नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा देशका छ वटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन हुने भएको छ । रोजगार खोजिरहेका युवालाई रोजगारदातासँग प्रत्यक्ष जोड्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।
रोजगार बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने, बेरोजगारी न्यूनीकरण गर्ने तथा उद्योग व्यवसायलाई आवश्यक जनशक्ति उपलब्ध गराउने लक्ष्यसहित मन्त्रालय र महासंघले संयुक्त रूपमा कार्यक्रम अघि बढाएका हुन् ।
यससम्बन्धी सम्झौतापत्रमा बिहीबार युवा, श्रम तथा रोजगार मन्त्रालयमा हस्ताक्षर भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मन्त्रालयका सचिव डा. दीपक काफ्ले तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट सहसचिव तथा युवा महाशाखा प्रमुख हेमराज तामाङ र महासंघका तर्फबाट उपाध्यक्ष तथा रोजगार परिषद्का उपाध्यक्ष प्रबलजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार मेलाको नीतिगत नेतृत्व, सरकारी निकायसँगको समन्वय, सहजीकरण तथा रोजगारसम्बन्धी डिजिटल प्रणाली सञ्चालन गर्ने जिम्मेवारी मन्त्रालयले लिनेछ । त्यस्तै, मेलाको समग्र व्यवस्थापन, सञ्चालन र कार्यान्वयनको नेतृत्व महासंघले गर्नेछ । यसका लागि महासंघले आवश्यक सचिवालय स्थापना गरी रोजगारदाता परिचालन, भौतिक तथा प्राविधिक पूर्वाधार व्यवस्थापन र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नेछ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मको अवधिलाई रोजगार प्रवर्द्धन दशकका रूपमा अघि बढाएको छ । यही अभियानलाई प्रभावकारी बनाउन आन्तरिक रोजगारीका अवसर विस्तार गर्ने, श्रम बजारको मागअनुसार दक्ष जनशक्ति विकास गर्ने र सीप भएका व्यक्तिलाई रोजगारीसँग जोड्ने लक्ष्य राखिएको महासंघका उपाध्यक्ष तथा रोजगार परिषद्का सभापति प्रबलजंग पाण्डेले जानकारी दिए ।
मेलामा विभिन्न उद्योग, व्यवसाय तथा प्रतिष्ठानका रोजगारदातालाई सहभागी गराइनेछ । उनीहरूसँग सम्बन्धित संस्थामा उपलब्ध रिक्त पद र आवश्यक जनशक्तिको विवरण संकलन गरिनेछ । सोही विवरणका आधारमा रोजगार खोजकर्ताबाट आवेदन लिई मेलास्थलमै प्रत्यक्ष अन्तर्वार्ता, प्रारम्भिक छनोट र रोजगार मिलानको व्यवस्था गरिनेछ ।
यसबाट रोजगार खोजिरहेका युवाले विभिन्न संस्थामा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुका साथै रोजगारदाताले पनि आवश्यकताअनुसारका जनशक्ति छनोट गर्न सहज हुने अपेक्षा गरिएको छ ।
रोजगारीसँगै सीप विकासलाई पनि मेलाको प्राथमिकतामा राखिएको छ । रोजगारदाताको माग र श्रम बजारको आवश्यकताका आधारमा प्राविधिक तथा व्यावसायिक तालिम प्रदायक संस्थाको नेतृत्वमा प्रत्येक प्रदेशमा विभिन्न विधाका १० वटा तालिम सञ्चालन गरिनेछ । तालिमलाई प्रभावकारी र दिगो बनाउन महासंघले आवश्यक पूर्वाधार तथा व्यवस्थापकीय सहयोग उपलब्ध गराउनेछ ।
मेलालाई व्यवस्थित बनाउन मन्त्रालयले ‘श्रम संसार’ प्रणालीअन्तर्गत https://jobfair.shramsansar.gov.np डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउनेछ । यस प्रणालीमार्फत रोजगारसम्बन्धी विवरण संकलन तथा व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
मेलाबाट प्राप्त रोजगारीका अवसरलाई कार्यक्रम सकिएपछि पनि निरन्तरता दिने योजना बनाइएको छ । यसका लागि मन्त्रालय, महासंघ, श्रम तथा रोजगार कार्यालय, स्थानीय तहका रोजगार, सीप तथा उद्यमशीलता केन्द्र र रोजगारदाताबीच समन्वय गरिनेछ ।


