कोशी प्रदेश सरकारको बजेट खर्चको अवस्था चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा निकै कमजोर देखिएको छ। कुल ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको सुरुवाती बजेटलाई अर्धवार्षिक समीक्षा मार्फत घटाएर ३२ अर्ब ४५ करोड ६४ लाखमा झारिए पनि चैत मसान्तसम्म जम्मा ११ अर्ब ४ करोड ४० लाख रुपैयाँ मात्र खर्च हुन सकेको छ। अब आर्थिक वर्ष सकिन केवल तीन महिना बाँकी रहँदा सरकारले संशोधित लक्ष्य भेटाउन २१ अर्ब ४१ करोडभन्दा बढी रकम खर्च गर्नुपर्ने ठूलो दबाब झेल्नुपर्ने देखिएको छ।
खर्चको संरचना हेर्दा चालु तर्फ ६ अर्ब ८७ करोड र पुँजीगत (विकास) तर्फ ४ अर्ब १७ करोड रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ। विशेषगरी धेरै बजेट विनियोजन गरिएका भौतिक पूर्वाधार, खानेपानी तथा स्वास्थ्य जस्ता महत्त्वपूर्ण मन्त्रालयहरूको खर्च प्रगति समेत निराशाजनक छ। राजस्व संकलन भने चैत मसान्तसम्म २२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ, जसमा संघीय अनुदान र आन्तरिक स्रोतको हिस्सा रहेको छ।
यसैबीच, आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले यो वर्ष लक्ष्य अनुसार खर्च हुने सम्भावना कम रहेको स्वीकार गरेका छन । उनका अनुसार मध्यपूर्वको तनावका कारण पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र निर्माण सामग्रीको अभावले गर्दा निर्माण व्यवसायीहरूले काम रोकेका छन्, जसको प्रत्यक्ष असर बजेट खर्चमा परेको हो। व्यवसायीहरूले काम अघि नबढाउँदा र डेलिगेसनमार्फत आफ्ना समस्या राख्दा खर्चको गति सुस्त भएको र परिस्थिति सहज नभएसम्म खर्च बढ्न नसक्ने उनको तर्क छ ।


