नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला चलिरहेको छ । अहिले महाराजगन्जस्थित स्मार्ट होटलमा बैठक जारी रहेको छ । बैठकमा पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सुजाता कोइराला पनि सहभागी भएका छन् ।
पूर्णबहादुर खड्काको संयोजनमा भएको भेलामा पूर्वउपसभापतिहरू विजयकुमार गच्छदार र विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, उमाकान्त चौधरीसहितका नेताहरू सहभागी छन् ।
बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरु सहभागी भएका छन् । बैठकमा सहभागी हुन शीर्ष नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, रमेश लेखक, एनपी सावद, सुजता कोइराला, प्रकाशशरण महत, लगायत सहभागी छन् ।
त्यस्तै, मोहन बस्नेत, रामहरि खतिवडा, डिना उपाध्याय, वीरबहादुर बलायर, अम्बिका बस्नेत, कान्तिका सेजुवाल, नैनसिंह महर, कल्याण गुरुङ, कुन्दनराज काफ्ले, गुरु बराल, कान्छाराम तामाङ, उमाकान्त चौधरी, दुर्लभ थापा, रणबहादुर रावल, जीवनबहादुर शाही, लक्ष्मी खतिवडा पनि बैठकमा सहभागी छन् ।
पूर्णबहादुर खड्काले संस्थापनसँग एकताका लागि चारबुँदे सर्त अघि सारेका छन् । काठमाडाैं जारी आफूपक्षीय नेताहरूको भेलामा खड्काले एकताका लागि चारबुँदे प्रस्ताव अघि सारेका हुन् ।
‘१४औँ महाधिवेशन र विषेश महाधिवेशन समिति मर्ज गर्ने, सोही समितिले सहमतिमा महाधिवेशन आयोजक समिति बनाउनुपर्ने, पार्टीको निर्वाचन समिति सहमतिमा गठन गर्नुपर्ने र क्रियायाशील सदस्यता छानबिन समिति सहमतिमा गठन गर्नुपर्ने चारबुँदे सर्त खड्काले पेस गरेका हुन् । उनले यी बुँदामा अरु नेताहरूसँग सुझाव मागेका छन् । बैठकमा खड्काले महाधिवेशन आयोजना गर्नेसम्बन्धमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले धोका दिएको प्रसंग पनि सुनाए । ‘नियमित महाधिवेशनको तालिका पुसभित्र ल्याउने हो भने विषेश महाधिवेशन हुँदैन भनेर तत्कालीन महामन्त्रीहरूले भन्नुभएको थियो । उहाँहरूबाट सहमति पालना भएन धोका भयो । त्यसको साक्षी रमेश लेखक जी हुनुहुन्छ’, खड्काले भने ।
उनले संस्थापनबाट पार्टीमा एकताको प्रस्ताव अहिलेसम्म नआएको बताए । ‘पार्टीमा एकता ल्याउन गगनजी भेट्न आउनुभयो । खाका ल्याउन भएको छु अहिलेसम्म आएको छैन’, खड्काले भने । आफूहरूले जति प्रयत्न गर्दा पनि अर्कोपक्षले नमानेपछि पार्टीमा दुर्घटना भएको उनले सुनाए ।


