Banijya News

इन्धन र निर्माण सामग्री महँगिँदा निर्माण क्षेत्र ठप्प, म्याद थप गर्न व्यवसायीको माग

1
1.1K Shares

बागमती प्रदेश निर्माण व्यवसायी महासंघ ले इन्धन र निर्माण सामग्रीमा भएको तीव्र मूल्यवृद्धिका कारण देशभर निर्माण कार्य प्रभावित भई ठप्प हुने अवस्थामा पुगेको जनाएको छ। पश्चिम एसियामा बढ्दो तनावका कारण इन्धन आपूर्ति र मूल्यमा आएको अस्थिरताले निर्माण क्षेत्रमा प्रत्यक्ष असर परेको महासंघले बताएको हो।

आइतबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष छत्रबहादुर तामाङ ले डिजेल, पेट्रोल, मट्टितेल जस्ता इन्धनसँगै बिटुमिन, सिमेन्ट, फलामजन्य डन्डी लगायतका निर्माण सामग्रीको मूल्य अप्रत्याशित रूपमा बढेको जानकारी दिए। उनका अनुसार मूल्यवृद्धि मात्र नभई बजारमा सामग्री अभावसमेत देखिएकाले राष्ट्रिय गौरवका आयोजनादेखि साना तथा मझौला परियोजनासमेत गम्भीर रूपमा प्रभावित भएका छन्।

महासंघले यस्तो परिस्थितिमा निर्माण कार्य निरन्तरता दिन असम्भव जस्तै भएको बताउँदै सरकारसँग तत्काल सबै आयोजनाहरूको म्याद थप गर्न माग गरेको छ। “निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिको सुनामीले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको छ,” अध्यक्ष तामाङले भने, “यस अवस्थामा सबै प्रकारका ठेक्काहरूको म्याद थप अपरिहार्य भएको छ।”

उनले भौतिक पूर्वाधार क्षेत्रमा आएको यस संकटले समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्न थालेको बताए। निर्माण क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका लाखौँ श्रमिकहरूको रोजगारीमा संकट उत्पन्न भएको उल्लेख गर्दै उनले समयमै समाधान नआए सामाजिक तथा आर्थिक समस्या झनै गम्भीर बन्ने चेतावनी दिए।

महासंघले विगत दुई महिनादेखि सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको भए पनि ठोस निर्णय नभई केवल मौखिक आश्वासन मात्र प्राप्त भएको गुनासो गरेको छ। यस्तो अवस्थामा निर्माण उद्योगलाई जोगाउन तत्काल नीतिगत हस्तक्षेप आवश्यक रहेको व्यवसायीहरूको धारणा छ।

यसैबीच, नेपाल राष्ट्र बैंक द्वारा प्रकाशित मूल्य सूचकाङ्कले बजारको वास्तविक महँगीलाई प्रतिबिम्बित नगरेको आरोप महासंघले लगाएको छ। सूचकाङ्कले मूल्य घटेको देखाउने प्रवृत्तिका कारण निर्माण व्यवसायीहरू वास्तविक लागतभन्दा कम मूल्यमा काम गर्न बाध्य भएको र ठूलो आर्थिक भार बेहोर्नुपरेको तामाङले बताए।

महासंघले प्रत्येक आयोजनामा भएको वास्तविक मूल्यवृद्धि अनुसार लागत समायोजन गर्न “मूल्य समायोजन मार्गनिर्देशिका–२” तत्काल जारी गर्न माग गरेको छ। साथै, सबै अवधिका ठेक्काहरूमा म्याद थपको स्पष्ट व्यवस्था गर्न र प्रभावित व्यवसायीहरूलाई बैंक ग्यारेन्टी, बीमा तथा थप क्षतिपूर्ति सहित राहत प्याकेज उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ।

व्यवसायीका मागहरू समयमै सम्बोधन नगरिए निर्माण उद्योग धराशायी हुने, आयोजना समयमै सम्पन्न नहुने र त्यसबाट उत्पन्न हुने समग्र क्षतिको जिम्मेवारी सरकारमै पर्ने अध्यक्ष तामाङले चेतावनी दिएका छन्।

1

Scroll to Top