आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्ममा नेपालका वाणिज्य बैंकहरूको नाफा १९ प्रतिशतले बढेर ४९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकहरूको नाफा ४१ अर्ब १७ करोड रुपैयाँ थियो । निष्क्रिय कर्जाको प्रावधान घट्नु, ब्याज तथा अन्य आम्दानीमा सामान्य सुधार आउनु नाफा वृद्धिको मुख्य कारण बनेको छ। दोस्रो त्रैमासमा देखिएको गिरावटपछि तेस्रो त्रैमासमा वित्तीय अवस्था केही सुधारिएको देखिन्छ ।
यद्यपि, ६ बैंकको नाफा ४ देखि ५५ प्रतिशतसम्म घटेको छ, जसमा प्रभु बैंकको नाफा सबैभन्दा धेरै घटेको हो। विपरीत, कुमारी बैंकको नाफा १४ गुणाले बढेको छ भने नबिल बैंक ६ अर्ब ७६ करोड रुपैयाँ नाफासहित अग्रस्थानमा रहेको छ । बैंकहरूको निष्क्रिय कर्जा औसत ५.२५ प्रतिशत पुगेको छ भने पाँच बैंकमा यो अनुपात ७ प्रतिशतभन्दा माथि छ। खुद ब्याज आम्दानी भने २ प्रतिशतले मात्र बढेको छ।
साथै, २० मध्ये ५ बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा छन् भने केही बैंकले २० प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने सम्भावना देखिएको छ। बैंकहरूको औसत प्रतिसेयर आम्दानी १७ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षभन्दा सुधारिएको हो।
नबिल बैंक : नबिल बैंकले पनि नाफा बढाएको छ । उक्त बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ६ अर्ब बढी नाफा कमाएको छ । उक्त बैंकले ६ अर्ब ७६ करोड ४६ लाख नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिको नविल बैंकले ५ अर्ब ५ करोड १४ लाख नाफा आर्जन गरेको थियो।
सिद्धार्थ बैंक : चालु आर्थिक वर्षको नौ महिनाको रिपोर्ट अनुसार सिद्धार्थ बैंकले नाफा बढाएको छ । तेस्रो त्रैमाससम्म २ अर्ब १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो । सो बेंकको यो नाफा २०.७८ प्रतिशतले बढेको हो ।
ग्लोबल आईएमई बैंक : ग्लोबल आईएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । तथापि, यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २.९३ प्रतिशतले कम हो । आर्थिक वर्ष २०८१/८२ को चैतमसान्तसम्म बैंकले खुद ४ अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो । खासगरी बैंकको खराब कर्जाको व्यवस्थापनका लागि प्रोभिजन बढ्न जानुका साथै ब्याजदर आम्दानीमा समेत गिरावट आउँदा खुद आम्दानी प्रभावित हुन पुगेको हो । रिपोर्टअनुसार समीक्षा अवधिमा बैंकको प्रोभिजन २५.८७ प्रतिशतले बढेर ३ अर्ब ९१ करोड पुगेको छ । यसैगरी खुद ब्याज आम्दानी ३.५१ प्रतिशतले घटेर ११ अर्ब ८८ करोड रुपैयाँ कायम भएको छ । यसैगरी, समीक्षा अवधिमा सञ्चालन नाफा ६.८२ प्रतिशतले घटेर ५ अर्ब ९० करोड रुपैयाँ आर्जन भएको बैंकले उल्लेख गरेको छ । बैंकको वितरणयोग्य नाफा ३.५४ अर्बबाट घटेर ३ अर्ब रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १३.६९ प्रतिशतले बढेर ६ खर्ब २६ अर्ब पुगेको छ यसै अवधिमा यता ऋण लगानी ७.०५ प्रतिशतले बढेर ४ खर्ब ३९ अर्ब रुपैयाँबराबर पुगेको बैंकले जनाएको छ । यद्यपि, खुद ब्याज आम्दानी ३.५१ प्रतिशतले घटेर ११ अर्ब ८८ करोड रुपैयाँ मात्र आम्दानी भएको बैंकले रिपोर्टमा उल्लेख गरेको छ ।
हिमालयन बैंक : हिमालयन बैंकले पनि नाफा बढाएको छ । बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ७६ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५० करोड रुपैयाँ नाफा गरेको बैंकले ५२.४९ प्रतिशतले नाफाच बढाएको हो ।
एनएमबी बैंक : एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्षको नौ महिनामा २ अर्ब ६८ करोड ७८ लाख नाफा कमाएको छ । बैंकले गत बर्षको सोही अवधिमा २ अर्ब ३७ करोड ३३ लाख नाफा कमाएको थियो । उक्त बैंकको यो नाफा १३ं२५ प्रतिशतले बढेको हो ।
कुमारी बैंक : कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको नौ महिनासम्म ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा अत्याधिक धेरै हो । नाफामा उक्त बैंकले १३६१ प्रतिशत वृद्धि गरेको छ । गत आवको सोही अबधिमा बैंकले २८ करोड ५८ लाख नाफा कमाएको थियो ।
लक्ष्मी सनराइज बैंक : लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको नौं महिनामा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गर्फरेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो बैंकले १ अर्ब ६५ करोड २१ लाख कमाएको थियो । बैंकले अघिल्लो बर्षको तुलनामा २३.३६ प्रतिशतले नाफा बढाएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको ९ महिनामा बैंकको ३ अर्ब १४ करोड ६७ लाख नाफा कमाएको छ । बैंकले गत बर्षको सोहि अवधिमा ४ अर्ब ५४ करोड नाफा आर्जन गरेको थियो । उक्त बैंकको नाफामा केही गिरावट आएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा १० अर्ब ३१ करोड ब्याज आम्दानी गरेको बैंकले अहिले ९ अर्ब ५७ करोड ९५ लाख आर्जन गरेको छ ।
प्रभु बैंक : प्रभु बैंकको नाफा भने घटेको छ । चालु आर्थिक वर्षको नौ महिनामा प्रभु बैंकले ८५ करोड १५ लाख नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८७ करोड ६० लाख नाफा गरेको थियो । अघिल्लो बर्षको सोही अबधिमा भन्दा उक्त बैंकको नाफा ५४.६१ प्रतिशतले कमी हो ।
एनआईसी एशिया : एनआईसी एशिया बैंकको पनि नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको नौ महिनामा उक्त बैंकले १४ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १५ करोड ६७ लाख रुपैयाँ नाफा गरेको थियो । यो नाफालाई आधार मान्दा बैंकको नाफामा १०.५ प्रतिशत कमी देखिन्छ ।
सिटिजन्स बैंक इन्टरनेसनल : सिटिजन्स बैंक इन्टरनेसनलले यो नौ महिनामा १ अर्ब ३० करोड ६४ नाफा कमाएको छ । बैंकले गतबर्षको सोही अवधिमा ९६ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । उक्त बैंकले ३५ दशमलव ८२ प्रतिशतले नाफा बढाएको छ ।
माछापुच्छ्रे बैंक : माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त बैंकले अघिल्लो बर्षको तुलनामा ५०.४२ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १० करोड नाफा आर्जन गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक : राष्ट्रिय वाणिज्य बैंकको नाफामा पनि बृद्धि भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा बैंकले २ अर्ब ७६ करोड २० लाख नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले १ अर्ब २० करोड ४३ लाख कमाएको थियो ।
प्राइम कमर्सियल बैंक: प्राइम कमर्सियल बैंकको नाफा पनि बढेको छ । सो बैंकले ३८.५८ प्रतिशतले नाफा बढाएर ३ अर्ब ८ करोड ९३ लाख नाफा कमाएको छ ।
नेपाल एसविआई बैंक: नेपाल एसविआई बैंकले पनि नाफा बढाएको छ । उक्त बैंकले २१.४९ प्रतिशतले नाफा बढाएर १ अर्ब ४६ करोड बनाएको छ ।
यो अवधिमा स्टान्डर चार्टड बैंकले २ अर्ब ८ करोड नाफा कमाएको छ ।


