कम्पनी रजिस्ट्रारको कार्यालयले सेवाग्राहीलाई सहज र छरितो सेवा प्रदान गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (AI) मा आधारित कल सेन्टर सञ्चालनमा ल्याएको छ। अब सर्वसाधारणले कम्पनी दर्ता, प्रशासनिक प्रक्रिया तथा कानुनी विषयसँग सम्बन्धित जिज्ञासाको समाधान २४ घण्टा नै फोनमार्फत प्राप्त गर्न सक्ने भएका छन्।
कार्यालयले सार्वजनिक गरेको जानकारी अनुसार सेवाग्राहीले ९७००००४४१४ नम्बरमा फोन गरेर आवश्यक सूचना लिन सक्नेछन्। यो एआई प्रणालीले सेवाग्राहीका प्रश्नहरूको उत्तर स्वचालित रूपमा दिनेछ, जसले सूचना प्राप्त गर्ने प्रक्रियालाई छिटो, प्रभावकारी र सहज बनाउने अपेक्षा गरिएको छ।
सूचना अधिकारी दीपक ज्ञवालीका अनुसार एआई कल सेन्टर सञ्चालनमा आएपछि कार्यालयमा आउने फोन कलको संख्या उल्लेखनीय रूपमा घटेको छ। उनले भने, “आजदेखि मलाई आउने फोनको संख्या निकै कम भएको छ। कम्पनी रजिस्ट्रेसनका लागि आवश्यक पर्ने जानकारीदेखि लिएर यस कार्यालयले प्रदान गर्ने सेवासम्बन्धी सबै विवरण अब कल सेन्टरबाट नै प्राप्त गर्न सकिन्छ।”
यसअघि सेवाग्राहीले आवश्यक जानकारी प्राप्त गर्न कार्यालय समयभित्र मात्रै सूचना अधिकारीसँग सम्पर्क गर्नुपर्ने बाध्यता थियो। एक पटकमा एक जना सेवाग्राहीसँग मात्रै कुरा गर्न सकिने, कर्मचारीहरू बैठकमा व्यस्त हुँदा फोन उठाउन नसकिने तथा कार्यालय समयपछि सेवाग्राहीले जानकारी पाउन नसक्ने जस्ता समस्या विद्यमान थिए।
तर, नयाँ एआई प्रणाली लागू भएसँगै यी समस्याहरूको समाधान हुने विश्वास गरिएको छ। अब एउटै समयमा धेरै सेवाग्राहीले कल गरेर आफ्ना जिज्ञासाहरू राख्न सक्नेछन्। साथै, कार्यालय समय बाहिर पनि सेवा उपलब्ध हुने भएकाले देशका विभिन्न स्थानबाट सेवा लिन चाहने सेवाग्राहीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
कार्यालयका अनुसार यदि एआई प्रणालीबाट कुनै जटिल वा विशेष प्रकृतिको जानकारी प्राप्त हुन सकेन भने सम्बन्धित शाखाको सम्पर्क नम्बर उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ। यसले सेवाग्राहीलाई थप सहयोग पुग्ने विश्वास गरिएको छ।
डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारी प्रयासअन्तर्गत यो कदमलाई महत्त्वपूर्ण मानिएको छ। पछिल्लो समय सरकारी कार्यालयहरूमा प्रविधिको प्रयोग बढ्दै गएको सन्दर्भमा कम्पनी रजिस्ट्रारको कार्यालयले ल्याएको यो पहलले सेवा प्रवाहमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।


