सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा वैशाख महिनाभरि ‘सिटिजन्स डिजिटल मन्थ उत्सव’ सञ्चालन गर्ने भएको छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले वैशाख १ देखि ३१ गतेसम्म विभिन्न सेवाहरूमा विशेष छुट र क्यासब्याक योजनाहरू अघि सारेको छ।
यस अवधिमा निष्क्रिय रहेका डिजिटल कार्ड वा व्यावसायिक क्युआर (QR) सक्रिय गरी कारोबार गर्दा ग्राहकले १९ प्रतिशत वा अधिकतम १९० रुपैयाँसम्म क्यासब्याक पाउनेछन्। यस्तै, ई-कम कार्ड जारी गर्दा र मोबाइल बैंकिङमार्फत लकर सुविधा लिँदा ५० प्रतिशत शुल्क छुटको व्यवस्था गरिएको छ ।
यस उत्सव अन्तर्गत बैंकले रेमिट्यान्स र नयाँ खाता खोल्ने ग्राहकलाई समेत समेटेको छ। पारिवारिक सदस्यको खाता रिफर गर्दा प्रति खाता १०० रुपैयाँ र मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्दा २०० रुपैयाँ क्यासब्याक पाइनेछ। साथै, फोनपे क्रेडिट कार्डको पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुट दिइने बैंकले जनाएको छ।
‘बैंक अफ द ईयर २०२४ र २०२५’ बाट सम्मानित यस बैंकले हालै ‘सिटिजन्स जेन-जी सेभिङ्ग’, ‘फ्रिलान्सर सेभिङ्ग’ र ‘डिजी बैंक’ जस्ता आधुनिक सेवाहरू समेत सञ्चालनमा ल्याइसकेको छ। हाल बैंकले देशभरका २०० शाखाहरू मार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।


