकारले चैत्र १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नं. ३ का आधारमा टेकेर यो प्रतिवद्धता तयार पारेको हो।
राजनीतिक दलहरूबीचको साझा स्वामित्व स्थापित गर्न ल्याइएको यस प्रतिवद्धतालाई आगामी आर्थिक वर्ष २०८३/८४ र त्यसपछिका वार्षिक नीति, कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयन गरिनेछ। यसको अन्तरनिकाय समन्वय र अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ।
प्रतिवद्धतापत्रमा आर्थिक स्थायित्व र सुधारलाई प्रमुख प्राथमिकतामा राखिएको छ। आगामी पाँच वर्षभित्र औसत ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्दै प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने र अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पुर्याउने महत्त्वाकांक्षी लक्ष्य लिइएको छ। यसैगरी, आगामी ५ वर्षभित्र स्वदेशमै १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य सरकारको छ।
कृषिमा आत्मनिर्भरता बढाउँदै किसानलाई क्रेडिट कार्ड र योगदानमा आधारित पेन्सन दिने, पर्यटनतर्फ ‘सफा हिमालः सुरक्षित आरोहण’ अभियान चलाउने र ऊर्जातर्फ आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य दस्ताबेजमा समेटिएको छ।
सुशासन प्रवद्र्धनका लागि सरकारी सेवाभित्रको दलीय ट्रेड युनियन खारेज गर्ने, सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन गर्ने र मेरिटोक्रेसीका आधारमा मात्र नियुक्ति गर्ने नीति अघि सारिएको छ।
त्यस्तै, शिक्षा र स्वास्थ्यलाई क्रमशः निःशुल्क र गुणस्तरीय बनाउने, सूचना प्रविधिलाई रणनीतिक उद्योग घोषणा गरी ‘फ्रम नेपाल टु द वल्र्ड’ अभियान चलाउने र सहकारी तथा लघुवित्त क्षेत्रको नियमनलाई प्रभावकारी बनाउँदै पीडितलाई न्याय दिलाउने लगायतका १८ वटा प्रमुख विषयगत क्षेत्रहरू यो राष्ट्रिय प्रतिवद्धतामा समावेश गरिएका छन्।
सरकारले सार्वजनिक गरेको प्रतिबद्धतापत्रको मूख्य-मूख्य बुँदाहरू निम्न प्रकार छ।
१. आर्थिक क्षेत्रमा स्थायित्व र सुधार
–आगामी ५ वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरी प्रतिव्यक्ति आय ३००० डलर र कुल गार्हस्थ उत्पादन १०० अर्ब डलर नजिक पुर्याउने लक्ष्य राखिएको छ।
–बहुआयामिक गरिबीको दरलाई १० प्रतिशतमा झारिनेछ।
–प्रमुख राजनीतिक दलहरूबीच ‘आर्थिक बडापत्र’ मा राष्ट्रिय सहमति कायम गरिनेछ।
–करका दर र सर्तहरू १० वर्षसम्म स्थिर रहने कानुनी प्रत्याभूति गरिनेछ।
–उद्योग दर्तादेखि नवीकरणसम्मका प्रक्रियालाई कागजविहीन र सरलीकृत डिजिटल प्रणालीमा लगिनेछ।
–नेपाललाई ‘ग्रेलिष्ट’ बाट मुक्त गर्न वित्तीय पारदर्शिता र मनी लाउन्डरिङ्ग नियन्त्रणका लागि समयबद्ध कार्ययोजना निर्माण गरिनेछ।
२. कृषि पेशाको सम्मान र आत्मनिर्भरता
–किसान क्रेडिट कार्ड, बिमा र सहुलियत ऋणको व्यवस्था गरी कृषिलाई सम्मानजनक बनाइनेछ।
–वास्तविक किसानलाई मात्र अनुदान र सामाजिक सुरक्षा दिन ‘किसान परिचयपत्र’ र योगदानमा आधारित ‘किसान पेन्सन’ लागू गरिनेछ।
–रासायनिक मल खरिदको क्यालेन्डर बनाई वितरणमा सुधार गरिने र निजी क्षेत्रसँगको सहकार्यमा मल कारखाना स्थापना गरिनेछ।
–पाँच वर्षभित्र थप ३ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिनेछ।
–बाँझो जग्गा उपयोग गर्न चक्लाबन्दी र जग्गा एकीकरण कार्यक्रम सञ्चालन गरिनेछ।
३. पर्यटन तथा नागरिक उड्डयन
–पर्यटकको औसत बसाइ बढाई ५ वर्षभित्र प्रतिव्यक्ति खर्च दोब्बर पारिनेछ।
–सन् २०२७ लाई ‘राष्ट्रिय आरोग्य वर्ष’ को रूपमा मनाई आरोग्य पर्यटन विकास गरिनेछ।
–’सफा हिमाल: सुरक्षित आरोहण’ अभियान सञ्चालन गरिनेछ।
–नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी दुई स्वायत्त निकायमा विभाजन गरिनेछ।
–पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी सिधा उडान सुरु गरिनेछ।
४. ऊर्जा विकास तथा उपयोग
–आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ।
–बुढीगण्डकी र दुधकोशी जस्ता ठूला जलाशययुक्त आयोजनालाई प्राथमिकता दिइनेछ।
–नेपाललाई दक्षिण एसियाको स्वच्छ ऊर्जा निर्यात हब बनाइनेछ।
–ग्रीन हाइड्रोजन उत्पादन र रणनीतिक धातु अन्वेषणलाई प्राथमिकता दिइनेछ।
५. पूर्वाधार विकास
–राष्ट्रिय गौरवका आयोजनामा नतिजामुखी समयबद्ध कार्ययोजना लागू गरिनेछ र आयोजना नसकिँदासम्म आयोजना प्रमुख र कर्मचारीको सरुवा गरिने छैन।
–महेन्द्र राजमार्गलाई ३ वर्षभित्र अन्तर्राष्ट्रिय हाइवे मापदण्डमा स्तरोन्नती गरिनेछ।
–भारतसँग अन्तर्देशीय जलमार्ग र चीनसँग सामुद्रिक बन्दरगाह उपयोगको पहुँच स्थापित गरिनेछ।
६. रोजगारी र श्रम
–पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गरिनेछ।
–रिमोट वर्क, डिजिटल रोजगारी र सीमापार सेवा निर्यातका लागि कानुनी संशोधन गरिनेछ।
–विद्यालय तहदेखि नै कोडिङ, एआई र साइबर सुरक्षा जस्ता विषय पाठ्यक्रममा समावेश गरिनेछ।
–वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सिप र पुँजीलाई स्वदेशको विकासमा जोडिनेछ।
७. शिक्षा र स्वास्थ्य
–विश्वविद्यालय र विद्यालयहरूलाई दलीय राजनीतिक गतिविधिबाट पूर्णतः मुक्त गरिनेछ।
–त्रिभुवन विश्वविद्यालयलाई राष्ट्रिय विश्वविद्यालय र उत्कृष्ट केन्द्रको रूपमा विकास गरिनेछ।
–वि.सं. २०८८ सम्म स्वास्थ्य बजेट ८ प्रतिशत पुर्याइनेछ।
–’एक नागरिक एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गरिनेछ।
–आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड तयार गरी एकीकृत मोडेल सञ्चालन गरिनेछ।
८. सुशासन र भ्रष्टाचार नियन्त्रण
–वि.सं. २०४६ पछि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरिनेछ।
–सरकारी सेवाभित्रको दलीय ट्रेड युनियन खारेज गरिनेछ।
–संघीय मन्त्रालयको संख्या १७ कायम गरिनेछ।
–सार्वजनिक सेवा प्रवाहमा ‘टाइम कार्ड’ लागू गरिनेछ र झन्झटिलो टिप्पणी प्रथा अन्त्य गरिनेछ।
९. डिजिटल सुशासन र प्रविधि
–सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी आईटी प्रवर्द्धन बोर्ड गठन गरिनेछ।
–नेपालको आफ्नै भू-उपग्रह स्थापना गरिनेछ।
–डिजिटल साक्षरतालाई कक्षा १२ सम्म अनिवार्य गरिनेछ।
१०. सामाजिक न्याय, परराष्ट्र र खेलकुद
–राज्यका सबै निकायमा महिलाको अर्थपूर्ण सहभागिता र समान कामको समान ज्याला सुनिश्चित गरिनेछ।
–”नेपाल प्रथम: नेपाली प्रथम” को अवधारणामा आधारित परराष्ट्र नीति अपनाइनेछ।
–गैर आवासीय नेपालीको नागरिकताको निरन्तरता, पैतृक सम्पत्ति र मतदानको अधिकार सुनिश्चित गरिनेछ।
–खेल प्रशासनमा राजनीतिक नियुक्ति खारेज गरी व्यावसायिक नेतृत्व ल्याइनेछ।
–मिटरब्याज र लघुवित्तका पीडितहरूका लागि निःशुल्क कानुनी सहायताको व्यवस्था गरिनेछ।
https://drive.google.com/file/d/1GLH1gUg7nBykNYktWHXA-zbn7xQ7lWpA/view


