नेपालको सहरी क्षेत्रमा भइरहेको घरजग्गाको अनियन्त्रित र अपारदर्शी कारोबारलाई नियमन गर्न सरकारले एक महत्त्वपूर्ण कदम चालेको छ। भूमि सुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले सार्वजनिक गरेको नयाँ सूचना अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने ठूला कारोबारहरूमा व्यक्तिगत स्वैच्छाचारी निर्णयको अन्त्य भएको छ।
विशेष गरी ३ करोड रुपैयाँभन्दा बढी लिखत मूल्य कायम हुने घरजग्गाको खरिद-बिक्रीमा अब अनिवार्य रूपमा इजाजत प्राप्त एजेन्सी वा कम्पनीको संलग्नता हुनुपर्ने व्यवस्था गरिएको छ। उक्त नियम विभागको निर्देशन अनुसार वैशाख ८ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा हुदै आएको छ, जसले नेपालको घरजग्गा बजारमा व्यावसायिकता र पारदर्शिताको नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।
यो व्यवस्थाको मुख्य कानुनी आधार मालपोत ऐन, २०३४ को दफा २६क. लाई बनाइएको छ। सोही ऐनको व्यवस्थालाई टेकेर नेपाल सरकारले २०८२ साल असोज २७ गते नै राजपत्रमा सूचना प्रकाशित गरी घरजग्गा कारोबारमा मध्यस्थता गर्ने एजेन्सीहरूको भूमिका र आवश्यकतालाई कानुनी रूपमा परिभाषित गरेको थियो । सोही राजपत्रको सूचना र भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो निर्देशनलाई कार्यान्वयन गर्ने सिलसिलामा डिल्लीबजार मालपोत कार्यालयले यो कडा कदम चालेको हो।
यसअघि यस्ता ठूला कारोबारहरू प्रायः व्यक्तिगत चिनजान वा अनधिकृत बिचौलियाहरू मार्फत हुने गर्दथे, जसका कारण वास्तविक कारोबार मूल्य लुकाउने र राजस्व छली गर्ने सम्भावना उच्च रहन्थ्यो। तर अब ३ करोड नाघ्ने कारोबारको हकमा आधिकारिक कम्पनीको सही र संलग्नता बिना मालपोतबाट लिखत पारित हुने प्रक्रिया पूर्ण रूपमा रोकिनेछ।
सरकारको यो कदमले विशेष गरी उच्च मूल्यका कारोबारहरूलाई सरकारी निगरानी र कानुनी दायरामा ल्याउने लक्ष्य राखेको छ। महानगर र उपमहानगर भित्रका प्राकृतिक व्यक्ति (सर्वसाधारण) वा कानुनी व्यक्ति (फर्म तथा कम्पनी) बीच हुने लेनदेनमा वित्तीय पारदर्शिता कायम गर्न यो अनिवार्य एजेन्सी मोडल उपयोगी हुने देखिएको छ। जब कुनै इजाजत प्राप्त कम्पनीले कारोबारको जिम्मा लिन्छ, उसले सो कारोबारको वैधानिकता, भुक्तानीको स्रोत र प्रक्रियाको पूर्ण जिम्मेवारी लिनुपर्ने हुन्छ। यसले गर्दा एकातिर बैंकिङ च्यानलबाट हुने भुक्तानीलाई प्रोत्साहन मिल्छ भने अर्कोतिर सरकारी ढुकुटीमा प्राप्त हुने राजस्व प्रणाली थप व्यवस्थित र सुदृढ बन्न पुग्दछ।
यस व्यवस्थाले सेवाग्राही र लगानीकर्ताहरूको सुरक्षामा पनि विशेष जोड दिएको छ। घरजग्गा कारोबारमा हुने सम्भावित ठगी, कागजातको किर्ते र बैना रकम खाएर भाग्ने जस्ता समस्याहरूलाई यसले न्यूनीकरण गर्नेछ। इजाजत प्राप्त कम्पनीहरू सरकारको नियमनकारी निकायमा सूचीकृत हुने र उनीहरूको विवरण विभागको वेबसाइटमा समेत उपलब्ध गराइने हुनाले सेवाग्राहीले ढुक्क भएर सेवा लिन सक्नेछन्।
विभागले यस्ता आधिकारिक कम्पनीहरूको सूची सार्वजनिक गरिसकेको र सोही सूचीमा रहेका संस्थाहरू मार्फत मात्र लिखित प्रक्रिया अघि बढाउन सूचित गरेको छ। यस व्यवस्थाले घरजग्गा बजारमा रहेका अनधिकृत बिचौलियाहरूको प्रभावलाई निरुत्साहित गर्ने र त्यसको सट्टा पेशागत रूपमा दक्ष एवं कानुनी रूपमा जिम्मेवार एजेन्टहरूको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने देखिएको छ।
भूमि प्रशासनमा प्रविधि र पारदर्शिता भित्र्याउने सरकारको यो नीतिले दीर्घकालीन रूपमा घरजग्गा क्षेत्रलाई एउटा मर्यादित उद्योगको रूपमा स्थापित गर्न मद्दत गर्नेछ। डिल्लीबजार मालपोत कार्यालयले सुरु गरेको यो अभ्यासले आगामी दिनमा अन्य कार्यालयहरूमा पनि सकारात्मक दबाब सिर्जना गर्नेछ।
सरोकारवालाहरूले आफ्ना ठूला कारोबारहरूलाई कानुनी रूपमै व्यवस्थित बनाउन आवश्यक तयारी थाल्नुपर्ने देखिन्छ। घरजग्गाको वास्तविक मूल्य कायम गर्न, कालो धनको लगानी रोक्न र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो नयाँ नियम नेपाली घरजग्गा क्षेत्रका लागि एउटा प्रस्थानविन्दु साबित हुन सक्छ।


