एनएमबि बैंकले अन्तर्राष्ट्रिय बैंकिङ कारोबारमा आफ्नो प्राविधिक श्रेष्ठता प्रदर्शन गर्दै जर्मनीको प्रतिष्ठित कमर्ज बैंक एजीबाट ‘एसटीपी अवार्ड २०२५’ प्राप्त गरेको छ। यो सम्मान बैंकले अन्तर्राष्ट्रिय भुक्तानी र वित्तीय स्थानान्तरणमा देखाएको चुस्तता, शुद्धता र पूर्ण स्वचालित प्रक्रियाका लागि प्रदान गरिएको हो। विशेष गरी मानवीय हस्तक्षेप बिना नै सीमापार कारोबारहरूलाई सुरक्षित र छिटो सम्पन्न गर्ने ‘स्ट्रेट थ्रू प्रोसेसिङ’ (STP) प्रणालीलाई सफलतापूर्वक कार्यान्वयन गरेबापत बैंक यो पुरस्कारका लागि योग्य ठहरिएको हो।
यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले यो अवार्डले एनएमबि बैंकको प्राविधिक सक्षमता र आफ्ना ग्राहकलाई विश्वस्तरीय सुरक्षित सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप प्रमाणित गरेको बताएका छन । हाल देशभर रहेका १९८ शाखा, १८४ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको एनएमबि बैंकले यो अन्तर्राष्ट्रिय मान्यतासँगै आधुनिक बैंकिङ क्षेत्रमा आफ्नो छवि अझ मजबुत बनाएको छ।


