वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकबाट अवैध रूपमा रकम असुल गरी विदेश पठाएको आरोपमा तत्कालीन श्रम सचिव विनोद केसी पक्राउ परेका छन् । हाल आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक रहेका केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पक्राउ गरेको हो ।
मलेसिया रोजगारीसँग सम्बन्धित आर्थिक अनियमितताको अनुसन्धानका क्रममा प्रहरीले पूर्वश्रममन्त्रीसहित उच्च सरकारी अधिकारीहरूलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसमेत रहेका छन् ।
त्यस्तै, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना र राजिव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
केसी हाल आइएमई लाइफ इन्स्योरेन्समा स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत छन् । कम्पनीको वेबसाइटमा उपलब्ध विवरणअनुसार उनी २०७९ फागुन १० गते उक्त पदमा नियुक्त भएका थिए । सरकारी सेवामा रहँदा श्रम मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका केसीसमेत अनुसन्धानको दायरामा परेका हुन् ।
सीआईबीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारीविपरीत वैदेशिक रोजगारीमा जाने श्रमिकबाट ठूलो परिमाणमा रकम संकलन गरी गैरकानुनी रूपमा विदेश पठाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार यस प्रकरणमा ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० बेलायती पाउण्ड विदेश पठाइएको आशंका गरिएको छ । उक्त रकम नेपाली मुद्रामा रूपान्तरण गर्दा करिब १ अर्ब ६६ करोड २ लाख रुपैयाँभन्दा बढी हुन्छ ।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकबाट विभिन्न शीर्षकमा रकम उठाएर संगठित रूपमा ठगी गरिएको र त्यसरी संकलित रकम गैरकानुनी माध्यमबाट विदेश पठाइएको प्रहरीको आशंका छ ।
यसरी ठूलो परिमाणमा विदेशी मुद्रा विदेश पठाउँदा विदेशी विनिमयसम्बन्धी कानुनको उल्लंघन हुनुका साथै मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर परेको हुन सक्ने सीआईबीको भनाइ छ ।
नेपाल र मलेसियाबीच भएको श्रम समझदारीअनुसार नेपाली श्रमिकलाई रोजगारीका लागि मलेसिया पठाउँदा रोजगारदाताले नै निश्चित खर्च बेहोर्ने व्यवस्था गरिएको छ । तर, उक्त व्यवस्थाविपरीत श्रमिकबाट रकम असुल गरिएको विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको छ ।


