Banijya News

ताप्लेजुङमा बढ्यो घरजग्गा कारोबार, मालपोतको राजस्व साढे २ करोड नाघ्यो

1
1.0K Shares

जिल्ला मालपोत कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको अवधिमा आफ्नो राजस्व सङ्कलनमा निकै सुधार गरेको छ। कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष करिब ३८ लाख ६७ हजार भन्दा बढी राजस्व वृद्धि भएको देखिएको हो।

आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा कार्यालयले कुल दुई करोड ७३ लाख २७ हजार १९३ रुपियाँ राजस्व उठाउन सफल भएको छ, जबकि गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यो रकम दुई करोड ३४ लाख ६० हजार ५५ रुपियाँमा सीमित थियो।

कार्यालय प्रमुख निर्मल शेर्पाका अनुसार यस वर्ष सङ्कलित राजस्वमा सबैभन्दा ठुलो हिस्सा रजिस्ट्रेसन दस्तुरको रहेको छ। यस शीर्षकबाट मात्रै कार्यालयले एक करोड ५५ लाख ८९ हजार ७९३ रुपियाँ आम्दानी गरेको छ। यस्तै, न्यायिक सेवामार्फत चार लाख ५६ हजार ९०७ रुपैँया मोठ रोक्काबाट ७७ हजार चार सय र प्रतिलिपि शुल्कबापत ९५ हजार एक सय रुपियाँ राजस्व सङ्कलन भएको छ।

गत वर्ष रजिस्ट्रेसन र पूँजीगत लाभकर लगायतका क्षेत्रबाट भएको आम्दानीको तुलनामा यस वर्ष घरजग्गा कारोबार र प्रशासनिक सेवामा भएको सक्रियताले राजस्व वृद्धिमा मद्दत पुर्‍याएको देखिन्छ। मासिक सङ्कलनको ट्रेन्ड हेर्दा चैत महिना ताप्लेजुङ मालपोतका लागि सबैभन्दा उपलब्धिमूलक महिना सावित भएको छ। चैतमा मात्रै ५१ लाख दुई हजार १०५ रुपियाँ राजस्व सङ्कलन भएको छ, जुन यो आर्थिक वर्षकै उच्च मासिक आम्दानी हो। यसैगरी माघमा ४८ लाख ९७ हजार, पुस र मङ्सिरमा समान ४२ लाख रुपियाँको हाराहारीमा राजस्व उठेको छ।

सबैभन्दा कम भने कात्तिक महिनामा १२ लाख ४५ हजार १३ रुपियाँ मात्र सङ्कलन भएको थियो। फागुनमा राजस्व केही घटेर १९ लाख ५० हजार पुगे पनि समग्रमा नौ महिनाको नतिजाले अघिल्लो वर्षको तुलनामा साढे ३८ लाख बढीको बढोत्तरी देखाएको छ, जसले जिल्लामा मालपोतसम्बन्धी कारोबार चलायमान भइरहेको सङ्केत गर्दछ।

1

Scroll to Top