Banijya News

रुपन्देहीका उद्योगीले मागे उद्योगमैत्री स्पष्ट नीतिगत व्यवस्था र सहजीकरण

1
1.1K Shares

रुपन्देही उद्योग सङ्घको आयोजनामा सम्पन्न स्वागत तथा परिचय कार्यक्रममा उद्योगी–व्यवसायीहरूले भोगिरहेका विविध समस्याबारे रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुलभ खरेलसँग गम्भीर छलफल गरेका छन्। कार्यक्रममा उद्योग क्षेत्रका सरोकारवालाहरूले वर्तमान अवस्थामा देखिएका कर प्रणालीका जटिलता, औद्योगिक पूर्वाधारको अभाव, उत्पादन प्रवद्र्धनका चुनौती तथा कानुनी अस्पष्टताका विषयमा स्पष्ट नीतिगत व्यवस्था र सहजीकरणको माग गरेका हुन्।

अन्तरक्रियाका क्रममा उद्योगीहरूले प्रत्यक्ष रूपमा आफ्ना समस्या राख्दै व्यवसाय सञ्चालन वातावरण सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले विशेष गरी बहु–निकायमार्फत कर तिर्नुपर्ने बाध्यता, लगानीका लागि आवश्यक जग्गाको उच्च मूल्य तथा उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधारको अभावले निजी क्षेत्र निरुत्साहित हुँदै गएको बताएका थिए।

सङ्घका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बुटवल र मोतीपुर औद्योगिक क्षेत्र लामो समयदेखि सञ्चालनमा आउन नसकेको भन्दै चिन्ता व्यक्त गरे। उनले उद्योग स्थापना गर्न आवश्यक जग्गा अत्यधिक महँगो भएको र प्रशासनिक प्रक्रियाहरू झन्झटिलो हुँदा नयाँ लगानी आकर्षित गर्न कठिन भएको बताए। पराजुलीका अनुसार बुटवलस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रसमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसक्नुले उत्पादनमूलक क्षेत्रको प्रवद्र्धनमा अवरोध सिर्जना गरेको छ।

उनले उत्पादनमुखी उद्योगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै बुटवल धागो कारखाना पुनः सञ्चालनका लागि आधुनिक प्रविधिसहितको नयाँ प्लान्ट आवश्यक रहेको धारणा राखे। साथै, बुटवल टेक्निकल इन्स्टिच्युट (बिटिआई) लाई प्राविधिक शिक्षाको केन्द्रका रूपमा विकास गर्नुपर्ने सुझाव पनि उनले प्रस्तुत गरे।

त्यसैगरी, रोडा, ढुङ्गा तथा क्रसर उद्योग संघ रुपन्देहीका अध्यक्ष गोविन्द भुसालले जिल्लाभरका करिब २० वटा क्रसर उद्योग लामो समयदेखि नवीकरण हुन नसकेको गुनासो गरे। उनले कर र मूल्य अभिवृद्धि कर (भ्याट) नियमित रूपमा तिरे पनि सञ्चालनमा अन्योल कायम रहनु व्यवसायीका लागि ठूलो समस्या बनेको बताए। यस समस्याको दीर्घकालीन समाधान आवश्यक रहेको उनको जोड थियो।

कार्यक्रममा सहभागी अन्य उद्योगी नेताहरूले पनि स्वदेशी उद्योगको संरक्षण, नयाँ उद्योग नीतिमा स्पष्टता तथा उद्योग क्षेत्रमा देखिएका विकृति अन्त्यका लागि प्रभावकारी रणनीति आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले सरकार र निजी क्षेत्रबीच समन्वय अभाव हुँदा समस्या थप जटिल बन्दै गएको उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुलभ खरेलले वर्तमान सरकार सुशासन र आर्थिक सुधारतर्फ केन्द्रित रहेको बताए। उनले उद्योग क्षेत्रका समस्याहरू समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै वन, पूर्वाधार तथा विकास निर्माणसँग सम्बन्धित अवरोध हटाउन पहल भइरहेको जानकारी दिए।

सांसद खरेलले निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योगमैत्री नीति निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, उद्योगीहरूले उठाएका कर, नीतिगत अस्पष्टता तथा पूर्वाधारसम्बन्धी विषयमा सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउने आश्वासन दिए।

कार्यक्रमले उद्योग क्षेत्रका समस्याहरू उजागर गर्नुका साथै समाधानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको सन्देश दिएको सहभागीहरूको धारणा थियो।

1

Scroll to Top