नेपाली उपभोक्ता र सेवा–प्रदायकलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने उद्देश्यसहित तयार गरिएको ‘डोरस्टेप्स नेपाल’ मोबाइल एप औपचारिक रूपमा सार्वजनिक गरिएको छ। दैनिक जीवनमा आवश्यक पर्ने घर तथा कार्यालयसम्बन्धी सेवा अब मोबाइल एपमार्फत सहज रूपमा अर्डर गर्न सकिने भएपछि नेपालको डिजिटल सेवा क्षेत्रमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।
नयाँ पुस्ताको डिजिटल सोचलाई आत्मसात गर्दै निर्माण गरिएको डोरस्टेप्स नेपाल एपले ग्राहक, सेवा–प्रदायक र प्रविधिबीच प्रभावकारी ‘डिजिटल पुल’ को रूपमा काम गर्ने कम्पनीको दाबी छ। यस प्लेटफर्ममार्फत नेपाली सीप र ग्राहकको आवश्यकता बीच प्रत्यक्ष सम्पर्क स्थापित हुने विश्वास लिइएको छ।
एप सार्वजनिक कार्यक्रममा कम्पनीका प्रतिनिधि विष्णु पौडेलले यो पहल केवल प्रविधि विकासमा सीमित नभई सामाजिक–आर्थिक रूपान्तरणसँग जोडिएको बताए। उनीका अनुसार, एपको मूल उद्देश्य नेपालभर छरिएका सीपवान व्यक्ति, प्राविधिक, महिला तथा साना व्यवसायीहरूलाई डिजिटल अवसरसँग जोड्नु हो।
पौडेलले भने, “हामीले डोरस्टेप्स नेपाल एप ल्याउनुको उद्देश्य केवल एउटा एप बनाउनु थिएन। हिजोसम्म काम खोज्दै हिँड्नुपर्ने अवस्था थियो, अब काम आफैं मोबाइलमा आउने व्यवस्था हामीले निर्माण गरेका छौं।” उनीले ग्राहकले गुणस्तरीय सेवा पाउने र सेवा–प्रदायकले सम्मानजनक आम्दानी गर्ने वातावरण सिर्जना गर्नु नै आफ्नो लक्ष्य भएको स्पष्ट पारे।
एप सार्वजनिक भएसँगै कम्पनीले देशभरका सीपयुक्त सेवा–प्रदायकहरूका लागि निःशुल्क दर्ता खुला गरेको छ। “तपाईंको सीप, तपाईंको आम्दानी” भन्ने नारासहित सुरु गरिएको यो अभियानले विभिन्न पेशामा आबद्ध व्यक्तिहरूलाई लक्षित गरेको छ। यसमा प्राविधिक, सौन्दर्यकर्मी, विद्युत् मिस्त्री, पाइप मिस्त्री, रङरोगनकर्ता, श्रृङ्गारकर्मी, घरायसी कामदार, फोटो खिच्ने व्यक्ति, भिडियो बनाउने व्यक्ति, बाजा समूह, सूचना प्रविधि तथा डिजिटल सेवा प्रदायक, शिक्षक तथा प्रशिक्षक लगायतका पेशामा आबद्ध व्यक्तिहरू सहभागी हुन सक्नेछन्।
दर्ता पश्चात सेवा–प्रदायकहरूले आफ्नो व्यक्तिगत वा व्यवसायिक विवरण तयार गर्न, अनुभव तथा सीप विवरण राख्न, सेवा शुल्क निर्धारण गर्न, काम गर्ने स्थान र समय तय गर्न सक्नेछन्। यसले ग्राहकसँग विश्वसनीय सम्बन्ध निर्माण गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।
डोरस्टेप्स नेपाल एपको सुरुवाती संस्करणमै १०० भन्दा बढी सेवा समेटिएको छ, जुन नेपालकै लागि एकीकृत रूपमा उपलब्ध गराइएको विस्तृत सेवा प्लेटफर्मको रूपमा प्रस्तुत गरिएको छ। यसमा एसी, फ्रिज, कपडा धुने मेसिन, गिजर, भान्साका उपकरण मर्मतदेखि लिएर विद्युत्, पाइप, रङरोगन, घर सजावट तथा निर्माणसम्बन्धी सेवाहरू समावेश छन्।
त्यसैगरी, सौन्दर्य, श्रृङ्गार, कपाल तथा छाला स्याहार सेवा, कार्यक्रम फोटो तथा भिडियो सेवा, काठको काम तथा फर्निचर निर्माण, घर–कार्यालय सफाइ, साना–ठूला निर्माण तथा मर्मत सुधार, बाजा सेवा, चालक सेवा, घर सर्ने सेवा, मोबाइल–कम्प्युटर–ल्यापटप–टेलिभिजन मर्मत, क्यामेरा सेवा, शिक्षक तथा प्रशिक्षक सेवा, सूचना प्रविधि तथा डिजिटल सेवा लगायतका विविध सेवाहरू एउटै एपमा उपलब्ध हुनेछन्।
ग्राहकहरूले एपमार्फत आफूलाई आवश्यक सेवा छनोट गर्न, विभिन्न सेवा–प्रदायकबीच मूल्य तुलना गर्न, समय मिलाउन, बुकिङ पुष्टि गर्न तथा घरमै सेवा प्राप्त गर्न सक्ने सुविधा पाउनेछन्। यसले समय बचत गर्नुका साथै सेवा प्राप्त गर्ने प्रक्रियालाई सरल र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
कम्पनीका सह–संस्थापक पौडेलका अनुसार, यो प्लेटफर्म “सीपबाट रोजगारी” भन्ने अवधारणामा आधारित छ। उनका अनुसार नेपालमा पर्याप्त सीप भए पनि अवसरको अभाव छ, जसलाई यो एपले सम्बोधन गर्नेछ।
सेवा–प्रदायकका लागि एपमा विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराइएको छ। यसमा निःशुल्क दर्ता, विवरण व्यवस्थापन, सेवा विवरण तथा फोटो राख्ने सुविधा, ग्राहकबाट प्राप्त हुने मूल्याङ्कन तथा प्रतिक्रिया, नजिकका ग्राहकसँग प्रत्यक्ष पहुँच, दैनिक आम्दानीको विवरण, सूचना प्रणाली लगायतका सुविधा समावेश छन्।
डोरस्टेप्स नेपालले सेवा गुणस्तर, पारदर्शिता र सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ। यसका लागि एपमा प्रमाणित सेवा–प्रदायक, ग्राहक मूल्याङ्कन तथा प्रतिक्रिया प्रणाली, पारदर्शी मूल्य निर्धारण, २४/७ ग्राहक सहायता सेवा, एप–आधारित सेवा निगरानी तथा एपभित्रै पुष्टि र उजुरी प्रणाली जस्ता विशेषताहरू समावेश गरिएको छ।
एपमार्फत डिजिटल भुक्तानीको सुविधा पनि उपलब्ध हुने भएकाले प्रयोगकर्ताले सहज रूपमा भुक्तानी गर्न सक्नेछन्।
पूर्ण रूपमा नेपाली विकासकर्ता, डिजाइनर तथा बजार विज्ञहरूको टोलीद्वारा तयार गरिएको डोरस्टेप्स नेपाल एप सुरुमा काठमाडौं उपत्यकामा उपलब्ध हुनेछ। कम्पनीले आगामी एक वर्षभित्र देशका सातै प्रदेशमा सेवा विस्तार गर्ने तथा १२ महिनाभित्र १० लाखभन्दा बढी प्रयोगकर्ता पुर्याउने लक्ष्य लिएको जनाएको छ।
यो एपले नेपाली समाज र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यसबाट हजारौं सीपवान नेपालीको आम्दानी वृद्धि हुने, महिलाहरूलाई घरमै बसेर काम गर्ने अवसर मिल्ने, युवाहरूलाई स्वरोजगारतर्फ आकर्षित गर्ने तथा साना व्यवसाय र घरेलु सेवा प्रदायकहरूको डिजिटल रूपान्तरणमा टेवा पुग्ने विश्वास गरिएको छ। साथै, असंगठित क्षेत्रमा रहेका कामदारहरूलाई व्यवस्थित डिजिटल अर्थतन्त्रमा समेट्न सहयोग पुग्नेछ।
कम्पनीका प्रतिनिधि रिजन अधिकारीका अनुसार, “हाम्रो लागि सुरक्षा र पारदर्शिता नै पहिलो प्राथमिकता हो। हामी सेवा–प्रदायक र सेवाग्राहीबीच विश्वासिलो माध्यम बन्न प्रतिबद्ध छौं।”
डोरस्टेप्स नेपाल एप आजदेखि गुगल प्ले स्टोर र एप स्टोरमा डाउनलोडका लागि उपलब्ध छ। ग्राहक तथा सेवा–प्रदायक दुवैले दर्ता गरी तुरुन्तै सेवा प्रयोग गर्न सक्नेछन्।




