सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नेतृत्व चयनका लागि औपचारिक प्रक्रिया अघि बढाउँदै एक उच्चस्तरीय सिफारिस समिति गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो।
सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवन दाहाल सदस्य रहेका छन्। यस समितिले अब अध्यक्ष पदका लागि सार्वजनिक दरखास्त आह्वान गरी योग्य उम्मेदवारहरूको छनोट प्रक्रिया सुरु गर्नेछ। धितोपत्र नियमावलीको प्रावधान अनुसार ३० देखि ६५ वर्ष उमेर समूहका र पूँजी बजार, अर्थशास्त्र वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको व्यावसायिक अनुभव भएका व्यक्तिहरूले यस पदका लागि आवेदन दिन सक्नेछन्।
समितिले आवेदकहरूको शैक्षिक योग्यता, कार्ययोजना र अनुभवको मूल्याङ्कन गरी अन्तर्वार्ता लिनेछ। अन्तर्वार्तापछि समितिले उत्कृष्ट तीन जनाको नाम अर्थमन्त्रीसमक्ष सिफारिस गर्ने र सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले आगामी चार वर्षका लागि बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ।
यसअघिका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कार्यकाल पुरा नहुँदै गत वैशाख ४ गते पदबाट राजीनामा दिएपछि धितोपत्र बोर्ड नेतृत्वविहीन बनेको थियो। २०८१ मंसिर १० मा नियुक्त भएका श्रेष्ठमाथि योग्यता र अनुभव नपुगेको भन्दै उजुरी परेको थियो भने आईपीओ स्वीकृतिका क्रममा कमिसन मागेको जस्ता गम्भीर आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान र बयान समेत अघि बढाएको थियो। यही विवाद र रिक्तताका बीच सरकारले अब नयाँ नेतृत्व चयनको प्रक्रियालाई तीव्रता दिएको हो।


